जलेश्वर, १२ भदौ/रासस
महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकाले शुक्रवारदेखि आफैं कोभिड–१९ को परीक्षण शुरू गरेको छ। आफ्ना नगर क्षेत्रभित्रका जनताका लागि आफ्नै लगानीमा आरटी पिसिआर मेशिन खरीद गरी नगरपालिकाले अब आफैंले कोभिड–१९ को परीक्षण शुरू गरेको नगरप्रमुख विदुरकुमार कार्कीले बताए।
नगर क्षेत्रभित्र पनि कोरोना समुदायस्तरमैं फैलिएको भन्दै उनले सङ्क्रमणलाई नियन्त्रणमा लिन सबैभन्दा पहिले सङ्क्रमितको सम्पर्कमा आएकालाई पहिचान गर्दै तिनको परीक्षणलाई प्राथमिकता दिएको बताए।
“बर्दिबासवासी यसअघि स्थानीयस्तरमा कोरोना परीक्षणको व्यवस्था नहुँदा प्रादेशिक अस्पताल जनकपुरको भर परेका थिए,” नगरप्रमुख कार्कीले भने, “तर अब बर्दिबासको सङ्कलित स्वाब परीक्षण गर्न बाहिर पठाउनुपर्ने बाध्यता हटेको छ।” पहिला–पहिला कोरोना परीक्षणको रिपोर्ट आउन १५ दिन लाग्ने गरेको तर अब आफ्नै मेशिन भएपछि आजको भोलि नै रिपोर्ट आउने र दैनिक ८०० जनाको स्वाब परीक्षण गर्न मिल्ने भएको उनले बताए।
बर्दिबास नगरपालिका गत जेठ ५ गते नै आफैं कोरोना मेशिन खरीद गर्ने निर्णय गरेअनुरूप मेशिन खरीद गरेर आजदेखि आफ्ना क्षेत्रका जनताको सेवामा जुटेको छ।