विकेट लिए पनि सन्दीपको टोली पराजित

0
389

काठमाडौं, ५ भदौ/रासस
    क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत शुक्रवार बिहान भएको खेलमा सन्दीप लामिछानेले विकेट लिए पनि उनको टोली जमैका तलावाज भने पराजित भएको छ। ट्रिनबागो नाइट राइडर्सविरुद्धको खेलमा सन्दीपले औसत खेल प्रदर्शन गर्दै एक विकेट लिन सफल भए। उक्त खेलमा ट्रिनबागो नाइट राइडर्स विजयी भयो। ट्रिनबागोले सन्दीपको जमैकालाई ७ विकेटले हराएको हो।
    आजको खेलमा पनि सन्दीपले पूरै चार ओभर बलिङ गरेका थिए। उनले ३० रन खर्चेर एक विकेट लिए। नवौं ओभरमा बलिङ गर्न आएका सन्दीपले पहिलो ओभरमा मात्र २ रन खर्चिए। त्यसपछि ११औं ओभरमा बलिङ गर्दै उनले ११ रन दिनुका साथै एक विकेट लिए। उनले ११औं ओभरको पाँचौं बलमा ट्रिनबागोका मुख्य खेलाडी सुनील नराइनलाई पभेलियन फर्काएका थिए। नराइन ५३ रनमा आउट भएका थिए। यस्तै, खेलको १३औं ओभरमा सन्दीपले ७ रन खर्चिए। सन्दीपले १५औं ओभरमा १० रन दिए।
    ब्रायन लारा मैदानमा टस हारेर ब्याटिङ गरेको सन्दीपको टोली जमैकाले २० ओभरमा ८ विकेट गुमाएर १३५ रन बनाएको थियो। १३६ रनको लक्ष्य १८ दशमलव एक ओभरमा ट्रिनबागोले तीन विकेट गुमाएर पूरा ग–यो।
    अब जमैकाले तेस्रो खेल आइतवार दिउँसो गुयाना अमेजन वारियर्सविरुद्ध खेल्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here