प्रस, पंचगावाँ, ९ भदौ/
मकवानपुर र धादिङमा उत्पादित गाँजा पर्सा जिल्ला भएर भारत पु–याउने कार्य निषेधाज्ञामा पनि जारी छ।
निषेधाज्ञाको कारण सवारीसाधन चल्न नसक्दा अहिले तस्करहरूले जङ्गलको बाटो गाँजा, चरेस ढुवानीलाई तीव्र पारेका छन्। सामान्य अवस्थामा मकवानपुरको लोथर, मनहरीबाट मकवानपुर र धादिङमा उत्पादित गाँजा मालवाहक ट्रक, तेल बोक्ने ट्याङ्कर, यात्रुवाहक बस र निजी सवारीसाधनहरूमार्फत् ढुवानी हुने गरेको थियो।
बाराको जीतपुरसिमरासम्म सवारीसाधनबाट ल्याइने गाँजा, चरेस त्यसपछि अटोरिक्शा, मोटरसाइकल र भाडाका सवारीसाधनबाट जीतपुर भएर पर्सा जिल्ला भित्र्याउने गरिन्थ्यो। अहिले लकडाउन र निषेधाज्ञाको कारण सवारीसाधन सञ्चालन नहुँदा तस्करहरूले जङ्गलको बाटोबाट गाँजा, चरेसको ढुवानी तीव्र पारेका छन्। एकजना कारोबारीका अनुसार जङ्गलको बाटो मनहरी र लोथरबाट भरिया लगाएर ल्याइने गाँजा, चरेस पर्सा जिल्लाको ठोरी गापाको विजयबस्ती, ब्रह्मनगर, सुवर्णपुर, निर्मलबस्ती, जीराभवानी गापाको महादेवपट्टि, शान्तिटोल, जगतिया, शङ्करसरैया, पटेर्वासुगौली गापाको निचुटा, देउरिया, सोनवर्षा, बैरिया, कञ्चनपुर, मलाहीटोल, गदियानी, मुजवानी, भतौडा, पटेर्वालगायतका स्थानमा भण्डारण गरिने र त्यहाँबाट भरियामार्फत् भारत पु–याउने काम भइरहेको छ।
निषेधाज्ञामा लागूपदार्थ ढुवानी कार्य निकै फस्टाएको छ। सबैजना कोरोनाको सङ्क्रमणले भयभीत भएको अवस्थामा तस्करहरूले सुरक्षाकर्मीहरूलाई प्रभावमा पारेर यो कार्य गर्दै आएका छन्। खासगरी वर्षायाममा जङ्गलको बाटो गाँजा, चरेसको ढुवानी रोकिनुपर्ने हो। विभिन्न कारणले वर्षायाममा जङ्गलको बाटो ढुवानी कार्य जोखिमपूर्ण हुन्छ। तर निषेधाज्ञाले गर्दा अहिले तस्करहरूलाई जङ्गलको बाटोबाटै गाँजा, चरेस ढुवानी गर्नुपर्ने बाध्यता रहिआएको छ। एकजना अर्का कारोबारीले ठूलो परिमाणमा चरेस र गाँजा पर्सा जिल्लामा भण्डारण भएको बताएका छन्। थोरै परिमाणमा गाँजा, चरेस बेवारिसे अवस्थामा बरामद भएको देखाउने र ठूलो परिमाणमा गाँजा, चरेस भारत पु–याउने काम भइरहेको छ। तस्करकै सेटिङमा प्रहरीले गाँजा, चरेस बरामद गरेर बहादुरी देखाउने गरेको एकजना कारोबारीले बताए।
सबैको ध्यान अन्यत्र आकर्षित गर्नको लागि यस प्रकारको हर्कत तस्करहरूले बेलाबखत गर्दै आएका हुन्। केही दिन अगाडि थोरै परिमाणमा चरेस बरामद भएको थियो।
यसैबीच, भदौ ९ गते मङ्गलवार बिहान आठ बजे इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीले ८ किलो चरेससहित दुईजनालाई पक्राउ गरेको छ। भारतीय मोटरसाइकलमा ८ किलो चरेस सेटिङ गरेर लैजाने क्रममा पटेर्वासुगौली गापा–५ निवासी रामचन्द्र राउत र जनार्दन ओझैयालाई पक्राउ गरिएको हो। पटेर्वासुगौली–५ देउरियास्थित नेरा आधारभूत विद्यालय मनिहर्वानजीकबाट मोटरसाइकल र दुईजना तस्कर पक्राउ परेका हुन्। दुवैलाई आवश्यक कारबाईको लागि जिप्रका, पर्सा चलान गरिएको छ।