आरके पटेल, वीरगंज, १३ भदौ/
मुलुकभर अक्सिजनको माग बढेको बेला वीरगंजको नेशनल अक्सिजन इन्डस्ट्रिज प्रालिको उत्पादन भने आगलागीको कारण बन्द भएको छ।
वीरगंज–१४ गण्डक बहुअरीमा विगत ७ वर्षदेखि सञ्चालनमा रहेको सो उद्योगको यही शुक्रवार रातिदेखि उत्पादन ठप्प भएको उद्योगका सञ्चालक डा अबुल हैस अन्सारीले जानकारी गराए।
राति अचानक विद्युत्को उतारचढावले उद्योगको साढे ७ सय केभिएको ट्रान्सफर्मरमा आगलागी हुँदा उत्पादन ठप्प भएको उनले बताए।
आगलागीले ट्रान्सफर्मर, डिजिटल मिटर तथा विद्युतीय प्यानल जलेर करीब ५० लाख रुपैयाँको क्षति भएको डा अन्सारीले दाबी गरेका छन्। जति सक्दो छिटो मरम्मत गरी उत्पादन थाल्ने डा अन्सारीले बताएका छन्।