ठोरीका तीनजनामा कोरोना सङ्क्रमण पुष्टि

माधव तिमल्सिना, ठोरी, ६ भदौ/
ठोरी गाउँपालिकामा तीनजना सङ्क्रमित थपिएका छन्। जिल्ला प्रशासन कार्यालय, पर्साले दिएको जानकारी अनुसार शुक्रवार बेलुकासम्म पिसिआर परीक्षणमा ठोरीका तीनजनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। ठोरी गापा–१ का दुईजना र ठोरी गापा–४ का एकजनामा कोरोना पुष्टि भएको ठोरी गापा कार्यालयले जनाएको छ।
भदौ २ गते पिसिआर परीक्षणका लागि ठोरी गापाबाट २५ जनाको स्वाब नमूना सङ्कलन गरी पठाइएकोमा ६८, ३४ र २६ वर्षका तीनजना पुरुषमा कोरोना पुष्टि भएको गापा स्वास्थ्य संयोजक रमेशराज थिङले बताए। सङ्क्रमण पुष्टि भएका ६८ र ३४ वर्षीय पुरुष नातेदार भएको र उपचारको सिलसिलामा काठमाडौं पुगेर फर्किएका र होम क्वारेन्टाइनमा रहेकाहरू हुन्। २६ वर्षीय पुरुष भने वैदेशिक रोजगारमा दुबईबाट फर्किएका र घ्याङडाँडास्थित क्वारेन्टाइनमा बसेका व्यक्ति हुन्।
सङ्क्रमण पुष्टि भएका तीनजनाको स्वास्थ्य अवस्था सामान्य रहेको गापा स्वास्थ्य संयोजक थिङले बताएका छन्।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्