महोत्तरी, १२ भदौ/रासस
कोभिड–१९ त्रास छल्न जारी निषेधाज्ञाभित्रै महोत्तरीका वन क्षेत्रमा तस्करको प्रवेश बढेको छ। चैत ११ देखि साउन ६ गतेसम्म सरकारले घोषणा गरेको लकडाउन र पछिल्लो चरणमा साउन २० गतेयता जिल्ला प्रशासन कार्यालय महोत्तरीले पटक–पटक अवधि बढाउँदै लगाएको निषेधाज्ञामा वन सम्पदा चोरी हुने क्रम बढेको हो।
भदौ लागेयता मात्रै वन सुरक्षा गस्तीले गरेको सघन खोज अभियानमा भर्खरै कटान गरेर लुकाइएका साखुका काठ ५९ क्यूविक फिट बरामद गरेको छ। चोरी कटान गरेर लगिने काठ धेरैजसो अवैधरूपले सञ्चालन गरेका समिल (काठ चिरान गर्ने कारखाना) र फर्निचर उद्योगमा फेला परेको डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिए।
“हामीले यसै साता मात्र बर्दिवासका दुर्ई ठाउँबाट ५९ क्यूविक फिट नापका चिरान गरिएका ९४ थान नयाँ कटान गरिएका काठ बरामद गरेका छौं,” डिभिजन प्रमुख साहले भने, “तस्करले रूख कटान गर्ने र अवैधरूपमा सञ्चालनमा रहेका फर्निचर उद्योगले चिरान गराएर लुकीछिपी बेच्दा रहेछन्।” यसरी चोरी कटान हुने रूखमा साखुका ससाना बोट बढी पाइएको वन सुरक्षा गस्तीको अनुभव छ।
आम मानिस र वन सुरक्षा जवान कफ्र्यूले सक्रिय नहुने अनुमानमा तस्करले यो समय प्रयोग गर्ने गरेका छन्। यसअघि साउनमा जिल्लाकै गौशाला नगरपालिका क्षेत्रभित्र चोरी कटान गरी चिरान गराएर लुकाइराखिएका साखुकै १०० क्यूविक काठ वन सुरक्षा गस्तीले बरामद गरेको थियो।
यसअघि गत चैतदेखि असार मसान्तसम्म डिभिजन वन कार्यालयले सञ्चालन गरेको सघन गस्तीले ३०० क्यूविक फिट साखुकै काठ बरामद गरेको कार्यालय अभिलेखमा तथ्याङ्क छ।