प्रस, वीरगंज, १४ भदौ/
जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगंज महानगरपालिकाबाहेक पर्सा जिल्लामा लगाएको निषेधाज्ञा हटाएपछि ग्रामीण क्षेत्रमा चहलपहल बढेको छ।
पर्सागढी नगरपालिकामा जिल्ला प्रशासन कार्यालय, पर्साले भदौ १४ गतेदेखि निषेधाज्ञा हटाए पनि शनिवारदेखि नै पसलहरू निर्बाध सञ्चालनमा आएका थिए। निषेधाज्ञा हटेको सूचना बाहिरिएपछि पर्सागढी नगरपालिकाका पसलहरू खुलेका थिए। आइतवार पनि यहाँका पसलहरू सञ्चालनमा छन्। सवारीसाधनहरू थोरै सङ्ख्यामा चलेका छन्। वीरगंज र जीतपुरमा निषेधाज्ञा जारी नै रहेकोले सवारीसाधनहरूको सङ्ख्या बढ्न नसकेको हो। नगर क्षेत्रमा मात्रै सञ्चालन हुने साइकल, मोटरसाइकल र एकाध टेम्पो, ईरिक्शा सञ्चालित छन्।
निषेधाज्ञा हटेपछि मानिसहरूको चहलपहल बढेको छ। पटेर्वासुगौली, सखुवाप्रसौनी, जीराभवानी, जगरनाथपुर क्षेत्रमा पनि निषेधाज्ञा हटेपछि आजदेखि पसलहरू सञ्चालनमा आएका छन्। निषेधाज्ञाको कारण लुकीछिपी पसलहरू सञ्चालन हुने गरेकोमा आइतवारदेखि निर्बाध सञ्चालनमा आएका हुन्।
सवारीसाधनहरू हुलाकी सडकमा नगन्य अवस्थामा सञ्चालित छन्। बाराको जीतपुर र पर्साको वीरगंज महानगरपालिकामा निषेधाज्ञा जारी रहेकोले आन्तरिक सवारीसाधनहरू थोरै चलेका थिए। बजार क्षेत्रमा मानिसहरूको चहलपहल बढेको छ।
पोखरिया नगरपालिकाले भने निषेधाज्ञा हटे पनि समय निर्धारण गरेर पसल सञ्चालन गर्न निर्देशन जारी गरेको छ। आजदेखि पोखरियामा बैंकिङ सेवा नियमित गरिएको छ भने अत्यावश्यक वस्तुहरू खाद्य, किराना, दूध, ग्यास आदिको बिक्री बिहान ५ देखि ९ बजेसम्म निर्धारण गरिएको छ। तरकारी, फलफूल पनि सोही समयमा बिक्री गर्न भनिएको छ।
रेडिमेड कपडा, कस्मेटिक, इलेक्ट्रिक, हार्डवेयर, साइकल, मोटरसाइकल, भाँडाबर्तन, सुनचाँदी, फर्निचरका पसल जोर–बिजोर दिनमा बिहान ११ देखि अपराह्न ४ बजेसम्म सञ्चालनको अनुमति दिइएको छ। कृषि तथा निर्माण सामग्री भने प्रत्येक दिन बिहान ७ देखि ११ बजेसम्मका लागि खुला गरिएको छ। यसबाहेक सम्पूर्ण सेवा होटल, चियापसल, सैलुन, मठमन्दिर, मस्जिद, सार्वजनिक बस, रिक्शा, टेम्पो, मोटरसाइकल, साइकल आदिको सञ्चालनमा पूर्णरूपमा बन्देज लगाइएको छ।
उपप्रमुख सलमा खातुनले सूचना जारी गर्दै सामाजिक दूरी बनाएर तोकिएको समयमा तोकिएको सेवा प्रदान गर्न र अनिवार्यरूपमा मास्क, सेनिटाइजरको प्रयोग गर्न आग्रह गरेकी छन्। नियम उल्लङ्घन गर्नेलाई कानून अनुसारको सजाय गरिने उनले चेतावनी दिएकी छन्।
वीरगंज महानगर छिटपुट खुला
जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगंज महानगरमा लगाएको निषेधाज्ञा अवधि भदौ १८ गतेसम्म बढाएपछि लामो समयदेखि बन्द रहेका पसलहरू लुकीछिपी सञ्चालन भइरहेका छन्। साउन १० गतेदेखि अत्यावश्यक वस्तु खरीदका लागि पनि समय प्रदान नगरिएको कारण महानगरका पसलहरू लुकीछिपी सञ्चालनमा आएका हुन्।
मुख्य सडकबाहेक सहायक सडकका रानीघाट, मुर्ली, गहवा, बिर्ता, छपकैया, आदर्शनगर, रामटोल, रेशमकोठीलगायतका क्षेत्रमा पसलहरू लुकीछिपी सञ्चालन भइरहेका छन्। यता, केही दिनदेखि मुख्य सडकका पसलहरू पनि सञ्चालनमा आएका छन्। महानगरबाहेक जिल्लाभरिको निषेधाज्ञा हटाइएपछि मुख्य सडकका पसलहरू आइतवार अन्य दिनको तुलना बढी खुलेका थिए। आदर्शनगर, महावीरस्थान, माईस्थान, गीता मन्दिर, घण्टाघर क्षेत्रमा केही पसल आधा सटर र केही पूर्णरूपमा सञ्चालनमा आएका थिए।
पसलहरू सञ्चालनमा आए पनि ग्राहकहरूको सङ्ख्या भने न्यून छ। एक महीनाभन्दा बढी समयदेखि पसल बन्द गरेर घरमा बस्नुपरेको कारण पसलेहरूले निषेधाज्ञाको अवज्ञा गर्न शुरू गरेका छन्।