रौतहटमा तीन सय शय्याको आइसोलेशन सञ्चालन

प्रस, गरुडा, ८ भदौ/
    रौतहटमा तीन सय शय्याको व्यवस्थित आइसोलेशन सेन्टर सञ्चालनमा आएको छ। देवाहीगोनाही नगरपालिकाको धरहरीमा सञ्चालित जय किसान पोलिटेक्निकल इन्स्टिच्युटको भवनमा व्यवस्थित कोरोना विशेष अस्थायी आइसोलेशन सेन्टर सञ्चालनमा आएको हो।
    रौतहटमा व्यवस्थित आइसोलेशनको अभावमा सङ्क्रमितहरू घरमैं बस्नुपर्ने, होम आइसोलेशनमा बस्दा स्वास्थ्यकर्मीको पहुँच नहुने गुनासो आएको र होम आइसोलेशनमा बस्ने सङ्क्रमितमध्ये कतिपय बजार निस्कने गरेको पाइएपछि व्यवस्थित आइसोलेशन सेन्टरको आवश्यकता महसूस गरिएको थियो।
    रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको पहलमा जिल्लाका सम्पूर्ण स्थानीय तहको सहयोगमा व्यवस्थित आइसोलेशन सेन्टर निर्माण गरिएको हो।
    गत हप्ता सबै स्थानीय तहका प्रमुखहरूले जिल्लामा व्यवस्थित आइसोलेशन सेन्टर निर्माण र सञ्चालन गर्न पाँच लाख रुपियाँ दिने निर्णय गर्नुका साथै देवाहीगोनाही नगरपालिकाका प्रमुख धर्मेन्द्रप्रसाद पटेलको संयोजकत्वमा आइसोलेशन सेन्टर व्यवस्थापनको लागि उपसमिति निर्माण भएको थियो।
    जिल्लामा पिसिआर परीक्षण गर्न जिल्ला अस्पताल गौरलाई प्राविधिकरूपमा तयार पारिंदै छ। पिसिआर मेशिन आउने तयारीमा रहेकोले जिल्ला अस्पताललाई प्राविधिकरूपमा तयार पारिन थालेको डा कृष्णा साहले जानकारी दिएका छन्।
    सञ्चालनमा आएको आइसोलेशन सेन्टरमा एकजना मेडिकल अधिकृतको मातहतमा स्वास्थ्य प्राविधिकसहित चारजनाको टोली खटाइएको र थप स्वास्थ्यकर्मी तथा कर्मचारी खटाउने तयारी भइरहेको डा साहले बताएका छन्।
    द्रुत गतिमा निर्माण भएको व्यवस्थित आइसोलेशन सेन्टरको प्रजिअ यादव, जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्का, सशस्त्र प्रहरी उपरीक्षक सूर्यसेन ओली, राष्ट्रिय अनुसन्धानका प्रमुख प्रउ अभिनय सिंह, नेपाली सेनाका कर्णेल सामन्तध्वज खाँण तथा केही स्थानीय तहका प्रमुखहरूले संयुक्त निरीक्षण गरेपछि आइसोलेशन सेन्टर सञ्चालनमा आएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here