प्रस, सेढवा, ४ भदौ/
जीराभवानी गाउँपालिकाले बिहीवारदेखि सामुदायिक सेमिआइसोलेशन सञ्चालनमा ल्याएको छ। वडा नं. ३ मा रहेको बितो महतो जनता मावि जीतपुर–नौकाटोलको भवनमा १० शय्याको सेमिआइसोलेशन सञ्चालनमा ल्याएको हो।
बुधवार गाउँपालिकामा दुईजना स्वास्थ्यकर्मीसहित चारजनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सेमिआइसोलेशन सञ्चालनमा ल्याएको स्वास्थ्य संयोजक सफिकुल अन्सारीले बताए। वीरगंजका कोभिड विशेष अस्पतालमा शय्याको अभाव भएका कारण सेमिआइसोलेशन सञ्चालनमा ल्याइएको र यहाँ चौबीसैं घण्टा स्वास्थ्यकर्मीको निगरानीमा कोरोना सङ्क्रमितको उपचार गरिने संयोजक अन्सारीले बताए। उनले सेमिआइसोलेशनमा कोभिड–१९ का लक्षण नदेखिएका बिरामीलाई राखिने र लक्षण देखिने बिरामीलाई वीरगंजस्थित कोभिड विशेष अस्पतालमा पठाइने संयोजक अन्सारीले बताए।
सेमिआइसोलेशनमा रहेका चारजनामध्ये एकजनामा लक्षण देखिएपछि बिहीवार एकजनालाई वीरगंजस्थित गण्डक अस्पतालमा पठाइएको छ।
प्रस, बिरुवागुठी/
पर्सागढी नगरपालिकाले बिहीवारदेखि कोरोना सङ्क्रमितहरूका लागि सेमिआइसोलेशन सञ्चालनमा ल्याएको छ।
पर्सागढी नगरपालिका–१ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मनवाको भवनमा १५ शय्याको सेमिआइसोलेसन सञ्चालन गरिएको नगर उपप्रमुख अर्चना चौधरीले बताइन्। पर्सागढी नगरपालिकामा कोरोना सङ्क्रमितहरू बढ्दै गएकाले सेमिआइसोलेशन सञ्चालनमा ल्याएको उनले बताइन्। भदौ २ गते पर्सागढी नगरपालिका–९ बडेर्वामा १० जना र वडा नं २ बागवानामा एकजना गरी ११ जना कोरोना सङ्क्रमितलाई सेमिआइसोलेशनमा राख्ने तयारी भइरहेको उनले बताइन्।
पर्सागढी नगरपालिकाका स्वास्थ्य प्रमुख योगेन्द्रप्रसाद पञ्जियारका अनुसार लक्षण नदेखिएका कोरोना सङ्क्रमितलाई स्वास्थ्यकर्मीको निगरानीमा सेमिआइसोलेशनमा राखिने र लक्षण देखिएकालाई वीरगंजस्थित कोभिड विशेष अस्पतालमा पठाउने बताएका छन्।