हामी कहाँ चुक्यौं

163

-सुषमा शर्मा
    पर्सा जिल्लालाई अहिले कोरोनाको हटस्पट भनेर चिनिन्छ। यहाँ दैनिक कोरोना सङ्क्रमितको बढ्दो चाप छ। सङ्क्रमितको सङ्ख्या बढेको कारण वीरगंजका आइसोलेशनहरूको क्षमताले धान्न सकेको छैन।  
    अहिले पर्सा जिल्लामा शनिवारसम्म १ हजार ७ सय ९० जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ। जसमा शनिवारसम्म मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ। नेपालमा माघ ९ गते पहिलो सङ्क्रमित फेला परेपछि सबैभन्दा धेरै त्रास वीरगंजवासीलाई थियो। स्थलमार्ग भएर नेपाल प्रवेश गर्ने सबैभन्दा ठूलो प्रवेशद्वार वीरगंज हो। भारतलगायतका विदेशी मुलुकहरूमा कोरोना सङ्क्रमण देखिएको र त्यताबाट आउने मानिस तथा मालसामान वीरगंज भएर नेपाल प्रवेश गर्ने भएकोले धेरै सङ्क्रमण वीरगंजमा हुन्छ भन्ने कुरा सर्वसाधारणलाई समेत थाहा थियो।


    अर्कोतर्फ नेपाल–भारत खुला सिमानाका कारण भारतबाट सजिलै कोरोना भित्रिन सक्ने पहिलो बिन्दु नै वीरगंज हो। यो अवस्थामा यहाँ कोरोना सङ्क्रमण नियन्त्रण तथा सङ्क्रमितको व्यवस्थापनमा निकै ठूलो चुनौती आउने निश्चित थियो।
    चैतको महीनामा भारतका चारजना जमातीमा कोरोना सङ्क्रमण देखियो । यो खबरले पर्सा जिल्ला मात्र नभई पूरै नेपालमा त्रास सृजना ग–यो। त्यस  बेला नारायणी अस्पतालमा पहिलोपटक पाँच शय्याको आइसोलेशन प्रयोगमा आयो।  नारायणीका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा मदनकुमार उपाध्यायले नारायणी अस्पतालमा ५ शय्याबाट शुरू गरेर ७५ शय्यासम्म आइसोलेशन पु–याए। सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा नारायणीले मात्रै धान्न सकेन।
    सङ्क्रमित वृद्धिमा तीव्रता आउन थालेपछि लकडाउन जारी गरियो, सीमा सिल गरियो। सबै निकायले आआफ्नो किसिमले तयारी गर्दा कहीं न कहीं केही न केही त्रुटि भने रहन गयो र त्यही त्रुटिको कारण आज वीरगंजको अवस्था भयावह बन्न पुग्यो।  
     कोरोना नौलो रोग भएकोले विश्वले नै यसलाई राम्रोसँग बुझ्न नसकिरहेको अवस्थामा वीरगंजका स्वास्थ्यकर्मीहरूलाई पनि गा–हो भयो र यसलाई हलुकारूपमा लिए। गाउँतिरका  स्वास्थ्यकर्मीहरू केही दिन पहिलेसम्म  मास्क, पञ्जा र सेनिटाइजरविना नै बिरामीहरूको उपचार गर्थे। गाउँले झन् सचेत हुने कुरै भएन। जसको परिणाम आज पर्साका स्वास्थ्यकर्मीहरू कोरोनाबाट अछूत रहेको भेट्न गा–हो छ।
    स्थानीय बासिन्दामा कोरोनाबारेमा नचाहिने भ्रमहरूले गर्दा समस्या देखियो। अघिल्लो महीना पकाहामैनपुर गाउँमा रिपोर्टिड्ढो क्रममा पुग्दा त्यहाँका एक बासिन्दा भन्दै थिए, “मास्क लगाएर के हुन्छ ? कोरोना त भगवान्को खेल हो, पापीहरूलाई मात्रै लान्छन्, हामीलाई लान्दैनन्। लकडाउन शहरतिर मात्रै लागू हुने हो, गाउँको लागि होइन।” शहरको अवस्था पनि गाउँको भन्दा कम थिएन। प्रहरी देख्दा मास्क लगाउने प्रहरी अलि टाढा पुगेपछि मास्क खोलेर पकेटमा राख्ने गरिन्थ्यो। तरकारी बजार, खाद्यान्न पसल र सार्वजनिक चोकहरूमा सामाजिक दूरी हेर्न लायक हुन्थ्यो। भीडभाडयुक्त कार्यक्रम, सभा, सम्मेलन चलिरहेकै थिए।
    उद्योग–व्यवसायको क्षेत्र वीरगंजका उद्योगी–व्यवसायी तथा व्यापारीहरूलाई सावधानीभन्दा पनि रकम गन्न हतारो थियो। त्यही रकम गन्दा अपनाउनुपर्ने सावधानीबारे उनीहरू बेखबर थिए। फलस्वरूप सङ्क्रमण फैलिनलाई आधार तयार भयो।
    वीरगंजमा कोरोनाको सङ्क्रमण भयावह देखिनुमा हामी आफैं चुकेका हौं। हामी जति धेरै निर्धक्क थियौं, त्यति नै धेरै भूल गर्दै गयौं। “कोरोनाबाट  नेपालमा एकजना पनि मानिस मरेको छैन, हाम्रो ‘इम्युनिटी पावर’ बढी छ,” भन्दै फुर्ती लगायौं। आज वीरगंज कोरोनाको इपिसेन्टर बन्नु त्यसैको परिणाम हो। सावधानी अपनाउनु, सचेत बन्नु र डराउनु फरक कुरा हुन्। अझै सावधानी नअपनाउने हो भने भोलिको अवस्था भन्न सकिन्न।
    त्यति बेला स्थानीय प्रशासनले पनि केही राम्रा बुँदा लिएर आएको थियो तर त्यसलाई लागू गर्न सकेन। मास्क लगाउन, सामाजिक दूरी कायम गर्न  र सरसफाइमा ध्यान दिन आग्रह ग–यो तर त्यसलाई घर–घरसम्म पुग्ने गरी सचेतता अभियानको रूपमा लाने र अटेर गर्नेलाई तुरुन्तै कारबाई गर्न सकेन।
    शुरूका दिनमा रौतहटबाट एउटा केस आएको थियो, जसलाई आइसोलेशनमा राखेर निको पारी पठाइयो। यसरी फर्किएकामा फेरि सङ्क्रमण देखियो, जुन जरुरी सावधानी नअपनाउँदाको परिणाम थियो। स्वास्थ्य सावधानीको मापदण्ड बनाए पनि यसको सफल कार्यान्वयनतर्फ कसैको ध्यान गएन। अझै पनि ध्यान गएको छैन।
    हात धुने तरीका, मास्क लगाउने तरीका, सेनिटाइजर प्रयोग गर्दा अपनाउनुपर्ने विधिलगायतका कुराहरू सुन्दा सामान्य लाग्छन् तर जान्ने र सचेत भनिएका व्यक्तिहरू नै अज्ञानतावश गलत तरीकाले प्रयोग गरिरहेका हुन्छन्।
    वीरगंजमा ठूलो सङ्ख्यामा बिहान घरबाट निस्केर साँझको खानालाई कमाउनुपर्ने वर्गका मानिसहरू छन्। उनीहरू प्राण धान्नका लागि पनि कुनै न कुनै रूपमा बाहिर निस्कन्छन्। लुकीछिपी निस्कँदा झन् सङ्क्रमण बढ्ने हुन्छ। उनीहरूको उचित व्यवस्थापन हुनुपर्छ।
    त्यसैगरी, राजनीतिक रवाफले पनि वीरगंजमा कोरोना सङ्क्रमणलाई बल पु–याउने काम भयो।    यहाँका नेताहरू कोरोनाकालमा आफूलाई ‘हाइलाइट’ गर्न तँछाडमछाड गर्न थाले। उनीहरू आवश्यक सावधानी नअपनाइ जनताको बीचमा भेटघाट गर्ने, जनसमुदायमा जाँदा स्वास्थ्य मापदण्ड नअपनाउँदा एक व्यक्तिबाट अर्कोमा सङ्क्रमण झन् फैलिने काम भयो। सङ्क्रमित जनप्रतिनिधिहरूको कन्ट्याक्ट ट्रेसिङले पनि यो कुराको पुष्टि हुन्छ।
    अहिले यहाँ धेरैजसो युवामा सङ्क्रमण देखिएको छ। जुन काम गर्नुहुँदैन भनिन्छ, त्यही काम गर्नुपर्ने युवाहरूको विशेषता नै भएको छ। केही दिन पहिले विभिन्न मागदाबीका साथ वीरगंजका युवाहरूको लगातारको प्रदर्शनले पनि उनीहरूबीचमा सङ्क्रमण फैलिएको देखियो।
    यस क्षेत्रमा सङ्क्रमण फैलिनमा नेपाल–भारत सीमाले मुख्य भूमिका खेलेको सर्वविदितै छ। सीमा सिल छ भन्छौं तर मानिसहरूको आवतजावत भइरहेकै छ। यस्ता नाका धेरै छन्, जहाँबाट मानिसहरू कुनै पनि बेला सहजै  नेपाल छिर्न सक्छन्। भारतबाट दिनहुँ कामदार आएर उद्योगमा काम गर्दै नेपाली कामदारलाई कोरोना सारेको र नेपाली कामदारले आफ्नो परिवार हुँदै समुदायस्तरमा कोरोना प्रसारण गरेको पाइयो।
    पहुँचवालाहरूलाई प्रहरी प्रशासनले पनि अर्थपूर्णरूपमा आँखा चिम्लनु ठुलो भूल भयो। त्यसैगरी आयातित सामान आउँदा सवारीसाधन एवं चालक, सहचालकलाई विसङ्क्रमित पार्ने कार्य झारा टराइमैं सीमित थियो। त्यसैको नतीजा एक महीना अगाडि सुक्खा बन्दरगाहको नमूना चेक गर्दा देखियो। अझै पनि अवस्था उस्तै छ।             त्यसैगरी, महानगरपालिकाले सङ्क्रमण नियन्त्रणका लागि निकै  कोशिश गरे पनि आफ्नोतर्फबाट गर्न सक्ने धेरै कुरामा चुकेको छ। शुरूमा चारजना जमातीमा सङ्क्रमण भेटिएको थियो। त्यसपछि महानगरपालिकाको ध्यान छपकैयामा केन्द्रित भयो। महानगरपालिकाको स्क्रिनिङमा कमी देखियो। जहाँ कोरोना देखिएन, त्यहाँ स्क्रिनिङ गरेको भए ग्रीन एरिया भनेर छुट्याउन सकिन्थ्यो। अर्कोतर्फ महानगरका जनप्रतिनिधि, उच्च पदाधिकारी, कर्मचारीहरू राहत वितरणलगायत कोरोनाविरुद्ध दिनरात खट्दा कतिपय अवस्थामा मास्कसमेत प्रयोग गरेको देखिएन, यस कार्यलाई आँटिलो र बहादुरी गरेको ठानियो, फलस्वरूप सर्वसाधारणले पनि उनीहरूको सिको गर्न रुचाए। परिणाम आज सामुन्ने छ।
    अहिलेको समयमा कोभिडलाई नियन्त्रण गर्ने एउटै बाटो छ, त्यो हो चैन ब्रेक गर्ने। एक पक्षले अर्को पक्षलाई र एक तहले अर्को तहलाई दोषारोपण गर्नुभन्दा सरोकारवाला अधिकारप्राप्त निकायबीच समन्वय गर्दै निषेधाज्ञाको राम्रोसँग पालना गराउने, स्वास्थ्य मापदण्ड हरेक व्यक्तिले कडाइका साथ पालना गर्ने, सङ्क्रमितको उचित व्यवस्थापन गर्ने साथै परीक्षणको दायरा बढाएर सङ्क्रमितको अधिकतम पहिचान गरी एकबाट अर्कोमा सर्न नदिने हो भने अझै पनि नियन्त्रण सम्भव छ। यसमा हरेक नागरिकको भूमिका तथा जिम्मेवारी राज्यकोभन्दा कम छैन भनेर बुझ्न जरुरी छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्