प्रस, सर्लाही, ३ भदौ/
     सर्लाही जिल्लाको हरिपुर नगरपालिका १५ दिनसम्मका लागि सिल  भएको छ।
    हरिपुर नगरपालिकामा कोभिड–१९ का सङ्क्रमितहरूको सङ्ख्या बढ्न थालेपछि नगरपालिकाले सूचना जारी गर्दै बुधवारदेखि १५ दिनसम्मको लागि सिल गरेको हो। नगरपालिकाले मङ्गलवार सूचना जारी गर्दै नगरभित्रका अत्यावश्यक सेवाबाहेकका अन्य सेवाहरू बुधवारदेखि १५ दिनसम्मको लागि बन्द गर्ने निर्णय गरिएको हरिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयप्रसाद देवकोटाले बताए।
    हरिपुरमा मङ्गलवार २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो। कोरोना सङ्क्रमितहरू सबै समुदायकै व्यक्ति तथा कर्मचारी र जनप्रतिनिधि रहेको हुँदा नगरपालिकालाई १५ दिनसम्मको लागि सिल गर्नुपरेको प्रशासकीय अधिकृत देवकोटाले बताए।
    नगरपालिकाले नगर क्षेत्रभित्र थप सङ्क्रमण फैलिन नदिन औषधि र ग्यासबाहेकका अन्य सबै प्रकारका पसल, दैनिक तथा साप्ताहिकरूपमा लाग्ने हाटबजार, बैंक तथा वित्तीय संस्थाहरू, बीमा कम्पनीका शाखा तथा उपशाखा कार्यालयहरू, सबै प्रकारका उद्योग तथा कलकारखाना, अत्यावश्यकबाहेक सरकारी तथा गैरसरकारी कार्यालयहरूबाट उपलब्ध हुने सेवाहरू हरिपुर नगरपालिका क्षेत्रभित्र भदौ ३ देखि लागू हुने गरी भदौ १७ गतेसम्म बन्द गरिएको अधिकृत देवकोटाले जानकारी दिए।
    यसअघि जिल्लाका लालबन्दी नगरपालिका, हरिवन नगरपालिका, कविलासी नगरपालिका, गोडैता नगरपालिका, मलङ्गवा नगरपालिका र चन्द्रनगर गाउँँपालिकाले आआफ्नो क्षेत्रमा निषेधाज्ञा शुरू गरिसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here