सत्यमोहन र अरनिको

 –शीतल गिरी  
    नेपाली साहित्य, संस्कृति र इतिहासका अग्राख हुन्– सत्यमोहन जोशी। उनीप्रति आस्था राख्नुको कारण के हो भनी मलाई सोधेमा मेरो जवाफ हुनेछ– उनका केही कृतिबाहेक मेरो दोहोरो सम्पर्क छैन। हो, उनका कृतिबाट जति चिन्न सकें, त्यो नै पर्याप्त हो मेरालागि। तीन–तीनपटक मदन पुरस्कार प्राप्त गरेको कुराले पनि मलाई छोएको छैन, नेपाली मुद्राको गहन अध्ययन र कर्णालीको इतिहास खोजी कार्यप्रति भने पक्कै आस्था छ। नेपाली कलाकार अरनिको जसले विदेशी भूमिमा अद्वितीय सुवर्ण चैत्य, श्वेत चैत्य बनाएर नेपालको मौलिक शैली पगोडालाई उच्च स्थान दिलाई विशिष्ट बने। ती विशिष्ट कलाकारको चर्चा नेपालमा त थिएन, नेपालको इतिहासले सम्झेको पनि मलाई थाहा छैन। त्यो अनुपम चित्रकला, विश्वलाई विमोहित पार्ने पगोडा शैली र अद्वितीय सुवर्ण चैत्य बनाउने कलाकारबारे नेपालको कुन वंशावलीले, शिलालेखले अथवा लेख्यले चर्चा गरेको छ ? वास्तवमा अध्ययनशील सत्यमोहन जोशीले चीन भ्रमण गरी नेपाली कला पहिचान गरी, महान् कलाकार अरनिको नेपाली भएको प्रमाण उपलब्ध गराए। म सत्यमोहन जोशीबारे धेरै कुरा जान्दिनँ। यसो भएको हुँदा मबाट उनको अति मूल्याङ्कन पनि हुनेछैन। बाटोमा पैदल हिंडिरहने, कार्यक्रमहरूमा भेट भइरहने, शताब्दीवय पुग्न लागेका, पातलो शरीर, अग्लो नेपाली टोपी कहिल्यै नछाड्ने। कमीज सुरुवालमा सजिएको शून्यमा केही खोजिरहने, हँसिलो मुहारको स्पष्ट वक्ता– त्यो व्यक्तित्व अहिले मेरो सम्मुख भएको अनुभव गर्दैछु।


    अरनिको अत्यन्त सम्पन्न सुख सुविधाले परिपूर्ण चीन देशको दरबारमा आरामसाथ थिए। उनका वरिपरि नोकर–चाकर, धाई–सुसारे र अरू अङ्गरक्षक पनि हुन्थे। चीनमा बादशाहपछि सम्मान पाउने उनीमात्रै हुन्। उनी बाहिर निस्कँदा अत्यन्त सिङ्गारिएको १६ घोडे बग्गीमा बस्ने व्यवस्था मिलाइएको हुन्थ्यो, बग्गीपछाडि पहिले आठ घोडे बग्गी त्यसपछि चार घोडे बग्गी अनि पैदल १० जना सिपाही हातमा तरबार लिएर हिंडिरहेका हुन्थे। उनको बग्गीअगाडि पनि त्यसैगरी चार घोडे बग्गी र त्यसपछि ८ घोडे बग्गी हुन्थ्यो।
    अरनिकोको जन्मताका शासक खलकमा सत्ताको लागि सङ्घर्षले राज्य लथालिङ्ग भएको थियो। त्यसमाथि पश्चिमका खस र दक्षिणका डोयको खतरनाक आक्रमणले देशलाई जर्जर पारेको थियो। बिहान चाँडै उठेर नुहाएर पूजापाठ गर्नु र दरबार जानु, राजकाजमा परेका अ–हाएका काम गर्नु, यही थियो अरनिकोका बुबा मतियारको काम। त्यस बेलाका राजा ठकुरी र लिच्छवी वंशबाट प्रादुर्भाव भएका भएपनि जातपात, छुवाछूत त्यति धेरै चलेको थिएन तर केही कट्टर र जातपातका समर्थक थिए।         अरनिकोलाई चीनका सम्राट्ले चीनको सबैभन्दा ठूलो दर्जाको सम्मान दिएपछि उनको परिवारसँग रिस गर्ने र बरोबर दुःख दिने काम गर्ने एकजना छिमेकी चीन आएर उनीसँग माफी मागी फर्केका थिए। अरनिकोको जन्मताका घरमैं कपडा बुनेर लगाउने चलन थियो तर उनको परिवारमा कपडा बुन्ने सामान नभएको हुँदा केही समयसम्म त उनलाई आमाले पुरानो थाङ्नामा राख्नुपरेको थियो। गाई–भैंसी र आमाको दूध खाएर हुर्केका अरनिको, अलि ठूलो भएपछि पीठोको आहार खान थाले।   
    चीन यात्रामा निस्केका सत्यमोहन जोशीले त्यहाँको माटोमा नेपाली गन्ध पहिचान गर्न सकेका हुँदा मजस्तो बबुरोले यी पङ्क्ति कोर्न पाएको हुँ। सत्यमोहन जोशीको रगतमा राष्ट्रभावको प्रभाव र प्रेरणा प्रवाहित छ। उनले आफ्नो जीवन नेपालको इतिहास, संस्कृतिको गौरव अध्ययन अन्वेषणमा समर्पण गरेका छन्। अन्वेषक जोशीको इतिहास र संस्कृति सम्बन्धी ज्ञानको र विद्याको स्वरूप देखेर म अभिभूत भएको छु।   
    सत्यमोहन जोशीलाई म सम्मान गर्छु। उनी के हुन् ? उनको रचनामा नडुबेसम्म बुझ्न सकिन्न। उनको विद्वताको कदर गर्नुको साटो पञ्चायती सरकारले खाइपाइ आएको जागीर पनि खोसिदियो। मलाई यति थाहा छ, जब उनले अवसर पाए, भत्ता मात्र पचाएर बसेनन्, नेपाली इतिहास र संस्कृतिलाई धनी बनाउन अन्वेषण गरे।
    किशोरवयका अरनिको एक दिन घुम्दै स्वयम्भू थान पुगेर राम्ररी हेरेपछि घर आएर माटोको त्यस्तै स्वयम्भू चैत्य बनाइदिए। एक रात अरनिकोको भेट तिब्बतबाट नेपाल दर्शनार्थ आएका भिक्षु भद्रवाहुसँग अशोक स्तम्भको सानो गुम्बामा भयो। पन्ध्र वर्षको कलिलो अरनिकोको प्रतिभाबाट अत्यन्त प्रसन्न भएर उनका कलाका नमूना लिएर तिब्बत लाने कुरा गरे। अरनिको तिब्बत जाने भएपछि उनलाई बिदा गर्न उनको घरको ढोकामा दुईवटा सिङ्गारिएका माटाका घडा राखिएका थिए। उनकी आमा र बुबा ढोकाबाहिर र पत्नी एउटा कुनामा उभिएर सुँक्कसुँक्क गरिरहेका थिए भने सानासाना केटाकेटी वाल्ल परेर हेरिरहेका थिए। अरनिको कुम्लो–कुटुरो बोकेर ढोकामा पुग्दा आमा पनि सुँक्कसुँक्क गर्न थालिन्। पन्ध्र वर्षको कलिलो बालक तीन महीना लगातार कसरी हिंड्न सक्छ भनेर आमालाई माया लाग्नु स्वाभाविकै हो। मायाले कसैले कसैलाई आफूबाट टाढा पठाउन चाहँदैन। अरनिकोको आँखाबाट पनि आँसु खस्यो, लुगाको फेरले आँसु पुछे र एक छिन अल्मलिए। त्यसपछि सम्हालिएर आमालाई समातेर हाँस्दै अनेकौं कुरा सम्झाएर चित्त बुझाए। आमाले साइतको टीका लगाइदिएपछि कुम्लो बोकेर घरबाट निस्किए।
    तिब्बत र चीनमा अरनिकोले बनाएको कला हाम्रो हो। सो इतिहासप्रति हामी अनभिज्ञ थियौं। अन्वेषक सत्यमोहन जोशीले नेपालीपन चीनमा रहेको पगोडामा खोजे, उपलब्ध प्रमाणले नेपालको छोरो अरनिकोले बनाएको चैत्य नेपाली कला हो भनी संसारलाई जाहेर गर्न अत्यन्त गम्भीर भएर लागे। म विश्वस्त छु– नेपाली पगोडा शैली तिब्बत, चीन हुँदै जापान, कोरियालगायत देशमा फैलिएको हो। म अन्योलमा उभिएको थिएँ। दोबाटोमा पुगेर रोकिएँ। म अरनिकोलाई पहिचान गराउने सत्यमोहन जोशीबारे लेख्दैछु तर मेरो लेखन स्रोत के हो ? म के लेख्दैछु ? म सृजना गर्ने ऊर्जा कहाँबाट प्राप्त गर्दछु ? मलाई यस चिन्ताले छोपेको छ। कलाका पारखी सत्यमोहनको नेपाली कलाप्रतिको आस्थाले अरनिकोको सत्य प्रकट भयो। जुन कुरो नेपालको इतिहासमा छँदै थिएन, त्यो लेखिन पुग्यो। आस्थाको लागि आवश्यक छ, अझ अनिवार्य छ– गहन अन्वेषणको। आज अरनिको महान् कलाकार हाम्रा हुन् भनी छाती फुलाउँछौं, यो त सत्यमोहन जोशीको आस्थाको उपलब्धि हो। अर्थात् त्यस गहन अन्वेषणले जसको कुनै प्रमाण, सङ्केत नेपालमा थिएन– उजागर ग–यो। आस्थाले यस किसिमबाट अरनिको रूपमा प्रतिष्ठा प्राप्त ग–यो, स्वयम् सत्यमोहन जोशी पनि अग्राखमा परिणत भए। गहन अन्वेषणविना सत्य उजागर गर्न सकिन्न, इतिहास पुरुष जो कोही बन्न सक्दैन।  
    एकजना मित्रले भनेका थिए, महान् कलाकार अरनिको कुनै कला नेपालमा छ ? म ती मित्रको तर्कको अभिनन्दन गर्दछु। जसले यस भूमिमा कुनै अद्वितीय कला दिएकै छैनन्, त्यस्तालाई महान् कलाकार कसरी भन्ने ? तर उनको कला जहाँ भएपनि त्यसमा नेपालीपन त छ। यथार्थमा अद्वितीय र अद्भुत कला अरनिकोका हुन्। तर कला नेपालबाट गएको अवास्तविक होइन। चीनका राजाले राजकीय सम्मान दिएको चिनियाँ इतिहासमा लेख्य प्रमाण छ। अरनिकोका धेरै गुण थिए, धेरै नाम भयो, धेरै सम्मान प्राप्त भयो, कलाका पारखी चिनियाँ राजाले कलाको कदर गरे। यो सत्यलाई नकार्न सकिन्न। त्यही सम्मान र सुखले अरनिको जन्मभूमि फर्कन पाएनन्। यस कुरामा विचार गर्दा– नेपाली इतिहासले सम्झन नसकेको कला नेपालीय हो भनी सत्यमोहन जोशीले यथार्थ खोले। गहन अन्वेषणको सफलता यसैलाई भनिन्छ।
    हिंड्दै जाँदा अरनिको काठको पुलबाट अरुण नदी तरेर तिब्बतको साक्या चैत्यमा पुगे। साक्या चैत्य नदीकै किनारमा थियो र सँगै रहेका भिक्षु भद्रबाहुले कामबारे बताएपछि त्यो रमाइलो गाउँमा साथीहरूसहित दुई वर्षसम्म मरम्मत सम्भारको काम गरे। साक्या चैत्यमा ध्यान गर्ने मानिस बस्थे। बौद्ध धर्मदर्शन अन्तर्गत गरिने ध्यानबाट चिनियाँ र तिब्बती ज्यादै प्रभावित भएकाले यो चैत्यको महिमा र ध्यानको उपलब्धि धेरै ठाउँमा फैलिएको थियो। अगाडि दिग्विजय गर्दै गएका चङ्गेज खाँसमेत यो साक्या चैत्यको ध्यान प्रक्रियाबाट प्रभावित भएका रहेछन्। यस्तो ठाउँमा गएर कान्तिपुरवासी अरनिको सालाखाला दैनिक १३ घण्टा निरन्तर काम गर्थे। उनको कामबाट प्रभावित भएर स्थानीय युवतीले विवाहको प्रस्ताव ल्याइन्, सौहार्दपूर्ण वातावरणमा विवाह भयो। त्यसपछि उनलाई अलिकति सुविधा पनि भयो।  
    अरनिकोले तिब्बत र चीनमा सृजना गरेको कला पुष्पित–पल्लवित भएको हुँदा आज हामी हाम्रो कलाकारले बनाएको हो भन्न सक्छौं। हाम्रो हो भन्न सक्ने गरी अन्वेषण हुन सकेको थिएन र कुनै सम्भावना थियो कि थिएन भनेर म किटान गर्न सक्ने हैसियतको पनि होइन। अरनिकोको सूक्ष्म अन्वेषण जोशीले गरे र त्यसको व्याख्या गर्न लागेको पनि हैन मैले। अरनिकोजस्ता महान् कलाकार विदेशिनु भनेको हाम्रो कलामा, सभ्यतामा आएको ठूलो हानि हो। महान् कलाकार विस्थापित गराउने त्यस समयलाई आजको समयले सराप्दैछ। आज हामीले महान् अन्वेषक सत्यमोहन जोशीको उचित कदर र सम्मान गर्न सकेनौं भने भोलिले हामीलाई पक्कै  सराप्नेछ। राजनीतिक जडताको भयले, जातिवादको भयले, आफ्नै घरको गहना फुकालेर फ्याँक्दै छौं। सङ्कीर्ण सोचले प्राचीन ज्ञानस्रोतको कदर गर्न जानेनौं।   
    मैले यसरी लेख्दा कसैलाई कस्तो कस्तो लाग्न सक्छ। तर अरनिकोलाई चिनाउने उद्गम सत्यमोहन ज्ञानमा मात्र हैन यथार्थमा जिज्ञासु पनि हुन्। उनमा दृढ उद्घोष पाइँदैन, नम्र भनाइ राखिएको पाइन्छ। उनको अन्वेषणमा वाग्मी तर्क पाइँदैन, खँदिलो तर विनयपूर्वक तथ्य प्रकट हुन्छ। उनीबाट प्रभुता होइन, साहित्य प्राप्त हुन्छ। खबर होइन लोप हुन लागेको, भएको इतिहास, संस्कृतिको खोजी गर्छन् उनी।   
    साक्या गुम्बा मरम्मतपछि अरनिकोले कल्पना गरेर स्वर्ण चैत्य निर्माण गरे, त्यसबाट सारा मानिस अत्यन्त प्रभावित भए। एक दिन बौद्ध धर्मगुरु बास्पका प्रवचन गरेर उठेपछि अरनिकोले उनको आसनमा उड्न लागेको जस्तो अद्भुत चित्र बनाइदिए। धर्मगुरु वास्पकाको शब्दमा– “अरनिकोलाई यस्तो वरदान दैवले नै दिएका हुन्। अद्भुत चित्र र साक्या चैत्यसँग स्वर्णचैत्य बनाएपछि अरनिकोको नाम चीनसम्म पुगेको हुँदा बादशाह कुबलै खानले उनलाई लिन पठाए। अरनिकोले आफ्नो योग्यता, क्षमता श्वैत चैत्य बनाउन लगाए। त्यसपछि त अरनिकोलाई प्रधानमन्त्री सरहको सम्मान प्रदान गरियो। नेपालमा त्यस्तो सम्मानको हकदार वर्तमानमा सत्यमोहन जोशी छन् तर कला प्रतिभाविहीन शासक भएको हुँदा  अपेक्ष्Fित सम्मान पाउन सकेका छैनन्।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here