नारायणी अस्पतालअगाडि प्रदर्शन, एकजना पक्राउ

0
261

प्रस, वीरगंज, २५ साउन/
वीरगंज–२ छपकैयावासीले नारायणी अस्पतालमा प्रदर्शन गरेका छन्। शुक्रवार राति १० बजे सो टोलकी २० वर्षीया युवतीको उपचार अभावमा मृत्यु भएको विषयलाई लिएर प्रदर्शन गरिएको हो।
प्रदर्शनकारीहरूले नारायणी अस्पताल सञ्चालन गर्न माग गरे। उनीहरूले चार घण्टा सातवटा निजी अस्पताल र सरकारी नारायणी अस्पतालसमेतले उपचार गर्न नमानेपछि युवतीको मृत्यु भएको भन्दै आगामी दिनमा बिरामीको मृत्यु नहोस् भन्ने उद्देश्यले अस्पताल सञ्चालन गर्नुपर्ने माग राख्दै प्रदर्शन गरेका थिए।
प्रदर्शनको क्रममा अस्पताल पक्षसँग सहमति नभएपछि उग्ररूप लिंदै प्रदर्शनकारीहरूले अस्पतालमा ढुङ्गामुढा गरेपछि प्रहरीले लाठीचार्ज गरेर तितरबितर गरेको थियो। ढुङ्गा प्रहारबाट अस्पताल परिसरमा राखिएको डा उदयनारायण सिंहको कारको पछाडिपट्टिको सीसामा क्षति पुगेको छ। प्रदर्शनकारीहरूले शारीरिक दूरी कायम गरेका थिएनन्। प्रहरी ठूलो सङ्ख्यामा तैनाथ भएर प्रदर्शन तितरबितर गरेको थियो।
कोरोना सङ्क्रमणको बेलामा स्वास्थ्य मापदण्डविपरीत प्रदर्शन भएकोले समुदायस्तरमा फैलिएको सङ्क्रमण अझ फैलिन सक्ने खतरा पनि बढेको छ। सङ्क्रमित युवतीका आफन्तजन सहभागी भएकोले प्रदर्शनमा सङ्क्रमणको खतरा बढेको हो।
यसैबीच, प्रहरीले प्रदर्शनका क्रममा उग्रता प्रदर्शन गर्ने एकजनालाई पक्राउ गरेको छ।
यसैबीच, जसपा, पर्साका नेता राजेशमान सिंहले विज्ञप्ति जारी गर्दै प्रदर्शनकारीहरूलाई संयमित हुन आग्रह गरेका छन्। उनले उपचार अभावमा मृत्यु भएको घटनाको छानबीन हुनुपर्ने र त्यसका दोषीलाई कारबाई गर्नुपर्ने माग गरेका छन्। साथै अहिलेको अवस्थामा प्रदर्शन गर्दा आफैंलाई खतरा हुने कुरालाई दृष्टिगत गर्दै सुरक्षित तरीकाबाट घटनाको प्रतिवाद गर्न र दोषीलाई कारबाई गर्ने वातावरण सिर्जना गराउन आग्रह गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here