माधव तिमल्सिना, ठोरी, २ भदौ/
ठोरी गाउँपालिका–३ शिकारीवासमा पाइपलाइनमार्फत् खानेपानीको व्यवस्था गरिएको छ।
लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको शिकारवासका स्थानीयको लागि पाइपलाइनमार्फत् खानेपानीको व्यवस्था मिलाइएको ठोरी गापाका अध्यक्ष पद्मलाल श्रेष्ठले बताए।
ठोरी गापाले आव २०७५/७६ र २०७६/७७ मा गरी कुल रु ७ लाख बजेट विनियोजन गरेर पाइपलाइनमार्फत् पानी ल्याइएको वडा नं ३ का अध्यक्ष सूर्यबहादुर लामाले बताए। उनले शिकारीवासबाट करीब ३ किलोमिटर उत्तरतर्फ चितवन राष्ट्रिय निकुञ्जभित्रबाट पानी ल्याइएको जानकारी गराए। निकुञ्जभित्र रहेको ऐतिहासिक अक्रम बाबा भन्ने ठाउँमा खानेपानीको इम्प्याक्ट निर्माण गरेर शिकारीवाससम्म पाइपमार्फत् पानी ल्याइएको बताए। उनले अबदेखि चौबीसैं घण्टा शिकारीवासको धारामा स्वच्छ पानी उपलब्ध हुने बताए।
उपभोक्ता समितिमार्फत् काम सम्पन्न भएको उक्त योजना अन्तर्गत हालसम्म सो ठाउँमा पाँचवटा धारामा खानेपानीको व्यवस्था मिलाइएको र यसबाट ४५ घरधुरी लाभान्वित हुने बताए। पुरानो इतिहास बोकेको शिकारीवासमा खानेपानी नहुँदा स्थानीयहरूले लामो समयदेखि गाउँभन्दा टाढा रहेको चिलमेररा खोलाबाट सिंचाइको लागि ल्याइएको कुलोको पानी पिउन बाध्य थिए।