प्रस, वीरगंज, १४ भदौ/
कोरोना सङ्क्रमणसँगै लकडाउन र निषेधाज्ञाले ग्रामीण क्षेत्रमा औषधि, कृषि सामग्री, खाद्यान्नको अभाव हुँदैछ।
लामो समयदेखि लकडाउन र निषेधाज्ञा झेल्दै आएको ग्रामीण क्षेत्रमा अहिले अत्यावश्यक औषधिको अभाव भएको छ भने मलको सङ्कट पहिलेदेखि नै छ। यसैगरी, खाद्यान्न सामग्रीको पनि अभाव हुँदैछ। सीमा सिल भएको कारण त्यहाँबाट हुने व्यापार लुकीछिपी मात्र भइरहेको छ। वीरगंजबाट ल्याइने औषधि, खाद्यान्नलगायतका सामानमा प्रहरीले कडाइ गर्दा ग्रामीण क्षेत्रका बासिन्दालाई समस्या भएको हो। जिल्लाभरि अहिले ज्वरोको औषधि छैन। कोरोना सङ्क्रमण र मौसममा आएको परिवर्तनसँगै ज्वरो, झाडापखाला, रूघाखोकी आदिको औषधि अभाव भएको छ।
औषधि उपलब्ध गराउनेतर्फ कसैले चासो लिएका छैनन्। ग्रामीण क्षेत्रका किसानहरू लामो समयदेखि युरिया, डिएपी मलको अभाव झेलिरहेका छन्। उनीहरूलाई मल उपलब्ध गराउनेतर्फ स्थानीय तह, प्रदेश सांसद र सङ्घीय सांसदहरू थोरै पनि जिम्मेवार देखिएका छैनन्। सङ्क्रमणको बेला सबैजना दुलोमा पसेका छन्। वीरगंजबाट अत्यावश्यक वस्तुहरू ग्रामीण क्ष्Fेत्रमा लैजाने क्रममा ठाउँ–ठाउँमा प्रहरीले छेकबार लगाएर चेकजाँचको नाममा जनतालाई ठग्ने काम गर्दैछ। तिनीहरूलाई नियन्त्रण गर्नेतर्फ पनि कसैले पहल गरेको छैन। यही कारणले गर्दा अहिले ग्रामीण क्षेत्रमा खाद्यान्न, औषधि र मलको कालोबजारी बढेको छ।