बन्द समयको दुरुपयोग

122

    कुनै पनि समस्या आइपर्दा नआत्तिएर शान्त मनले एकान्तमा बसेर सोच्ने हो भने सहज उपायहरू निस्कन सक्छन् भन्ने मान्यता छ। होहल्ला वा भीडभाड नभएको ठाउँमा बसेर सोच्दा राम्रा उपायहरू फुर्ने भएकाले होला परापूर्वकालका ऋषिमुनिहरू तपस्याका लागि एकान्त स्थल रोज्थे। पुर्खाको सिको गर्दै हाम्रो मुलुकका राजनीतिक दलहरूले पनि आक्कलझुक्कल मौका पारेर एकान्तमा बैठक गर्ने गरेका छन्। नगरकोटको होटल, हात्तीवनको रिसोर्ट, सगरमाथा बेस क्याम्प र दूरदराजका गाउँहरूमा बैठक, सम्मेलन सम्पन्न गरेका खबरहरू आइरहेका हुन्छन्।
    मुलुकमा बन्दाबन्दी शुरू भएको ५ महीना पुग्यो। चैत ११ गतेदेखि शुरू भएको लकडाउन विभिन्न चरण गरी हटाइसकेको भनिए तापनि झन् कसिलो हुँदै आएको छ। पछिल्लो चरणमा स्थानीय अवस्था अनुसार जिल्ला, पालिका र वडास्तरले समेत निषेधाज्ञा जारी गरिरहेका छन्। मुुलुकका ७७ जिल्लामध्ये ४१ वटा जिल्लामा पूरै निषेधाज्ञा जारी छ। केही पालिका वा वडामा मात्र निषेधाज्ञा जारी गरिएका सङ्ख्या धेरै हुन आउँछ। पछिल्लोपटक मुलुकमा कोरोनाको कारण मानिसको ज्यानै जान थालेपछि लकडाउन राम्रैसँग पालना भइरहेको छ। मानिस न हो डर कसलाई लाग्दैन, हिजोको दिनमा पसल, व्यवसाय बन्द गरौं भन्दा लुकीछिपी भएपनि खुल्ला गर्न खोज्नेहरू आज पसल सञ्चालन गर भन्दा पनि सटरमा ताला लगाएर फरार भएको अवस्था छ। यसको मतलब लकडाउन तथा स्थानीय निषेधाज्ञा राम्रोसँग पालना भइरहेको छ। सडकमा सवारी चलेको छैन, पैदल यात्रुको सङ्ख्या पनि नगन्य छ, शहरका सडक सुनसान छन्। प्रायः कम्पाउन्ड भएको घरका मूल ढोकामा ताला झुन्डिएका छन्। बाहिर–भित्र आउने–जाने क्रम बन्द छ। वास्तवमा यतिबेला शहर हिजोको गाउँभन्दा पनि सुनसान छ। घनघोर जङ्गल, दूरदराजका गाउँ तथा पहाडको शिखरमा पाउने एकान्तको अनुभूति आज शहरभित्रकै घरहरूमा उपलब्ध भइरहेको छ।
    उसो भए घरमैं बसेर सकारात्मक सोचको विकास हुनुपर्ने हो। हामीसँग धेरै समस्याको चाङ छ। घरपरिवार, समाज र देशका समस्या बग्रेल्ती छन्। समाधानका उपायहरू प्रशस्तै फुर्नुपर्ने हो, तर त्यस्तो केही पनि भएको छैन। सोच्ने स्तर आआफ्नै होला, आफ्नै स्तरको समस्या समाधानका लागि उपाय त फुर्नुपर्ने हो। कोरोनाले ध्यान एकातर्फ तानेको बेला अन्य पक्षबारे सोच्न सकिन्न भन्ने तर्कहरू हुन सक्छन्। समस्या आएपछि नै समाधानका उपायबारे सोच्ने हो। संसारमा अशान्ति तथा मानवबीच विभेदको समस्या चुलिएपछि सिद्धार्थ गौतमले शान्तिको मार्ग पहिल्याएका हुन्। कोरोनाले आक्रान्त पारेको बेला कोठामा बन्द भएर बितिरहेको समयलाई कसरी सदुपयोग गर्न सकिएला भन्नेतर्फ ध्यान जानुपर्ने हो। बालबालिकाको पठनपाठन, शारीरिक अभ्यास, अतिरिक्त क्रियाकलाप, राम्रा पुस्तकहरूको अध्ययन–अध्यापन, घर, टोल, गाउँको सरसफाइ एवं विकास निर्माणका कामहरू जस्ता धेरै कुरा यस अवधिमा गर्न सकिन्छ। तर लकडाउनमा घरझगडा, पारिवारिक हिंसा, सामाजिक सञ्जालको दुरुपयोग, हावा गफ र कुविचार प्रवाह तथा अनावश्यक टीकाटिप्पणी गर्दै अन्ततः अवसादमा पुग्ने काम भइरहेको छ। जसले
गर्दा मानिसहरू कोरोनाको बहानामा आत्महत्या रोजिरहेका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्