८३० बोरा गुणस्तरहीन दाल नष्ट

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्


प्रस, परवानीपुर, ५ भदौ/
    जिल्ला प्रहरी कार्यालय, बाराले बिहीवार ८३० बोरा गुणस्तरहीन रहर र मसुरोको दाल नष्ट गरेको छ।
    कलैया उपमहानगरपालिका–७ स्थित यादव आइस एन्ड कोल्ड स्टोरबाट बरामद गरिएको ४५० बोरा रहर र ३८० बोरा मसुरोको दाल गरी कुल ८३० बोरा गुणस्तरहीन दाल आगो लगाएर नष्ट गरिएको जिप्रका, बाराले जनाएको छ।
    कोरोना महामारीको समयमा विपन्न, गरीब, असहायलाई वितरण गर्न उक्त दाल कलैया उपमहानगरपालिकाले खरीद गर्दा अनियमितता गरेको सञ्चारमाध्यममा खबर आएपछि बारा प्रहरीले अनुसन्धान शुरू गरेको थियो। सोही क्रममा कलैया उपमहानगरको अखाद्य दाल खरीद प्रकरण छताछुल्ल भएको थियो। वैशाख १० गतेअघि वडाध्यक्षहरूको मिलेमतोमा वडामा खान अयोग्य दाल वितरण गरिएको थियो। कुहिएको दाल वितरण भएको खबर सार्वजनिक भएपछि बारा प्रहरीले वितरण कार्य रोक्का गरी सो दाल सिलबन्दी गरी सोको नमूना परीक्षण गर्न चैत ३० गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडामा पठाएको थियो।
    नेपाल सरकारले तोकेको गुणस्तर अनुरूप रहरको दाल नपाइएको प्रतिवेदन वरिष्ठ खाद्य अनुसन्धान अधिकृत एवं कार्यालय प्रमुख सोमकान्त रिजालले वैशाख २ गते बारा प्रहरीलाई बुझाएपछि कुहिएको दाल खान योग्य छैन भनी प्रयोगशालाबाट प्रमाणित भएको हो।
    खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाको परिपत्र अनुसार कुहिएको रहरको दाल खरीद गरेको अभियोगमा कलैया उपमहानगरपालिकाका प्रमुख राजेशराय यादवसहित १२ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय बाराले कालोबजारी तथा सामाजिक अपराध ऐन, २०३२ अन्तर्गत जिल्ला प्रशासन कार्यालय बारामा वैशाख ५ गते मुद्दा दर्ता गरी आवश्यक कारबाई प्रक्रिया अगाडि बढाएको थियो।
    वीरगंजस्थित धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण शर्मा, यादव आइस एन्ड कोल्ड स्टोरका सञ्चालक रवीन्द्रप्रसाद यादव,  स्टोरका कर्मचारी कृष्णप्रसाद यादव, कलैया उमनपा–१ का अध्यक्ष हरिओम साह सोनार, ७ का अध्यक्ष सरफुल्लाह अन्सारी, ११ का अध्यक्ष सर्वनारायण चौधरी, १३ का अध्यक्ष राजन पटेल, २६ का अध्यक्ष महेश साह र २० का सचिव खेदु मियाँलगायत १२ जनालाई पक्राउ गरी हिरासतमा राखेर मुद्दा अगाडि बढाएकोमा केही दिनपछि धरौटी बुझाएर अधिकांश आरोपी रिहा भएका थिए। तर मुद्दा जिल्ला प्रशासन कार्यालय बारामा चलिरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस