ताजा समाचार छोटकरीमा

0
302

-कुमार रुपाखेती

    १) भर्खरै अमेरिकाले भारतमा कोरोना सङ्कट, अपराध, आतङ्कवाद र महिला अपराध बढिरहेकाले भारत भ्रमण नगर्न आफ्ना नागरिकलाई अपील गरेको छ। अमेरिकाले यस्तो सूचना सम्प्रेषण गरेपछि इन्डियन टुरिज्म एन्ड हस्पिटालिटी सङ्घले यसको विरोध गरेको छ। विरोधमा भनिएको छ– कोरोना सङ्कटबाट बल्लतल्ल अगाडि बढिरहेको भारतलाई अमेरिकी अपीलले आर्थिक सङ्कट थप्ने र हतोत्साहित गर्ने स्पष्ट देखिन्छ। स्मरणीय छ, भारतमा आउने अमेरिकी पर्यटक सङ्ख्या अत्यन्तै धेरै छ। अमेरिकी पर्यटक भारतमा लामो समयसम्म बस्ने गरेका छन्। आफ्ना नागरिकहरूले असुरक्षित ठान्ने मुलुकलाई घुमघाम र पर्यटनका लागि अमेरिकाले चौथो श्रेणीमा राख्ने गरेको छ। अहिले चौथो श्रेणीको अमेरिकी सूचीमा भारत, पाकिस्तान, इराक, इरान, यमन, सिरिया आदि मुलुकहरू रहेका छन्।
    २)    कोरोना भाइरस थुक र छिटाबाट सर्ने गर्दछ। यो टिबीजस्तै सरुवा रोग हो। दीर्घरोगी, कमजोर र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरूलाई यो रोगले छिट्टै प्रभावित गर्दछ। त्यसो त नेपालीहरू अलि बढी नै बेपरवाह मानिन्छन्। त्यसैले जापानको इकेबुकुरो शहरको एउटा कपाल काट्ने सैलुनले ‘निषेध प्रविष्टि नेपालको विकास’ नेपालीले नियम पालन गर्दैनन्, सैलुनमा प्रवेश नगर्नु होला, यहाँ नआउनुहोला
भनी नेपालीमैं सूचना टाँस गरेको छ। जापानमा त सैलुन प्रवेशसम्बन्धी नियम मान्न अधिकांश नेपालीले अटेर गरेपछि प्रवेश निषेध गरिएको रहेछ। त्यसैले अहिले जापानमा जगल्टे नेपाली थुप्रै देखिन्छन्।


    ३)    डब्ल्युएचओले करीब तीन महीनापछि अर्थात् सन् २०२१ को सुरुआतमैं कोरोना खोप बजारमा आउने र पहिलो चरणमा स्वास्थ्यकर्मी र अन्य दीर्घरोगले ग्रस्त भएकाहरूले पाउने र त्यसपछि सर्वसाधारणले पाउने उल्लेख गरेको छ। डब्ल्युएचओको नेपालस्थित कार्यालय प्रतिनिधि डा जोसम्यान डिलिएलरसमेतले यो कुराको पुष्टि गर्दै रूस र चीनले ठूलो परिमाणमा निकाल्न लागेको कोरोना खोप परीक्षण अन्तिम चरणमा रहेको बताएका छन्। तर यो खोप कोरोनाग्रस्तको अवस्था हेरेर मात्र डोज निर्धारण गर्न सकिन्छ रे। त्यस्तै, कोरोना र अन्य सबै रोगका रोगीहरूको सेवा र उपचारमा ज्यान हत्केलामा राखेर उपचार गर्ने नर्स, डाक्टरलाई अभद्र व्यवहार नगर्नसमेत डा जोसम्यानले आग्रह गरेका छन्।
    ४)    लकडाउन र निषेधाज्ञाले आजित हेटौंडावासीले सरकारी निषेधाज्ञा तोड्ने अभियान शुरू गरेका छन्। हेटौंडाको हुप्राचौरबाट आरम्भ गरिएको यो अभियानको नेतृत्व नेपाली काङ्ग्रेसले गर्दैछ। जनतालाई सासै फेर्न नदिएर, कोठामा कैद गरेर कोरोना नियन्त्रण हुँदैन भन्दै यसको विकल्प खोज्नसमेत सरकारलाई आग्रह गरिएको छ। मकवानपुरको देखासिकी यो आगो मुलुकभरि फैलिन सक्ने अनुमान गरिंदैछ।
    हुन पनि हो नि घरभित्र निठल्ला बसेर कोरोना नियन्त्रण हुने भए कारागार (जेल)जस्तो सुरक्षित स्थान  अरू हुनै सक्दैन किनकि जेलमा विना काम न कोही बाहिर आउन सक्छ, न कोही भित्र जान सक्छ।
    ५) भदौ १६ गतेबाट सरकारले वैदेशिक उडान सुचारु गर्ने भएको छ। भदौ १६ देखि असोज १४ गतेसम्मको तालिका अनुसार चार्टर्डबाहेक करीब १६० उडान हुनेछन्। सरकारी निठल्लापनले गर्दा अझै हजारांै नेपाली स्वदेश फर्किने आशामा भोकैप्यासै, बेरोजगार र बेवारिसे अवस्थामा विदेशमा छन् र नेपाल फर्कन आतुर छन्। नेपालमा विप्रेषणको वाहक भनिने यिनका कोही माईबाप छैनन्। ऋण, कर्जा, सापटी गरी फर्किन लागेका यिनलाई सात दिन प्रतिव्यक्ति रु १८ सयको दरले सरकारी उर्दी अनुसार होटल क्वारेन्टाइनमा बस्नुपर्ने, तोकिएको १८ सयमा होटलसँग कुनै बार्गेनिङ गर्न नपाइने, पिसिआर रिपोर्ट ठीक भए तापनि ७ दिन क्वारेन्टाइनमा बस्नैपर्ने, लिखित कागज गर्नुपर्ने आदि बाध्यात्मक, हास्यास्पद नियम बनाइएको छ। सात दिने होटल क्वारेन्टाइनको नाममा मोटो रकम तोक्ने सरकारसामु विदेशबाट स्वदेश फर्कन चाहनेको अवस्था मरता क्या नहीं करता अथवा मजबूरीका नाम महात्मा गाँधी जस्तै भएको छ। उता, भारतपट्टिको खुला सीमाबाट दिनहुँ हजारौं भारतीय बेरोकटोक नेपाल प्रवेश गरिरहेका छन्। उदाहरणको लागि वीरगंजको छपकैया नाकालाई लिन सकिन्छ।
    ६) डब्ल्युएचओका अनुसार गरीब देशहरूले समेत समयमैं खोप पाउनेछन्। गरीब मुलुकहरूलाई न्यून शुल्कमा खोप उपलब्ध गराउने र अतिगरीब मुलुकलाई सित्तैमा उपलब्ध गराउने डब्ल्युएचओको नीति छ रे। रोना–धोना गरेर हाम्रो मुलुकले पनि सित्तैमा पाउने होला। अनि सबैभन्दा पहिले फरियावाद, नातावादले प्रश्रय पाउने होला।
    ७) यही भदौ २९ गतेदेखि नेपाल विद्युत् प्राधिकरणका बहुचर्चित सिइओ कुलमान घिसिड्ढो कार्यकाल समाप्त हुँदैछ। भनिन्छ, नेपाललाई लोडसेडिङबाट मुक्त गर्ने महामानव यिनै हुन् रे। हुन पनि हो, कुलमान आउनुअघि नेपाल अन्धकारमय थियो। विद्युतीय सामग्री बेच्नेहरूले लुट नै मचाएका थिए। अहिले सर्वसाधारणदेखि सेलिब्रेटीसम्मले कुलमानको कार्यकाल थप्न आन्दोलन नै चलाएका छन्। ‘लाटोको देशमा गाँडो तन्नेरी’ बन्ने चलन छ हाम्रोमा। अब कुलमानको भविष्य तय गर्ने त वर्तमान सरकार नै हो। एकताका मन्त्री हुँदा गोकर्ण विष्टले समेत नाम कमाउने प्रयास गरेका थिए तर कुलमान र विष्टमा आकाश–जमीनको फरक छ। कुलमान प्राविधिक हुन् भने विष्ट राजनीतिक। गोकर्णका मुखिया केपी ओली कुलमानसँग त्यति सन्तुष्ट छैनन् रे। तसर्थ कुलमानको भविष्य अधरमा लटकिएको छ। वीरगंजमा कुशल प्रशासक भनी नाम कमाएका ‘एसपी’ रमेश खरेलको हविगत सबैलाई थाहै छ। बिचराको नाममा त ‘एसपी खरेल’ भन्ने फिलिम नै बनेको थियो।
    ८) अमेरिकाका वरिष्ठ भाइरसविद् डा एन्थोनी पाउचीले सुरक्षित र प्रभावकारी नभएको र पुख्ता प्रमाण नभएसम्म हतारिएर कोरोनाको खोप ननिकाल्न चेतावनी दिएका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले समेत नोभेम्बरको निर्वाचनमा राजनीतिक फाइदा लुट्ने गरी खोप पूर्णरूपमा परीक्षण नहुँदै सार्वजनिक गर्ने योजनाबारे विचार भइरहेको बताएका थिए तर विपक्षी डेमोक्रेटिक पार्टीका सदस्यहरूले यसको विरोध गरे।
    ९) अचेल ‘नेता र कार्यकर्ता गल्लीमा, नियुक्ति खाने बिचौलिया’ भन्ने कुरा खुबै उठ्न थालेको छ। ओलीको शासनकालमा आफन्त, नातागोता र बिचौलिया अनि विवादास्पद व्यक्तिले राजनीतिक नियुक्ति पाइरहेको सबैलाई थाहै छ। अझै पनि हजारौं नेता, कार्यकर्ता सक्षम हुँदाहुँदै पनि सरकारले छानीछानी बिचौलिया, आफन्त, परिवारका सदस्यलाई नियुक्ति दिइरहेको छ।
    ताजा समाचार छोटकरीमा आजलाई यत्ति नै।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here