खोइ विपन्न लक्षित पत्रकारिता ?

127


सञ्जय साह मित्र
अहिले कोरोना (कोभिड–१९)ले आतङ्कको रूप लिएको छ। देशको आधाभन्दा बढी जिल्लामा पूर्ण वा आंशिक निषेधाज्ञा छ। अहिले राजधानीमा पनि निषेधाज्ञा जारी भएको छ। यस्तो अवस्थामा देशको विकास निर्माणले खासै गति लिन सकेको छैन। शिक्षामा लकडाउन छ, अन्तर्राष्ट्रिय सिमाना बन्द छ, उडानहरू रोकिएका छन्, आन्तरिक यातायात पनि ठप्प अवस्थामा छ। यसरी देशभर घोषित वा अघोषित लकडाउन रहेको स्पष्ट छ। कोरोनाले वास्तवमा देशका सबै क्षेत्रलाई प्रभावित पारेको छ। सङ्क्रमण निरन्तर बढ्दै गइरहेको वर्तमान सन्दर्भमा लकडाउन वा निषेधाज्ञा नै अचूक उपाय हो कि अन्य पनि उपाय छन् ? यसको खोजी हुनुपर्छ। कोरोनाको उपचारको खोजी पनि जरुरी छ। अहिले भारत, चीन, रूस र अमेरिकाबाट कोरोनाविरुद्ध खोप तयार गर्न सफलता प्राप्त हुनै लागेका खबरहरूले केही उत्साह थपेको छ। रूसमा त खोप उत्पादनको लागि अरू देशले आदेश दिइसकेको समाचार पनि आएको छ। यदि यो साँच्चै सफल हुन पुग्यो भने निकै सकारात्मक खबर हुनेछ। भारत, चीन, अमेरिका र रूसमा भइरहेका प्रयासका साथै अन्य देशमा पनि यस्तो प्रयास भइरहेको सुनिएको छ। यस्ता समाचार सुन्ने वा पढ्नेहरूले के विश्वास लिइरहेका छन् भने यो वर्षको अन्त्यसम्म कोरोना भाइरसविरुद्ध खोप प्राप्त हुनेछ। संसारमा विभिन्न देशका प्रयासले खोप आविष्कार भएर मानिसले कोरोना सङ्क्रमणबाट बाँच्न पाउने विश्वास त जागेको छ तर त्यसपछि के हुने ? अझै अलमल छ।


नयाँ खोपले कोरोना सङ्क्रमण भइसकेकालाई कोरोनामुक्त गराउने चर्चा छ। कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि खोप लगाउँदा कोरोनाबाट निर्मूल भइन्छ र शरीर कोरोना भाइरसमुक्त बन्दछ। तर कोरोना लाग्नै नदिने किसिमको खोप आइरहेको छ ? खोप लगाइसकेपछि फेरि कोरोना सङ्क्रमण हुने कि नहुने ? अथवा एकपटक कोरोना लागिसकेको मानिसले खोप लिइसकेपछि निको हुँदा उनलाई फेरि कोरोना सङ्क्रमण हुन्छ कि हुँदैन ? दोहो–याएर कोरोना भाइरसको सङ्क्रमण देखा प–यो भने फेरि कोरोनाले महामारी फैलाउला। कोरोना सङ्क्रमण महामारीको रूपमा फैलनै नदिने किसिमले, प्रयोगको चरणमा रहेका खोपहरूको भूमिका रहने छ कि ? जरुरी त के पनि छ भने कुनै व्यक्तिमा कोरोना सङ्क्रमण देखा परेपछि ऊ निको होस् र स्वस्थ भएर सामान्य जीवनयापन गरोस्, साथै उसबाट अरूमा नसरोस्। खोपले यदि यस किसिमको काम गर्दछ भने मानिसबाट मानिसमा सर्ने यस महामारीमाथि धेरै हदसम्म विजय प्राप्त भएको घोषणा गर्न सकिन्छ। जे भएपनि खोप सफल भयो भने मानिस अब यस रोगबाट मुक्ति पाउने यात्रामा हिंडिरहेको छ भन्ने आशा गर्न सकिन्छ।
संसारको प्रयास सराहनीय छ। मानव समुदायमाथि आएको विपत्ति हटाउन सकेसम्म सबैले प्रयास गर्नु पनि पर्दछ। सक्ष्Fम देशहरूले गरिरहेका छन्। वैज्ञानिकहरू लागिपरेका छन्। तर यस अवस्थामा विपन्न समुदायको अवस्था कस्तो छ ? सीमान्तकृत नागरिक कसरी बाँचिरहेको छ। काम नगरी बिहान–बेलुकी छाक टार्न गा–हो हुने परिवारको व्यथा कस्तो छ ? यस विषयमा धेरैको ध्यान जान सकेको छैन। अहिलेको समय सामान्य त होइन। वास्तवमा असामान्य अवस्थामा अतिविपन्नको जिन्दगी कसरी चलेको छ भनेर कसले हेरिदिने ? कसले बुझिदिने ? पत्रकारितालाई बोल्न नसक्नेको बोली भनिन्छ, आवाजविहीनको आवाज भनिन्छ। अहिलेको अवस्थामा कोरोना सङ्क्रमण कुन शहर तथा कुन गाउँमा के कतिजनामा देखा प–यो र कहाँ कसरी फैलियो भन्ने कुरामा सञ्चारमाध्यम बढी केन्द्रित भएको पाइन्छ। राजनीति र राजनीतिक सवालमा त सधैंझैं सदाबहार प्रथम पृष्ठ वा मुख्य खबर सञ्चारमाध्यममा छँदैछ। कोरोना र राजनीतिमा बढी केन्द्रित भएको वर्तमान आमसञ्चारमा, यस महामारीबाट प्रभावित अतिविपन्न समुदायको अवस्थाबारे निकै कम लेखिएको छ। खान–लाउन मुश्किल हुने वर्गका मानिसको समस्याबारे खासै ध्यान जान सकेको पाइएको छैन वा जति मात्रामा पुग्नुपथ्र्यो, त्यति पुग्न सकेको छैन। कोरोनाबाट प्रभावितले सञ्चारमाध्यममा स्थान पाउनु स्वाभाविक हो तर निमुखाहरूको आवाजलाई पनि मुखरित गर्नु आवश्यक छ।
ठेला चलाएर आजीविका कमाउनेहरू, अर्काको पसलमा काम गरेर दैनिक गुजारा गर्नेहरू, दैनिक ज्यालादारीमा कुनै उद्योगमा काम गर्नेहरू, सडकछेउ पसल थापेर परिवार पोषण गर्नेहरू, भुजा–पकौडालाई आजीविकाको साधन बनाएकाहरू कति धेरै समस्यामा होलान् ? गाउँको बोर्डिङ स्कूलमा मासिक पाँच–छ हजार रुपैयाँमा महीनाभर काम गरेर, केही विद्यार्थीलाई ट्युशन र कोचिङ पढाएर आजीविका चलाउने शिक्षक, कुनै उच्च माध्यमिक विद्यालय वा क्याम्पसमा दैनिक ज्यालादारीमा पढाएर जीवन धान्ने उच्च शिक्षितहरू, दैनिक ज्यालादारीमा काम गर्ने विद्यालय कर्मचारी, दैनिक ज्यालादारीका गेटपाले तथा स्वीपरहरूको हालखबर कस्तो होला ? शिक्षालयभित्र सानोतिनो क्यान्टिन चलाएर परिवारको पेट पाल्नेहरूले अहिले कसरी आफ्नो दुई छाकको व्यवस्था गर्दै होलान् ? बसमा यात्रा गर्नेहरूलाई मकै भुटेर बेच्नेहरू, बसमा नरिवल तथा पानी बेचेर गुजारा गर्नेहरू, साना रूटमा बस वा माइक्रो तथा यस्तै साना सवारीसाधनको टिकट काटेर कमिशनबाट गुजारा गर्नेहरू यस कोरोना महामारीले पाँच महीना बिताउन लाग्दा कसरी पेट पालिरहेका छन् ? यी र यस्तामध्ये कतिपयले त राम्रैसित गुजारा गरिरहेका होलान्, कतिपयलाई चाहिं समस्या भएपनि अन्य स्रोतबाट निर्वाह गरिरहेका होलान् र कतिपय चाहिं अत्यन्तै पीडामा पो छन् कि ? लगातार काम नपाउँदा घरपरिवारमा कष्ट पो थपिएको छ कि ? अहिलेको पत्रकारिताले यस्ताको खोजी गर्नुपरेको छ र तिनका समस्या, पीडा बाहिर समाजमा ल्याउनुपरेको छ।
रोजगार गुमाएर रोटी खान वञ्चित भएकालाई सञ्चारमाध्यमले खोजेर बाहिर ल्याउने हो भने यसबाट दुईवटा फाइदा हुने देखिन्छ। प्रथमतः आफ्नो पीडा सुन्ने कोही छ भनेर ढाढस हुन्छ। सञ्चारमाध्यममा यस्ता पीडितका कुरा बाहिर आएपछि सहयोगी हात निस्कन्छन्। त्यस्ता पीडितलाई सहयोग पुग्छ। तिनको घाउमा मलम लाग्छ। हुनत कसैले सहयोग प्राप्त गर्दा आवश्यक नभएका पनि माग्न आइपुग्छन्। तर वास्तविक पीडितसम्म सहयोगी हात पुग्न सक्छ। दोस्रो फाइदा सम्बन्धित सरकार (स्थानीय, प्रदेश तथा केन्द्र)को ध्यानाकर्षण हुन्छ र त्यस्ता व्यक्ति वा वर्गलाई सहयोग पुग्ने तथा त्यस किसिमको समस्या समाधान हुने गरी नीति तथा कार्यक्रम ल्याउन, योजना बनाउन र कार्यान्वयन गर्न मार्ग निर्देशन प्रFप्त हुन्छ। अतिविपन्न वा अत्यन्त कठिन समस्यामा परेकाहरूलाई पत्रकार वा सञ्चारमाध्यमले गर्ने भनेको उनको वास्तविकता समाजसमक्ष प्रस्तुत गर्ने हो। होला, कसैलाई एकपटक सुन्दा खासै संवेदनशील नलाग्ला तर यही वा यस्तै कुरा अनेकपटक आउने हो भने वास्तविकता बुझ्न र सहयोग गर्न अगाडि आउन थाल्छन्, सहयोगी हातहरू। पत्रकारिताले आफ्नो धर्म निर्वाह गरेपछि अन्य वर्ग पनि धर्म निर्वाह गर्न बाध्य हुन्छ। नैतिक दबाब पर्छ र त्यसले वास्तविक पीडितलाई केही हदसम्म भएपनि सन्तोष दिन्छ।
पत्रकारिता आफैंमा जोखिमपूर्ण पेशा हो। यो सोख वा लहडको भरमा हुने पेशा होइन। आफ्नो पीडा र समस्या लुकाएर अरूको पीडा र समस्या उजागर गर्नुपर्दछ। सञ्चारमाध्यमले सम्बन्धित क्षेत्रको मात्र समस्या प्रस्तुत गर्दछ भन्ने अवधारणा जनस्तरसम्म परिवर्तन भइसकेको छ। अब समाधानको लागि सुझाव दिनुपर्छ भन्ने अपेक्षा गरिन्छ। दैनिक गुजारा चलाउन अत्यन्त समस्यामा परेका परिवारका समस्याको मूल कारण के होला र वर्तमान परिवेशमा कसले के गरिदिंदा राम्रो हुन्छ भन्ने प्रश्न पनि उचित लागेसम्म पीडितलाई सोध्ने हो भने धेरै हदसम्म तिनीहरूको समस्या, अपेक्षा तथा समाधानको उपाय आउन सक्छ। हैन भने सञ्चारकर्मीले आफूले देखेको समाधान आफ्नो खबरमा सँगसँगै प्रस्तुत गर्नुपर्दछ। अहिले कोरोना सङ्कट छ र यसले अन्य सङ्कट पनि ल्याएको हुनुपर्छ। जसरी भूकम्प आयो र गयो तर त्यसको असर अझै स्पष्ट देख्न सकिन्छ। यसैगरी, अतिविपन्न परिवारमा के कस्तो समस्या खडा भएको छ, त्यस धरातलमा थप कस्तो समस्या उम्रिने सम्भावना छ ? त्यसको न्यूनीकरण कसरी गर्न सकिन्छ ? जस्ता पक्ष र प्रश्नमाथि पनि विचार गर्नुपरेको छ। स्थानीय तह प्रमुख, उपप्रमुख र वडाध्यक्षका मुख्य क्रियाकलापमा मात्र केन्द्रित रहनुभन्दा खोजतलाश गरेर, थोरै परिश्रम गरेर विपन्न वर्गका समस्या बाहिर ल्याउने काममा सञ्चारकर्मीहरूले आफ्नो समयको केही अंश र सञ्चारमाध्यमहरूले प्रकाशन–प्रसारण गर्न केही अंश लगानी गर्नु आवश्यक भइसकेको छ।
एक अतिविपन्नको मार्मिक कथन यस्तो छ– “देशमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र आयो। सङ्घीयता आयो। के के बदलियो भन्दछन् तर हामी त जहाँको त्यहीं छौं। कोरोनाले मर्नु न बाँच्नु बनाएको छ। कोरोनाले गरीबलाई अब बाँच्न देला जस्तो छैन।” हो पनि यो वर्ग कोरोनाले मरेन भने भोकले अवश्य मर्नेछ। यस्ता विपन्न वर्गका समस्याप्रति खोइ सञ्चारमाध्यम केन्द्रित हुन सकेको ? खोइ विपन्न लक्षित पत्रकारिता ? गरीबमुखी पत्रकारिताको औचित्य सकिएको त होइन !

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्