प्रस, वीरगंज, ७ भदौ/
कोरोना सङ्क्रमित दुईजना थुनुवा आइसोलेशनबाट फरार भएका छन्। जिल्ला प्रहरी कार्यालय पर्साको थुनुवा शनिवार राति वीरगंज हेल्थकेयरको आइसोलेशनबाट उपचारको क्रममा फरार भएका हुन्। फरार हुनेमा वीरगंज नगवाका छोटु तिवारी र पर्सा रामवनका रामु माझी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
सार्वजनिक मुद्दाका आरोपित दुवैजना राति २ बजे एक्कासि बेपत्ता भएपछि प्रहरीले खोजी शुरू गरेको थियो। जिप्रका पर्सामा रहेका थुनुवाहरूमध्ये ४४ जनामा केही दिन पहिले कोरोना सङ्क्रमण देखिएपछि प्रहरीले वीरगंजको राणीसती धर्मशालामा छुट्टै आइसोलेशन सञ्चालन गरी उनीहरूको उपचार गराइरहेको थियो। सो क्रममा तिवारी र माझीको स्वास्थ्य अवस्था बिग्रेपछि दुवैजनालाई दुई दिन पहिले उपचारको लागि कोभिड अस्पताल वीरगंज हेल्थकेयरमा पु–याइएको थियो।
गण्डक प्रहरीको निगरानीमा उपचार भइरहेको बेला दुवैजना फरार भएपछि जिप्रकाले ड्युटीमा रहेका प्रहरीहरूमाथि अनुसन्धान थालेको छ।
