प्रस, गरुडा, २ भदौ/
रौतहटको कटहरिया नगरपालिकाकी उपप्रमुख नूरजहाँ खातुनका पति नसरुद्दीन अन्सारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उपप्रमुखले परीक्षणको लागि स्वाब दिन मानेकी छैनन्। आफूलाई केही पनि नभएको र पतिलाई षड्यन्त्रपूर्वक पोजेटिभ रिपोर्ट बनाएको आरोप लगाउँदै कुनै पनि हालतमा आफूले परीक्षणका लागि स्वाब नदिने अडान लिएकी छन्।
समाजमा रहेर काम गर्नुपर्ने नगरका जिम्मेवार जनप्रतिनिधिले परीक्षणको लागि स्वतः अगाडि आउनुपर्नेमा पति नै सङ्क्रमित भएपछि उपप्रमुखले परीक्षण गराउन नमान्नु र निस्फिक्रीसित बजारमा घुम्नुले नगरवासीमा त्रासको वातावरण रहेको नगरप्रमुख सियाराम कुशवाहाले बताएका छन्। आफूले पनि बारम्बार परीक्षण गराउन आग्रह गर्दा पनि नमानेकोमा नगरप्रमुख कुशवाहाले चिन्ता व्यक्त गरेका छन्।
गत दश दिनअगाडि कटहरिया नगरपालिकामा नौजनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो। सङ्क्रमितको कन्ट्याक्टमा आएकाहरूको पनि परीक्षण गर्नुपर्ने हुँदा सोहीअनुरूप नगरमा काम भएको तर उपप्रमुखले नै नमानेपछि नगरवासीमा एक किसिमको त्रासको अवस्था रहेको छ। कटहरिया नगरपालिकाको सर्वपक्षीय भेलाले भदौ ६ गतेसम्म कडा निषेधाज्ञा गर्ने घोषणा पहिले नै गरिसकेको छ।
उपप्रमुख खातुनका पति अन्सारीसहितका सङ्क्रमितहरू नपाद्वारा व्यवस्थित आइसोलेशनमा दश दिनदेखि रहेका छन्। अन्सारीमा कुनै लक्षण देखिएको छैन।
उपप्रमुख खातुनले आफ्नो पिसिआर परीक्षण गराउन नमानेको गुनासो आएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले स्वीकार गरेका छन्। कन्ट्याक्ट ट्रेसिङ भएकाहरूको पिसिआर गराउन इलाका प्रहरी कार्यालय गरुडालाई निर्देशन दिएको बताउँदै प्रजिअ यादवले पिसिआर नगराएमा उपप्रमुखको घर सिल गर्न प्रहरीलाई निर्देशन दिएको बताएका छन्।