बाल उद्यान निर्माण कार्य अन्तिम चरणमा

प्रस, महोत्तरी, ९ भदौ/
    महोत्तरीको बर्दिवास नगरपालिका वडा नं ९ स्थित राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुलामा युवाहरूको सक्रियातामा बाल उद्यान निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। बालबालिकाका लागि शिक्षण क्रियाकलापका साथै अतिरिक्त क्रियाकलापमार्फत् मनोरञ्जनका लागि बाल उद्यानको निर्माण गरिएको जनसहयोगी युवा सञ्जाल बर्दिबासले जनाएको छ। युवा सञ्जालले गत जेठमा शुरू गरेको बाल उद्यान निर्माण कार्य अब अन्तिम चरणमा पुगेको छ।  
    कोरोना महामारीको कारण सामाजिक गतिविधि ठप्प रहेको बेला मौनतालाई थोड्दै रचनात्मक काम गर्ने उद्देश्यले सञ्जालमा आबद्ध युवाले विद्यालयमा बाल उद्यान निर्माणको काम थालेको सञ्जालका अध्यक्ष परमेश्वर महतोले बताएका छन्। सो कार्र्यमा स्थानीय व्यापारी, विद्यार्थी र सामाजिक कार्यकर्ताहरूको समेत साथ सहयोग रहेको उनले बताए।
    स्थानीय बासिन्दा इन्जिनीयर मनोजकुमार महतोले तयार गरेको लागत  तथा योजनाको आधारमा बाल उद्यान तयार भइरहेको हो। बाल उद्यान निर्माणले विद्यालय परिसरको सौन्दर्य बढेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामजतन महतोले बताए।
    अहिले विद्यालय परिसरको चारैतिरका पर्खालसँगै जोडेर फूल र अन्य बोटबिरुवा रोपेर पार्क निर्माण भएको छ। विद्यालय परिसरको चौरमा माटो भरिंदै छ भने शीतल छायादार पीपलको रूखमुनि पक्की चौतारा निर्माणको काम सम्पन्न भइसकेको छ। कुल रु ५० लाखको लागतमा निर्माण हुन लागेको उद्यान निर्माणको काममा सञ्जालले हात लगाएसँगै सहयोगी हात थपिंदै गएको सञ्जालका अध्यक्ष महतो बताउँछन्।
    बाल उद्यान निर्माणको काम अहिले ६० प्रतिशत पूरा भएको छ। सो उद्यानमा उर्वर माटो भर्ने, बिरुवा सङ्कलन र रोपण गर्ने तथा बालबालिकाका लागि खेल र मनोरञ्जनका सामग्री व्यवस्थापनको मुख्य काम बाँकी छ। अब ‘मुठीदान’ र अन्य सहयोगी अभियानले यो काम चालू आर्थिक वर्षभित्रै पूरा गर्ने सञ्जालको अठोट छ। बाल उद्यान निर्माणमा हालसम्म रु २० लाख ६४ हजार २७० खर्च भएको सञ्जालका कोषाध्यक्ष ज्ञानेन्द्र महतोले फाँटवारी सार्वजनिक गरेका छन्।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्