विवादपछि भेडाहा खोलाको टेन्डर प्रक्रिया रोकियो

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, ३ भदौ/
    वीरगंज महानगरभित्र पर्ने भेडाहा खोलाको टेन्डरको विषयमा विवाद भएपछि बुधवार बेलुकासम्म टेन्डर प्रक्रिया अगाडि बढ्न सकेको छैन।
    काठमाडौंबाट प्रकाशित हुने नेपाल समाचारपत्रमा साउन ५ गते सूचना प्रकाशित गरेर सूचना लुकाएको भन्दै विवाद भएको र बुधवार दिउँसो २ बजे खोलिने भनिएको टेन्डर प्रतिनिधिहरूको अनुपस्थितिका कारण रोकिएको थियो।
    यस विषयमा बुधवार दिउँसो ४ बजे राजस्व फाँटका अधिकृत रामदयाल यादवसँग बुझ्दा दुई बजे टेन्डर खोलिने समयसम्म प्रतिनिधिहरू नआएकाले टेन्डर प्रक्रिया रोकिएको बताए। मङ्गलवारसम्म ११ वटा संस्थाले टेन्डर खरीद गरेकोमा ५ वटा मात्र टेन्डर प्रक्रियामा सहभागी भएको यादवले बताए। रु ३८ लाख १० हजार न्यूनतम मूल्य तोकी साउन ५ गते सूचना प्रकाशित भएकोले प्रक्रिया रोक्न नमिल्ने उनको भनाइ थियो। कोभिड–१९ सङ्क्रमणका कारण वीरगंजको अवस्था बिग्रिंदै गएकोले टेन्डर प्रक्रियामा प्रतिनिधिहरू सहभागी नभएको यादवले बताए।
    जिल्ला समन्वय समिति, पर्साका प्रमुख नेक महम्मद अन्सारीले भेडाहा खोलाको टेन्डर प्रक्रियामा त्रुटि भएकोले रोक्न निर्देशन दिएको बताए। उनले महानगरले काठमाडौंबाट प्रकाशित हुने पत्रिकामा सूचना प्रकाशित गरेर सूचना लुकाएको आरोप लगाए। उनले आफू महानगरपालिकामा पुगी टेन्डर प्रक्रियामा सहभागी नभएको जानकारी गराएको र यस विषयमा प्रमुख जिल्ला अधिकारी आसमान तामाङलाई जानकारी गराएको बताए।
    महानगरले गत आव २०७६/७७ मा सो खोलाको टेन्डर तीन महीनाका लागि रु ९१ लाख र आव २०७५/२०७६ मा एक वर्षको लागि रु १ करोड ४५ लाखमा टेन्डर बिक्री गरेको थियो। तर चालू आवमा ९ महीनाको लागि रु ३८ लाख १० हजार न्यूनतम मूल्य तोकेकोले टेन्डर प्रक्रियामा अनियमितता भएको महानगरपालिकाका कर्मचारीहरूको भनाइ छ।
    कोरोना सङ्क्रमणको कारण नगरप्रमुख विजयकुमार सरावगीसहित केही उच्च अधिकारी आइसोलेट रहेका अवस्थामा केही कर्मचारीको मिलेमतोमा टेन्डर खोल्न लागिएको छ।
    अधिकांश अधिकारीले टेन्डर सूचनाबारे थाहा नभएको प्रतिक्रिया दिएका छन्। यसमा महानगरको सचिवालयका कर्मचारीहरूले बदमाशी गरेको हुन सक्ने अन्य कर्मचारीहरूको भनाइ छ।
    समाचार स्रोतका अनुसार रु ४१ लाख ९१ हजारमा सरस्वती निर्माण सेवालाई यसपालिको टेन्डर दिने सबै प्रक्रिया मिलाइएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस