प्रस, वीरगंज, १० भदौ/
लायन्स क्लब इन्टरनेशनलका पूर्व अन्तर्राष्ट्रिय अध्यक्ष लायन रोहित मेहताको ९१औं जन्मदिनको अवसरमा वीरगंजमा निश्शुल्क अक्सिजन सेवा शुरू भएको छ। होम आइसोलेशनमा बसेका सङ्क्रमितलाई लक्षित गरी सामुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वीरगंजमा बुधवारदेखि ‘लायन्स अक्सिजन बैंक’को स्थापना भएको हो।
समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि आर्थिक अवस्था कमजोर भएका सङ्क्रमितहरूलाई लक्षित गरी वीरगंजका लायन्स क्लबहरूको आर्थिक सहयोगमा निश्शुल्क अक्सिजन सेवा थालिएको लायन्स क्लबका जोन चेयरपर्सन अनुप अग्रवालले बताए।
होम आइसोलेशनका सङ्क्रमितलाई श्वासप्रश्वासमा समस्या भएमा तत्कालै अक्सिजन उपलब्ध गराउने चेयरपर्सन अग्रवालले दाबी गरे।
कार्यक्रममा लायन्स क्लबका पूर्व इन्टरनेशनल डाइरेक्टर सञ्जय खेतान र पूर्व मल्टीपल काउन्सिल चेयरपर्सन रमेश अग्रवालले पर्साकी प्रहरी उपरीक्षक गङ्गा पन्तलाई सिलिन्डर, रेगुलेटर, पाइप, सेनिटाइजर, पञ्जालगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए।
कार्यक्रममा साढे १ क्युबिक मिटरका ५ र ७ क्युबिक मिटरका १० वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको थियो। आवश्यकता अनुसार सिलिन्डरको सङ्ख्या बढ्ने रमेश अग्रवालले बताए। निश्शुल्क अक्सिजन सेवा जिल्ला प्रहरी कार्यालयको कोभिड हेल्प डेस्कमार्फत् प्रदान गरिनेछ।
लायन्स क्लबका एरिया चीफ विनय बंसलको सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण देवकीनन्दन अग्रवालले गरेका थिए।