वीरगंज भन्सारको राजस्वमा गिरावट

120

राधेश्याम पटेल, वीरगंज, ८ भदौ/
चालू आर्थिक वर्षको पहिलो महीना साउनमा वीरगंज भन्सारका दुई नाकाबाट एकदमै कम सामान भित्रिएको छ। वीरगंजमा साउन १० गतेदेखि र जिल्लाभरिमा साउन १९ गतेदेखि विस्तार गरिएको निषेधाज्ञाले पुरानो भन्सार कार्यालय र अलौंमा सञ्चालनमा आएको एकीकृत जाँच चौकी (आइसिपी)बाट आयात–निर्यात एकदमै प्रभावित हुँदF राजस्व सङ्कलन पनि कम भएको भन्सार अधिकारीहरूले बताएका छन्।
वीरगंज भन्सारले चालू आर्थिक वर्षको १२ महीनाको लागि गत आवभन्दा १० अर्ब कम राजस्व लक्ष्य तोकेको छ। चालू आव २०७७/०७८ को लागि रु १ खर्ब ७२ अर्ब ७९ करोड ८१ लाख ७५ हजार राजस्व लक्ष्य सरकारले निर्धारित गरेको छ। जबकि गत आवको लागि रु १ खर्ब ८२ अर्ब तोकेको थियो।
चालू आवको साउनको लागि मात्र रु ११ अर्ब ४२ करोड ७४ लाख २० हजार राजस्व तोकिएकोमा रु ७ अर्ब ८१ करोड ९ लाख ५३ हजार सङ्कलन भएको वीरगंज भन्सारले जनाएको छ। भन्सार कार्यालयका सूचना अधिकारी विमलकुमार साहका अनुसार लक्ष्यभन्दा ३ अर्ब ६१ करोड ६४ लाख ६७ हजार कम राजस्व उठेको हो। उनले भने–“कोरोना सङ्कटको बेला स्वास्थ्य सामग्री, औषधि, अत्यावश्यक सामानबाहेक अन्य सामानको आयात न्यून देखिएको छ, विलासी कारसँगै सवारीसाधनको आयातमा पनि ठूलो गिरावट आएपछि वीरगंज भन्सारको राजस्व सङ्कलन प्रभावित भएको हो।”
वीरगंज भन्सारले गत साउनमा निकासीतर्फ रु ४० लाख राजस्व लक्ष्य लिएकोमा रु ७ लाख ४४ हजार मात्र सङ्कलन गरेको छ। त्यसैगरी, पैठारीतर्फ रु ३ अर्ब ९८ करोड २९ लाख ८१ हजार लक्ष्य रहेकोमा रु ३ अर्ब १७ करोड ८ लाख ९५ हजार असुली गरेको छ। अन्तःशुल्कतर्फ रु १ अर्ब ३४ करोड ८४ लाख ९३ हजार राजस्व लक्ष्य रहेकोमा रु ८७ करोड ७ लाख ६२ हजार सङ्कलन भएको छ भने मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ रु ५ अर्ब २७ करोड १ लाख ३८ हजार लक्ष्य रहेकोमा रु २ अर्ब ८६ करोड ९९ लाख ११ हजार मात्र सङ्कलन भएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्