प्रस, वीरगंज, १२ भदौ/
नारायणी अस्पताल वीरगंजमा भदौ ११ गते गरिएको पिसिआर परीक्षणमा प्रदेश २ का चार जिल्लाका ५७ जना सङ्क्रमित थपिएका छन्।
गएराति अबेर सार्वजनिक गरिएको तथ्याङ्क अनुसार ३०८ जनाको स्वाब नमूना परीक्षण गरिएकोमा १७ महिला र ४० पुरुष गरी ५७ जना सङ्क्रमित थपिएको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले जानकारी गराए। उनका अनुसार पर्साका ४२, बाराका १३, रौतहटका २ र सर्लाहीका १ जना गरी ५७ जना सङ्क्रमित थपिएका हुन्। वीरगंजमा थपिएका सङ्क्रमितहरू वीरगंज महानगरका विभिन्न वडा तथा ग्रामीण भेगका केही पालिकाका रहेका छन्।
बिहीवार रातिको परीक्षणमा कुल परीक्षणको करीब १७ प्रतिशत सङ्क्रमण नतीजा आएको हो। तर सो सङ्क्रमण नतीजामा सिटी भ्यालु २४ भन्दा माथि रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सञ्जयकुमार ठाकुरले बताए।
सिटी भ्यालु २४ भन्दा माथि हुँदा सङ्क्रमितमा भाइरसको सङ्ख्या कम हुनु हो। पर्सामा विगत ५ महीनामा २ हजारभन्दा बढीको सङ्ख्यामा सङक्रमित पुगिसकेका छन्।
