प्रस, सप्तरी, ९ भदौ/
तस्करीका लागि तयार गरिएको केराउसहितका ६ वटा डुङ्गा हनुमाननगर कङ्कालिनी–११ बाट प्रहरीले नियन्त्रणमा लिएको छ। सखुवास्थित कोशीको स्पर छेउबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
सो नाकाबाट ठूलो परिमाणमा केराउ भारततर्फ जाँदै छ भन्ने सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले सोमवार राति केराउ बरामद गरेको हो। डुङ्गामा लादिएको १७५ बोरा सेतो केराउ बरामद गरेको सशस्त्र प्रहरी बल गण नं ६ राजविराजका सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिएका छन्।
सूचनाको आधारमा जिल्लाबाट खटाइएको टोलीले केराउसहितको डुङ्गा बरामद गरे पनि तस्कर फेला नपरेको सप्रउ श्रेष्ठले बताए। बरामद केराउ सशस्त्र प्रहरीले भन्सार कार्यालय कुनौली बेल्हीमा मङ्गललार बुझाएको छ।