प्रस, पर्सागढी, ९ भदौ/
पर्सागढी नगरपालिकाले सङ्क्रमितहरू बढेसँगै नगरमैं आइसोलेशनको व्यवस्थापन गर्दै सङ्क्रमितहरूलाई आइसोलेट गर्न शुरू गरेको छ।
पर्सागढी नगरपालिकाले यसअघि वीरगंज महानगरको होटल कुमु प्यालेसमा १६ शय्याको आइसोलेशन तयार गरेको थियो। सो ठाउँमा सङ्क्रमित नअटेपछि अहिले नगरपालिकाका तीनवटा स्थानमा ४५ शय्याको आइसोलेशन सञ्चालनमा ल्याएको छ।
पर्सागढी नगरपालिका–८ स्थित हरपुर विद्यालय, पर्सागढी–९ मनवाको बडेर्वा माविमा १४/१४ शय्या र पर्सागढी नपा–६ बागेश्वरी तित्रौनामा प्राथमिक स्वास्थ्य केन्द्रलाई १७ शय्याको आइसोलेशन बनाएर सञ्चालनमा ल्याइएको छ।
नगरका तीनवटा र वीरगंजको एउटा गरी चारवटा आइसोलेशनमा सङ्क्रमितहरू छन्। पर्सागढी नगरपालिकामा पछिल्लो समयमा सङ्क्रमितहरू बढेर सङ्ख्या ७५ पुगेको छ।