प्रस, वीरगंज, १२ भदौ/
मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाको चौथो वार्षिकोत्सव सम्पन्न भएको छ।
कोरोना सङ्क्रमणको बेलामा अपनाउनुपर्ने स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर सीमित व्यक्तिको सहभागितामा वार्षिकोत्सव आयोजना गरिएको पत्रिकाकी सम्पादक कविता खड्काले बताइन्। उनकै अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानले गरेका थिए। उनले सङ्क्रमणको बेलामा तीनवटै तहका सरकारलाई सञ्चारकर्मीले जिम्मेवार बनाउन नसकेको बताए। उनले जनप्रतिनिधिहरू चुकिरहेको र विभिन्न बहानामा उम्किरहेको आरोप लगाए।
प्रतीक दैनिकका प्रधान सम्पादक जगदीशप्रसाद शर्माले अत्यावश्यक वस्तु लिन आउनेलाई सुरक्षाकर्मीले दुःख दिएको भन्दै कुटपीटविना शान्ति सुरक्षा र निषेधाज्ञा पालना गराउन आग्रह गरे।
प्रहरी उपरीक्ष्Fक गङ्गा पन्तले महामारीको बेलामा प्रहरीले गर्न सक्ने थुपै्र काम गर्न नसकेको बताइन्।
कार्यक्रममा नेकपा वीरगंज महानगरका अध्यक्ष एवं गण्डक कोभिड अस्पतालका सञ्चालक रहबर अन्सारीले सङ्क्रमितहरू निको भएर घर फर्किए पनि उनीहरूलाई समाजमा हेर्ने दृष्टिकोणमा परिवर्तन नभएको बताए।
कार्यक्रममा कोभिड अस्पतालमा सेवा प्रदान गर्दै आएका चिकित्सक, अस्पताललाई कोभिड अस्पताल बनाएर सङ्क्रमितहरूलाई सेवा प्रदान गर्ने सञ्चालकहरूका साथै पत्रिकासँग आबद्ध सञ्चारकर्मीहरूलाई कार्यक्रमका प्रमुख अतिथि, अतिथिहरूले सम्मान गरेका थिए।
कार्यक्रमको सहजीकरण पत्रकार लक्ष्मी खरेलले गरेकी थिइन्।