प्रस, वीरगंज, २ भदौ/
वीरगंज महानगरपालिकामा निषेधाज्ञा जारी गरिएको २५औं दिन बितेको छ भने जिल्लामा जारी गरिएको निषेधाज्ञाको १६औं दिन पूरा हुँदा पनि स्थानीय प्रशासन अत्यावश्यक वस्तुको आपूर्ति गर्ने विषयमा मौन देखिएको छ।
बारा, रौतहटलगायतका जिल्लामा निषेधाज्ञा जारी गर्दा त्यहाँका प्रशासनले अत्यावश्यक वस्तु, खाद्यान्न, दूध, तरकारी, फलफूलको लागि समय निर्धारण गरेका छन्। कसैले दुई, कसैले तीन घण्टा समय निर्धारण गरेका छन् भने जिल्ला प्रशासन कार्यालय, पर्साले निषेधाज्ञा जारी गरेको लामो समय बित्दा पनि अत्यावश्यक वस्तु खरीदको लागि समय निर्धारण गरेको छैन। उल्टो साउन ३२ गतेदेखि सेना परिचालन गरिएको छ।
सेना परिचालन गरेको दिन वीरगंजभरि सेनाले सवारीसाधन चलाउने र कामले तथा विनाकामले हिंड्डुल गर्नेहरूलाई कुटेको थियो। यसैगरी, रानीघाटलगायतका क्षेत्रमा लुकीछिपी खुलेका अत्यावश्यक खाद्यान्नका पसलहरू बन्द गराएको थियो। पहिलो दिन सेनाले उत्पात मचाए पनि दोस्रो दिनदेखि सैन्य परिचालन भएपनि उत्पातका घटना भएका छैनन्। २५ दिनदेखि महानगरवासी अत्यावश्यक वस्तु खरीदबाट पनि वञ्चित छन्।
प्रशासनले अघोषितरूपमा बिहान दूध र खाद्यान्न बिक्रीको लागि मुख्य सडकबाहेकका सडकमा एकाध घण्टा छुट दिएको छ। त्यसपछिको समयमा वीरगंज सुनसान हुने गरेको छ। अस्पतालमा स्वास्थ्य सेवा लिने बिरामी र औषधि खरीद गर्नेबाहेक मानिसहरूको चहलपहल रोकिएको छ।
