चौबीस घण्टामा तीनजनाको मृत्यु

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, ३ भदौ/
    कोरोना सङ्क्रमणबाट २४ घण्टाभित्र तीनजनाको मृत्यु भएको छ।
    बुधवार अपराह्न ४ बजे वीरगंज महानगरपालिका–५ रेशमकोठी निवासी सङ्क्रमित एकजना महिलाको मृत्यु भएको छ। अलि अर्थो ट्रमा सेन्टरमा चार दिनदेखि उपचार गराइरहेकी ४० वर्षीया सो महिलाको मङ्गलवार कोरोना रिपोर्ट पोजेटिभ आएको थियो।
    मधुमेहका बिरामी ती महिलालाई श्वासप्रश्वासमा समस्या भएपछि बुधवार बिहान १० बजे अर्थो ट्रमा सेन्टरबाट कोभिड विशेष अस्पताल वीरगंज हेल्थकेयरमा पु–याइएको थियो। त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको वीरगंज हेल्थकेयरका सञ्चालक डा अबुल हैस अन्सारीले जनाएका छन्।
    यसैगरी, कोभिड विशेष गण्डक अस्पतालमा मङ्गलवार राति ८४ वर्षीय कोरोना सङ्क्रमितको मृत्यु भएको छ।
    साउन २७ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि आइसियूमा उपचाररत वीरगंज–४ बिर्ताका वृद्धको मङ्गलवार साढे १० बजे मृत्यु भएको कोभिड विशेष गण्डक अस्पतालले जनाएको छ।
    उनलाई दुई सातादेखि ज्वरो, सुक्खा खोकी र श्वासप्रश्वासमा समस्या थियो। उनको स्वास्थ्यमा गडबडी भएपछि गत साता कोरोना परीक्षण गराउँदा पोजेटिभ देखिएको र गण्डक अस्पतालमा भर्ना गरी उपचार भइरहेको थियो।
    यसैगरी, मङ्गलवार वीरगंज महानगर–१५ का ६० वर्षीय पुरुषको पनि मृत्यु भएको र उनको राति ८ बजे कोरोना रिपोर्ट पोजेटिभ आएको थियो। मृतक दुवैजनाको शव नारायणी र गण्डक अस्पतालमा राखिएको छ। दुवैजनाको शव बुधवार राति दाहसंस्कार गरिने जिल्ला प्रशासन कार्यालय, पर्साले जनाएको छ।
    हालसम्म पर्सामा ३१ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ। पर्साका २३, बाराका ५ र रौतहटका २ जनाको मृत्यु भएको छ। त्यस्तै, गत जेठ ३१ गते घण्टाघरमा एकजनाको बेवारिसे शवको रिपोर्ट  पोजेटिभ देखिएको थियो। पर्साका २३ जनामा दुर्ईजना भारतीय नागरिक छन्।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस