राजकुमार पटेल, वीरगंज, ९ भदौ/
पर्सा जिल्लाका केही पालिका अझै निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलिरहेका छन्।
निमित्तको भरमा चलेका अधिकांश स्थानीय तहमा बेरुजु बढी देखिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अधिकारीहरूको ठहर छ। स्थानीय तहहरू निमित्तको भरमा चल्दा बेरुजु रकम बढ्दै गएको, आर्थिक अनियमिततासमेत वृद्धि भएको मन्त्रालयको बुझाइ छ।
यसो हुनुमा मुख्यतः निमित्त प्रमुख प्रशासकीय अधिकृतले आफू सो जिम्मेवारीमा रहिरहनका लागि गर्ने क्रियाकलाप र सोही कमजोरीलाई समातेर गलत फाइदा उठाउन खोज्ने तत्वहरूको क्रियाकलाप मुख्य हुने गरेको छ। अर्कोतर्फ आफू कुनै पनि बेला जिम्मेवारीबाट हट्नुपर्ने मानसिकतामा रहनुपर्ने हुँदा काममा प्रक्रियागतरूपले ध्यान नजाने साथै कम योग्यताका कर्मचारीले निमित्तको जिम्मेवारी पाउँदा परिपक्व ढङ्गले काम नहुने गरेको पाइएको छ।
जुनसुकै कारणले होस् योग्यता र क्षमता भएपनि निमित्त प्रमुख प्रशासकीय अधिकृतले नियम, कानून, प्रक्रिया र पद्धतिलाई द–होसँग समात्न नसक्ने भएकोले बेरुजु तथा अनियमितता हुने गरेको छ। निमित्त दिनेसम्बन्धी अधिकार पालिकाका जनप्रतिनिधिहरूको हातमा रहने र बेरुजु तथा अनियमितता पनि उनीहरूबाट नै बढी हुने भएकोले समस्या खडा भएको नाम नछाप्ने शर्तमा जिल्लास्थित गाउँपालिकाका एक अधिकृतले खुलासा गरे। पालिकाले कुनै कर्मचारीलाई निमित्त दिए पनि मन्त्रालयले प्रमुख कार्यकारी अधिकृत तोकेर पठाएमा निमित्तको अवधि स्वतः सकिने भएकोले प्रमुख प्रशासकीय अधिकृत पठाउने वा नपठाउने सम्बन्धमा मन्त्रालयको विभागीय फाँटका अधिकारीहरूलाई मिलाउने गरिएको पनि उनले बताए।
यस आर्थिक वर्षदेखि सबै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाउने नीति रहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव वसन्त अधिकारीले बताएका छन्। यसैबीच, पर्साको ठोरी गाउँपालिकामा कृष्णलाल श्रेष्ठ र पटेर्वासुगौली गाउँपालिकामा तेजनारायणलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर मन्त्रालयले पठाएको छ। यसअघि ठोरीमा धर्मराज थापा र पटेर्वासुगौलीमा भुजेन्द्रप्रसाद यादव निमित्त भई काम गर्दै थिए।
पर्साका १४ वटा स्थानीय तहमध्ये पोखरिया नगरपालिका, पकाहामैनपुर, धोबिनी, विन्दवासिनी गाउँपालिका निमित्तको भरमा चलिरहेका छन्। मन्त्रालयले अधिकांश पालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरे पनि नयाँलाई पठाएको छैन। विभागको कर्मचारी प्रशासन शाखाका एक अधिकृतको मिलेमतोमा पर्साका पालिकाहरू निमित्तले चलाइरहन पाएको भन्नेबारेमा जिल्लामा हल्ला चलेपछि मन्त्रालयमा समेत आन्तरिक छानबीन शुरू भएको स्रोतको दाबी छ।
उपसचिवको दरबन्दी रहेको पोखरिया नगरपालिकामा जगरनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित गिरीले थप जिम्मेवारी लिएर चलाइरहेका छन्।
त्यसैगरी, बाराको परवानीपुर गाउँपालिकामा छैटौं तहको कर्मचारी हुँदाहुँदै पनि विभागको आदेशमा पाँचौं तहका कर्मचारीले निमित्तको जिम्मेवारी सम्हालिरहेका छन्।
