वीरगंजमा शुरू भयो प्लाज्मा थेरापी

राधेश्याम पटेल, वीरगंज, १५ भदौ/
    कोरोना सङ्क्रमितको उपचारमा प्रभावकारी मानिएको कन्भेलसेन्ट प्लाज्मा थेरापी प्रदेश २ मा पनि शुरू भएको छ। नारायणी अस्पताल वीरगंजबाट यो उपचार आरम्भ भएको छ। करीब एक महीनाको कसरतपछि भदौ १४ गते नारायणी अस्पतालको आइसियु कक्षमा उपचाररत एक सङ्क्रमितको उपचार प्लाज्मा थेरापीबाट शुरू गरिएको नारायणी अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहले जानकारी गराए। सर्लाही, चकरघट्टा गाउँपालिका–३ सुन्दरपुर बस्ने ३५ वर्षीय युवकको उपचार यो विधिबाट शुरू गरिएको हो। ६–७ दिनदेखि सुक्खा खोकी र ५ दिनदेखि श्वासप्रश्वासमा समस्या भएपछि भदौ १२ गते नारायणी अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका ती युवकमा भदौ १३ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि सोही दिन आइसियुमा सिफ्ट गरिएको थियो। प्रदेश २ मा पहिलोचोटी प्लाज्मा थेरापी विधिबाट उपचार शुरू गर्न नारायणी अस्पतालका स्टोर–कीपर दामोदर अधिकारीले आफ्नो ‘ए पोजेटिभ’ समूहको रगत दान गरेका छन्। नारायणी अस्पतालका चिकित्सकले कोरोनामुक्त भएको तथा १४ दिन बिताएका स्वस्थ युवकले अर्जेन्ट रक्तदान गर्न फेसबूकमा आह्वान गरेको देखेपछि स्टोर–कीपर अधिकारी रक्तदान गर्न तयार भएका थिए।
    गम्भीर अवस्थामा उपचार भइरहेको सर्लाहीका सङ्क्रमितलाई आइसियुमा ‘बिप्याप सपोर्ट’ मा राखिएको छ। उनको अवस्थामा सुधार हुने प्लाज्मा थेरापीमा संलग्न अर्का चिकित्सक डा. प्रह्लाद अधिकारीले जनाए। नारायणी अस्पतालमा यो सेवा शुरू गर्न सहयोग गरेकोमा रक्त सञ्चार केन्द्र वीरगंज परिवार, समाजिक अभियन्ता प्रकाश थारूलगायत सुरक्षा अधिकारी एवं नागरिक समाजप्रति अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जयकुमार ठाकुरले धन्यवाद व्यक्त गरेका छन्।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्