प्रस, जनकपुरधाम, ५ भदौ/
प्रदेश २ मा अहिलेसम्म आठ हजारभन्दा बढी कोरोना सङ्क्रमित भएका छन् भने ५२ जनाको मृत्यु भएको छ।
प्रदेश २ का आठवटै जिल्ला कोरोनाको सङ्क्रमणको चपेटामा परेका छन्। सोमध्ये सबैभन्दा बढी पर्सा जिल्ला मारमा परेको छ। पर्सामा कोरोनाबाट २५ जनाको ज्यान गइसकेको छ भने दोस्रो स्थानमा रहेको धनुषा जिल्लामा नौजनाको मृत्यु भएको छ। त्यसैगरी, बारामा ६, सप्तरीमा ४, रौतहटमा ३, महोत्तरी र सिरहाबाट २/२ र सर्लाही जिल्लामा एकजनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रदेश २ मा बिहीवार अपराह्नसम्म आठ हजार ६३ जना सङ्क्रमित भएका, ३ हजार ९८४ जना उपचार गराइ घर फर्केका छन् भने ३ हजार ८९५ जनाको उपचार भइरहेको छ।
प्रदेश २ मा अहिलेसम्म ८५ हजार ७६४ जनाको स्वाब नमूना सङ्कलन गरिएकोमा ७२ हजार ७८९ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ४ हजार ९१२ जनाको रिपोर्ट आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ।
प्रदेशमा निर्माण गरिएका २१७ वटा क्वारेन्टाइनमा १३ हजार ७४८ वटा शøयाको व्यवस्था गरिएको छ भने १ हजार ३२७ जनालाई क्वारेन्टाइनमा राखिएको छ भने होम क्वारेन्टाइनमा २ हजार १८८, आइसोलेशनमा ४६१ र होम आइसोलेशनमा ७६२ जना बसेका छन्।