राधेश्याम पटेल, वीरगंज, १३ भदौ/
वीरगंज अहिले कोरोना महामारीको दोस्रो चरणसँग जुध्दैछ। चैत अन्तिम सातादेखि असार मध्यसम्म पहिलो चरण समाप्त हुँदा वीरगंजमा कोरोना सङ्क्रमण नियन्त्रण भएको मानिएको थियो।
सोपछि निषेधाज्ञा हटाइ कार्यालय, बजार, व्यवसाय सहज पारिएको थियो। तर साउन पहिलो सातादेखि लक्षणसहितका सङ्क्रमित भेटिन थालेपछि पर्सा कोरोनाको दोस्रो चरणको चपेटामा फस्दै गयो। स्थानीय प्रशासनले साउन १० देखि २० गतेसम्म वीरगंज महानगर क्षेत्रमा मात्रै निषेधाज्ञा लगाएको थियो । दोस्रो चरणमा साउन ३२ गतेसम्म जिल्लाभरि निषेधाज्ञा विस्तार गरियो। जिल्लाका ग्रामीण भेगमा सङ्क्रमितको सङ्ख्या उल्लेखनीयरूपमा भेटिन थालेपछि साउन ३२ गतेसम्मको निषेधाज्ञा तेस्रोपटक भदौ १३ गतेसम्म लम्ब्याइयो।
पर्सामा भर्खरै आएका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले कार्यभार समाल्दा जिल्लामा कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिसकेको थियो। उनले भदौ १३ गतेसम्म निषेधाज्ञा बढाउन लगाए। त्यसपछि चौथोपटक शुक्रवार बसेको जिल्ला सङ्कट व्यवस्थापन केन्द्र पर्साले आगामी भदौ १८ गतेसम्म वीरगंज महानगरका ३२ वडामा मात्र निषेधाज्ञा सीमित राख्ने गरी निरन्तरता दिने निर्णय गरेको छ।
लामो समयसम्म वीरगंजमा जारी निषेधाज्ञाले जनजीवन अति प्रभावित बन्दै गएको छ। बजार, पसल, बैंक, यातायातलगायत सञ्चालनमा नआउँदा सबै क्षेत्रमा नकारात्मक असर परिरहेको छ। विद्युतीय माध्यमबाट बैंकिङ कारोबार गर्न नसक्नेहरूले बैंकमा पैसा हुँदाहुदै पनि झिक्न पाएका छैनन्। खानेकुरा, औषधोपचारलगायतका लागि अरूसँग सापटी माग्दा पनि नपाउने अवस्था छ। गरीब विपन्न परिवार र दैनिक ज्यालादारीमा आश्रित हुनेहरू दुई छाक भोजनको लागि छटपटाइरहेका छन्। मुलुकभरि जारी लकडाउनले थिलथिलो पारेलगत्तै ३५ दिनदेखि जारी वीरगंजको निषेधाज्ञा अब पट्यारलाग्दो, दिक्कलाग्दो र असहज भइसकेको छ। मुख्य सडकका पसलहरू बन्द भए तापनि भित्री गल्लीका पसलहरू आंशिकरूपमा खोलिएका छन्। लुकीचोरी खोल्नुभन्दा बरु सहजरूपमा सावधानी अपनाएर तथा स्वास्थ्य मापदण्ड पूरा गरेर पसल तथा बन्द व्यवसाय सञ्चालन गर्न दिनेतर्फ स्थानीय प्रशासनले पहल गर्नुपर्ने अवस्था आइसकेको छ। पछिल्लोपटक प्रजिअ तामाङले निषेधाज्ञाको मोडल परिवर्तन गर्ने भनेर दिएको अभिव्यक्तिले भने वीरगंजवासीमा थोरै मात्र उत्साह आएको छ।
