पर्यटक प–यो ट्वाँ

124

– मुकुन्द आचार्य
    हाम्रो सुन्दर शान्त विशाल नेपाललाई हेर्न भनी बर्सेनि थुप्रै पर्यटक यहाँ आउँछन्, दाल, भातलाई नेपालको राष्ट्रिय खाना भनी खान्छन् अनि केही दिनमैं वाक्क भएर फर्कन्छन्।
    यौटा हाम्रो पक्षमा राम्रो कुरो चैं के छ भने कुनै पनि घुमन्तेले ‘तेरो देश त नराम्रो’ कुनै देशवासीलाई पनि भन्दैन। अनि नेपाललाई पनि त्यसरी मुखै फोरेर किन कसैले हाम्रोसामु नराम्रो भनोस् !!
    विदेशी घुमुवाले हाम्रो देशलाई ‘राम्रो’ भन्यो भनेर हामी बेमतलबमा मख्ख पर्छौं। उता, त्यो घुमुवाले भन्ठान्छ, नेपालीहरू साँच्चिकै सोझा मूर्ख रै‘छन्, जे भने नि पत्याउने !
    यस्तै केही वर्षअघिको घटना हो, पश्चिमा देशका कुनै घुमन्तेले हाम्रो नेपाली गाइड (पथप्रदर्शक)लाई कुरै कुराको सन्दर्भमा सोधेछ, यो देशमा सबैभन्दा ठूलो को छ ? कसलाई ठूलाबडा मान्छन् ?
    गाइडले तुरुन्तै भनेछ, नेपालमा जोसँग अकूत, दूई नम्बरी धन छ, त्यस्तालाई निर्विवादरूपमा ठूला भन्न सकिन्छ। समाज र सरकार दुवैले त्यस्ता लक्ष्मीपात्रलाई ठूला, प्रतिष्ठित, गण्यमान्य र इज्जतदार मान्दछन्। सर्वत्र उनकै प्रतिष्ठा छ !
    अर्को दिन त्यस गाइडलाई पुनः पर्यटकले सोधेछ, यहाँ पढेलेखेको बुद्धिजीवीहरू पनि त होलान् नि ? उनीहरूको के अवस्था छ ?
    नेपाली गाइडले फेरि फुर्ती लाएछ, किन नहुनु, मिस्टर फलाना १ तर कुरो के छ भने नि जोसँग धन छ, त्यो आफू चैं ल्याप्चे हान्ने भएपनि ठूलठूला विद्वान्लाई उसले पैसाले किनेर आफ्नो चम्चा बनाउन सक्छ। त्यो पनि स्टीलको चम्चा।
सरकारले योग्य व्यक्तिको कदर गर्न जानेको छैन। अनि त गुणी विद्वान् व्यक्तिहरू यस्तै बज्रस्वाँठ र द्रव्यपिशाचको चाकरी गरेर हातमुख जोर्न बाध्य हुने नै भए। काम परे गधालाई पनि बाउ भन्नै प–यो।
    यस्तो कटु यथार्थ थाहा पाएपछि त जुनसुकै पर्यटक ट्वाँ… भएर एकछिन चेतना शून्य हुने नै भयो। चिन्नेलाई श्रीखण्ड नत्र खुर्पाको बींड त हो।
    अर्को कुइरेले आफ्नो जिज्ञासा कसरी व्यक्त ग–यो– मैले त यो सानो सुन्दर देश कृषिप्रधान हो भन्ने सुनेको थिएँ। के त्यो कुरा सत्य हो ? साँचो साँचो भन्नुहोला। नढाँटीकन।
    हाम्रो नेपाली गाइड झन् के कम ! उसले उपद्रो उत्साहका साथ जवाफ दियो। ‘हेर्नुस् यो पुरानो थोत्रो भनाइ हो। हामीले त्यस्ता पुराना कुराहरू त उहिल्यै छाडिसक्यौैं। विकासको क्रममा हामीले अब देश विकासको ठूलो लहर चलाएका छौं, देश विकासको ठूलो रकम हामी खाद्यान्न आयात गर्र्न मैं खर्चन्छौं। देश कृषिप्रधान हो भन्ने कुरो त यौटा थेगो मात्रै हो। फेरि फिरन्ता ट्वाँ… परिरह्यो।
    अब त संसार फास्टफूड खान मन पराउने युगमा प्रवेश गरिसक्यो। हामी चैं खाने नखाने जस्ता झिनामसिना समस्यामा अल्झिएर बसिरहेका छौं, नेपाली गाइडले गुड्डी हाँक्यो।
    विदेशी पर्यटकहरू नेपालको प्राकृतिक सौन्दर्य त मन पराउँछन्, तर के के मन पराउँदैनन्, त्यसको सूची चैं लामै हुन सक्छ। सुन्दर, शान्त, विशाल नेपाल !

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्