डेढ महीनाभित्र दोस्रोपटक सङ्क्रमण

प्रस, वीरगंज, ११ भदौ/
    हङकङमा एकजना निको भएका सङ्क्रमित पुनः सङ्क्रमित भएको केही दिनअघि समाचार आएको थियो। वीरगंजमा पनि निको भएकी एकजना ३६ वर्षीया नर्स डेढ महीनाकै अवधिमा दोस्रोपटक सङ्क्रमित भएको घटनाले नेपालकै चिकित्साजगत्लाई झस्काएको छ।
    नारायणी अस्पतालको आइसियू वार्डमा कार्यरत ३६ वर्षीया स्टाफ नर्स भदौ १० गते राति दोस्रोपटक सङ्क्रमित भएको पुष्टि भएको हो। उनी डेढ महीना पहिले नारायणी अस्पतालमा काम गर्ने क्रममा सङ्क्रमित भई एक सातापछि निको भएकी थिइन्। उनका ४० वर्षीय पति स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक हुन्। पति–पत्नी स्वास्थ्यकर्मी भएकाले कोबाट कसमा सङ्क्रमण फैलियो भन्ने यकीन गर्न गा–हो छ।
    तिनीहरूको १४ वर्षीय छोरा पनि सङ्क्रमित भएका छन्। तीनैजना नारायणी अस्पतालकै क्वाटरमा बस्छन्। दोस्रोपटक सङ्क्रमित नर्सले भनिन्, “मलाई आफैं विश्वास लागेको छैन, कसरी दोस्रोपटक सङ्क्रमित भएँ, पहिलोपटक सङ्क्रमित हुँदा लक्षण थिएन भने अहिले छाती दुख्ने समस्या छ।”
    विश्व स्वास्थ्य सङ्गठनले एकजना सङ्क्रमित निको भएको तीन महीना अर्थात् ९० दिनसम्म दोस्रोपटक सङ्क्रमित हुने सम्भावना एकदमै न्यून रहने विभिन्न अध्ययनको आधारमा बताउँदै आएको छ। तर अहिले निको भएकी सङ्क्रमित डेढ महीनाकै अवधिमैं दोस्रोपटक सङ्क्रमित हँुदा नेपालमैं यो पहिलो घटना भएको नारायणी अस्पतालका चिकित्सक डा उदयनारायण सिंहले बताए। “हामीलाई आफैं अचम्म लागेको छ, कोरोनासम्बन्धी अहिले धेरै तथ्य बाहिर आउन बाँकी छ,” उनले भने, “निको भएका र सामान्य व्यक्ति कुन बेला  सङ्क्रमित हुन्छ, कुनै ग्यारेन्टी छैन।”