सबै थाक्दैछन्

0

    कोरोनाको त्रासले देशलाई बन्दाबन्दीमा राखेको पाँच महीना पनि नाघिसकेको छ। मानिस थाक्न थालेका छन्। यसै थकाइको परिणाम हो कि हिजो बन्दाबन्दी अलिकति के खुकुलो पारिएको थियो, मानिस हुलका हुल बाहिर निस्कन थाले, महामारीले मौका पायो र समुदायमा छि–यो। पाँच महीना घरमा कोच्चिएर बस्नु भनेको निरीक्ष्Fणविनाको कैद काट्नुजस्तै हो। जेलमा बस्ने कैदी र सामान्य मानिसमा केही अन्तर देखिएन। जो रचनात्मक छन्, तिनले आफूलाई कैदी महसूस नहुने उपाय गरे। पढ्नेले पढे, लेख्नेले लेखे, गीत गाउनेले गाए, नजान्नेले टिकटकको प्रयोग गरे। कोही व्यायाम गर्छन्, कोही चित्र कोर्छन्। तर प्रायः सबै थाकेको अनुभव भइरहेको छ। बन्दाबन्दी एक प्रकारको कैद भएपनि यसमा नागरिक स्वयम्को समेत इच्छा र अनुमति थियो। केही हदसम्म बन्दी अवस्थाको नियास्रोपनलाई त्यसले भरथेग ग–यो। तर नथाक्ने मानिस पनि यस बेला हाम्रासामु छन्। जो आफ्नो स्वाभाविक काम गरिरहेका छन्, ती थाकेका छैनन्। स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सफाइकर्मीहरू थाकेको अनुभूति भएको छैन।
    जो काम गर्छ, ऊ थाक्दैन। काम नगर्ने मानिस जहिले पनि थकित देखिन्छ। नगरमा दैनिक जीवनमा आवश्यक पर्ने सामग्री आपूर्ति गर्न पनि एउटा वर्ग सङ्घर्ष गरिरहेको छ। जस्तोसुकै विपरीत अवस्थामा उसले सामानको आपूर्ति गरिरहेको छ, उपभोक्ता खरीद गर्न जाओस् वा माग मात्र गरोस् पु–याउन रत्ती विलम्ब हुँदैन। ऊ थाकेको छैन। काम गर्ने एउटा अर्को वर्ग पनि यस कालमा देखिएको छ। पहिले तरकारी खरीद गर्न बजार पुग्नुपथ्र्यो, आज तरकारी घरआँगनमैं आउन थालेको छ। एउटा नयाँ संस्कृतिको उदय भएजस्तै, बिहान बाहिर सडकमा निस्कौं, बेलाबेला एकथरी, दुईथरी यस्ता घुमन्ते व्यापारी जुन पनि गलीमा देखा परिहाल्छन्। उनीहरूको अनुहारमा थकान देखिंदैन। मानिसले बाँच्ने बाटो जस्तोसुकै विपरीत परिस्थितिमा खोज्छ। हो, उसको स्वाभाविक चेष्टामा छेकबार लगाइदिनुहुँदैन। मानिसको यस्तै समन्वय गर्न सक्ने प्रकृतिले गर्दा मानिस अति चिसो साइबेरियामा बाँचेको छ भने अति गर्मी हुने जलालाबादको आबादी पनि गुलजार छ। तर यो तब मात्र सम्भव हुन्छ, जब मानिसलाई स्वच्छन्द गतिविधि गर्न दिइन्छ। ध्यान यतिमात्र कुरामा पु–याउनुपर्छ कि उसको स्वच्छन्दता अरूको लागि प्रतिकूल नबनोस्।
    मानिस काम गरेर थाक्दैन, काम नपाएर थाक्छ। काम नपाउनुको अर्थ हो, उसको मस्तिष्कले काम गर्न नपाउनु।  मस्तिष्कको ऊर्जा शारीरिक गतिविधिबाट बढ्छ। मस्तिष्क थाक्यो भने शरीर स्वतः थाक्छ। अहिले देशमा यही अवस्था देखा परेको छ। मानिस शारीरिकरूपले भन्दा मानसिकरूपले थाकेको छ। त्यसैले विभिन्न मुलुकमा यो मानसिक थकाइ मार्न विरोध जुलुस भइरहेका छन्। हामीकहाँ पनि अलि बौद्धिक जमात रहेको ठाउँमा यदाकदा विरोधको स्वर घन्किएको सुनिन्छ। जुनसुकै निहँुमा किन नहोस्, मानिस मानसिक र शारीरिक मुखरता चाहन्छ। यसको अभावमा थकाइ लाग्छ। यसै प्रकार चलिरह्यो भने एक दिन देश नै थकित हुन पुग्छ। आलस्य बानी पनि हो। यही आलस्यले मानिसलाई थकाइ लगाउँछ। र थाकेको मानिसले गतिलो कुनै काम गर्न सक्दैन। यो केटाकेटीलाई पनि थाहा छ। तसर्थ थकाइ मेटाउने सरजाम हुनुप–यो।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here