प्रस, रौतहट, १४ भदौ/
कर्तव्यज्यान मुद्दामा पक्राउ परी हिरासतमा रहेको बेला उपचारको क्रममा मृत्यु भएका रौतहटका विजय रामको घटनामा आरोपित इलाका प्रहरी कार्यालय, गरुडाका प्रनाउ ज्ञानकुमार महतोलाई प्रदेश प्रहरी कार्यालयमा तानिएको छ।
गरुडा नगरपालिका–८ जिङ्गडियाका २० वर्षीय निरञ्जन रामको हत्या अभियोगमा पक्राउ परेका सातजनामध्ये विजय रामको नेशनल मेडिकल कलेज वीरगंजमा उपचारको क्रममा मृत्यु भएको थियो। उनको मृत्यु गरुडा प्रहरी कार्यालयमा चरम यातनाबाट भएको आरोप छ। सोही आरोपका कारण विजय रामको मृत्युपछि उनको शल्यपरीक्षण त्रिवि शिक्ष्Fण अस्पताल काठमाडौंमा गरिएको थियो। त्यहाँका चिकित्सकले प्रारम्भिक रिपोर्टमा यातनाबाट मिर्गौला फेल भएर मृत्यु भएको बताएको पिस फर नेपाल दलित फाउन्डेशन पर्साका अध्यक्ष मनोज रामले बताए। उनले मिर्गौलाको थप परीक्षण रिपोर्ट आउन बाँकी रहेको बताएका छन्।
विजय रामलाई यातना दिने कार्यमा आरोपी प्रनाउ महतोलाई प्रदेश प्रहरी कार्यालय, जनकपुरमा तानिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेवप्रसाद यादवले बताए। प्रनाउ महतोको ठाउँमा तत्कालका लागि जिप्रका, रौतहटका प्रनाउ भरत श्रेष्ठलाई जिम्मेवारी दिइएको छ।
घटना सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोग काठमाडौं, प्रदेश जनकपुरले छानबीन प्रक्रिया अगाडि बढाएको छ भने गृह मन्त्रालयले उपसचिवको संयोजकत्वमा प्रदेश प्रहरी कार्यालयका उपरीक्षक र रौतहटका उपरीक्षक सदस्य रहने गरी तीन सदस्यीय छानबीन समिति बनाएको छ।
यसैबीच, विजय रामको मृत्युको विषयलाई लिएर आज पनि इप्रका गरुडाअगाडि धर्ना दिइएको छ। पूर्वमन्त्री विश्वेन्द्र पासवानको अगुवाइमा दर्जनौं व्यक्ति सहभागी भएर मूल गेटमा धर्ना दिएका थिए। उनीहरूले प्रनाउ महतोलगायतका प्रहरीलाई निलम्बन गरी कारबाई गर्नुपर्ने माग गरेका छन्।