प्रस, वीरगंज, १४ भदौ/
मुख्यमन्त्री लालबाबूराउत गद्दीले प्रदेश सरकारले जिल्लाहरूमा उपलब्ध गराएको स्रोत साधनको उपयोग गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन्।
आइतवार सिरहा, लहानमा कोरोना महामारी नियन्त्रणको लागि आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री गद्दीले निर्देशन दिएका हुन्। उनले महामारी नियन्त्रणका लागि प्रदेश सरकारले सबै जिल्लालाई स्वास्थ्य सामग्रीसहित आवश्यक रकम पठाएको बताए। उनले विगतमा पठाएको रकम जिम्मेवार व्यक्तिले सदुपयोग गर्न नसकेको आरोप लगाए। मुख्यमन्त्री गद्दीले सबै जिल्लामा पिसिआर ल्याबसहितको अन्य सुविधा एक महीनाभित्र परिपूर्ति हुने आश्वासन दिए।
कार्यक्रममा सामाजिक विकासमन्त्री नवलकिशोर साहले कोरोना महामारी नियन्त्रणको लागि परीक्षण र उपचारका साथै जनचेतना फैलाउन आवश्यक
रहेको बताए। उनले महामारीको निदान उपचारले मात्र सम्भव नभएको बताउँदै नागरिक सचेत हुनुपर्ने बताए।
कार्यक्रममा पूर्व सङ्घीय स्वास्थ्य राज्यमन्त्री एवं विज्ञ समूहका सदस्य डा. सुरेन्द्र यादवले कोरोना महामारीको उपचार अनावश्यकरूपले जटिल बनाउन खोजिएको बताए। उनले चिकित्सक एवं स्वास्थ्यकर्मीहरूले अन्तराष्ट्रिय अभ्यासलाई दृष्टिगत गरी अगाडि बढ्न सुझाव दिए।
कार्यक्रममा मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, सशस्त्र प्रहरी एवं अनुसन्धानका डिआइजीहरू, नेपाल प्रहरी एवं नेपाली सेना प्रदेश कार्यालयका प्रतिनिधिहरू, सिरहा र सप्तरीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू, अस्पतालका मेडिकल सुपरिटेन्डेन्टहरू एवं स्थानीय तहका प्रमुखहरूको सहभागिता थियो।