मेडिकल माफियाको सपनामा बज्रपात

171


आरके पटेल, वीरगंज, ६ भदौ/
कोरोना सङ्क्रमितहरूको ज्यान जोगाउन प्रभावकारी मानिएको रेमडेसिविर इन्जेक्शन एक भाइलको मूल्य वीरगंजमा शुक्रवारसम्म ४० हजार रुपैयाँ थियो।
एकजना सङ्क्रमितलाई सामान्यतया ५ भाइल लाग्ने गर्छ। वीरगंजबाट काठमाडौं पुग्दा यसको दाम प्रतिभाइल २० हजार रुपैयाँ बढेर रु ६० हजारमा बिक्री भइरहेको थियो। वीरगंजकै एकजना सङ्क्रमितलाई काठमाडौंमा उपचार गर्दा तीन लाख रुपैयाँको मात्र रेमडेसिविर इन्जेक्शन खरीद गर्नुपरेको सङ्क्रमितका आफन्तजनले बताए।
वीरगंजमा एकजना सङ्क्रमितलाई २ लाख रुपैयाँबराबरको सो इन्जेक्शन खरीद गर्नुपथ्र्यो। आयातका लागि सरकारले अनुमति नदिएको बहानामा मेडिकल माफियाहरूले सो इन्जेक्शन प्रतिभाइल परल मूल्यभन्दा वीरगंजमा ५ गुना र काठमाडौंमा ८ गुना बढी असुल गरिरहेका थिए। औषधि व्यवस्था विभागले रेमडेसिविरको आयातलाई स्वीकृति दिएरपछि सो कुरा प्रकाशमा आएको हो। नेपाली रुपैयाँ ७ हजार ६०० मा रेमडेसिविर नेपालमा आइपुगेको छ। सरकारले सोही परल मूल्यमा बिरामीलाई उपलब्ध गराउने भएको छ।
थोरै समय र कम लगानीमा अकूत सम्पत्ति कमाउने सपना देखेका माफियाहरूको सपना शनिवारदेखि चकनाचुर भएको छ। तर नेपाल सरकारले सो इन्जेक्शनको मूल्य बढीमा ७ हजार ६ सयमा बिक्री गर्ने र तोकिएकोभन्दा बढी मूल्य लिएको पाइएमा कारवबाई गर्ने जनाएको छ। सङ्घीय सरकारको उक्त निर्णयले कालाबजारीहरूको होश गुमेको छ। शनिवार साँझ समाचार स्रोतको दाबी अनुसार वीरगंजका माफियाहरूको गोदाममा रेमडेसिविरको मूल्य घटेर २५ हजारमा आइपुगेको छ। माफियाहरू सङ्क्रमित बढ्यो र अधिकारप्राप्त एजेन्सीले थप इन्जेक्शन ल्याउन सकेन भने फेरि चोर बाटोकै पालो आउने दाउ पर्खेर बसेका छन्।
रेकडेसिविरको कालोबजारी गर्ने वीरगंजमा अहिले ८ जना मेडिकल माफिया सक्रिय रहेको समाचार स्रोतको दाबी छ। उनीहरूले भारतबाट चोरीको बाटोबाट सो औषधि नेपाल भित्र्याइ वीरगंजलगायत नेपालका विभिन्न ठाउँमा पु–याउने गरेका थिए। बिरामीको बाध्यात्मक अवस्थाको फाइदा उठाउँदै माफियाहरूले इन्जेक्शन अति महँगो मूल्यमा दिने गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्