प्रस, वीरगंज, ७ भदौ/
चिकित्सक, सञ्चारकर्मी र सुरक्षाकर्मी गरी बारा, पर्साका १५६ जना सङ्क्रमित थपिएका छन्।
नारायणी अस्पताल पिसिआर प्रयोगशालाले शनिवार राति सार्वजनिक गरेको रिपोर्ट अनुसार ३ वर्षका बालकदेखि ७० वर्षका वृद्धसम्म कोरोनाबाट सङ्क्रमित भएका छन्।
३२० जनाको स्वाब नमूना परीक्षणबाट बाराका ११ र पर्साका १४५ गरी कुल १५६ जना कोरोना सङ्क्रमित फेला परेका हुन्। सङ्क्रमितहरूमध्ये वीरगंजको नेशनल मेडिकल कलेज, तराई हस्पिटल तथा भवानी हस्पिटलका गरी पाँचजना चिकित्सक र केही स्वास्थ्यकर्मी पनि सङ्क्रमित भएका छन्।
त्यसैगरी, जिल्ला प्रहरी कार्यालय पर्साका केही सुरक्षाकर्मी पनि सङ्क्रमित भएका छन्। नारायणी एफएमका पाँचजना सञ्चारकर्मी तथा कर्मचारी सङ्क्रमित भएका छन्।
आइतवार बिहानसम्म पर्सामा नयाँ १४५ जना र पुराना १ हजार ७ सय ९० जना गरी कुल १ हजार ९ सय ३५ जना सङ्क्रमित पुगेको जिल्ला प्रशासन कार्यालय पर्साको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ।