प्रस, निजगढ, १५ भदौ/
पछिल्लो समय बारामा कोभिड १९ सङ्क्रमित बढिरहेका छन्। जिल्ला प्रशासन कार्यालय, बाराले साउन १८ गते निषेधाज्ञा जारी गर्दै पुनः साउन ३२ गते निषेधाज्ञा थप गरेपछि बैंक, सरकारी कार्यालय, पसललगायत बन्द थिए। सो निषेधाज्ञा अहिले पनि जारी छ।
तर दुई दिन अघि निजगढका बैंकिङ कार्यालयहरूले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सेवा दिने निर्णय गरेका छन्। बैंकमा आउने सेवाग्रहीलाई कोरोना भाइरसबाट सुरक्षित हुन विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य मन्त्रालयद्वारा जारी निर्देशन पालना गर्ने–गराउने भनिएपनि राष्ट्रिय वाणिज्य बैंक, निजगढमा देखिएको भीडभाडले सङ्क्रमणको सन्त्रास बढाएको छ। यसरी बैंक सञ्चालन गर्ने निर्णय भएपनि भीडभाडको अनुगमनमा ध्यान पु–याइएको छैन।
निजगढस्थित राष्ट्रिय वाणिज्य बैंकमा आउने सेवाग्रहीहरूमा सामाजिक दूरी कायम नदेखिंदा महामारीको जोखिम उच्च हुन सक्ने देखिए पनि निजगढ नगरपालिकाद्वारा गठित कोरोना भाइरस विपत् जोखिम न्यूनीकरण समितिको अनुगमन प्रभावकारी देखिएको छैन। सो समितिका संयोजक निजगढ नगर प्रमुख नै रहेका छन्।
बारामा तीन दिन यता सङ्क्रमितहरू बढेर ८८३ जना पुगेको छ। ५ दिन अघि मात्रै निजगढमा ११ जना सङ्क्रमित थपिएका थिए। हालसम्म आइसोलेशन र होम आइसोलेशनमा ४८४ जना छन्। अहिलेसम्म ३८४ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने हालसम्म बारामा सङ्क्रमणबाट १५ जनाको मृत्यु भएको बारा प्रशासनले जनाएको छ। जिल्लामा मृत्यु हुनेमध्ये एकजना ५ वर्षीय बालक निजगढका थिए।