बढ्दो छ सङ्क्रमण

163

    कोरोना सङ्क्रमणको राप दिनदिनै बढ्दो मात्रामा रन्किरहेको छ। अब सङ्क्रमित हुनेको सङ्ख्या दुई–चार वा दश–बीसमा सीमित छैन, चालीस–पचास पुगेको छ। कुनै प्रदेश, जिल्ला, पालिका, वडा यस्तो छैन, जो सङ्क्रमणबाट अछूतो छ भन्न सकियोस्। अबको प्रतीक्षा घरपिच्छे सङ्क्रमित हुन थालेको खबरको छ। यो जटिल समस्या हो, जसबाट पार पाउनु ठूलो पुरुषार्थ होस स्वयमेव पुरुषार्थ। यो गरेर साध्य हुने पुरुषार्थ होइन। गर्न सकिने एउटै पुरुषार्थ छ, आफ्ना सबै आवश्यकताहरूको तिलाञ्जली। तर कुनकुन आवश्यकता ? विलासी, मनखुशी आवश्यकतालाई तिलाञ्जली दिन सकिन्छ, भोजन र उपचार सकिन्न। अहिलेसम्म भोजनमा समस्या देखिएको छैन, तीबाहेक जो गरिखाने वर्गका छन्। तर उपचारका लागि भने हुनेखाने पनि प्रताडित हुन थालेका छन्। शहरमा प्रत्येक दिन हेलिकप्टरको गडगडाहट सुनिन्छ, कोही अतिसम्पन्न वा सत्ताको नजीक व्यक्ति थला प–यो भन्ने अनुमान लगाउन सकिन्छ। थला पर्नु कोभिड–१९ ले पनि हुन सक्छ र अन्य रोगबाट पनि। कोभिड–१९ सङ्क्रमितले चित्त बुझाउन सक्छ, रोग मारकस्तरसम्म पुगेको छ भने पनि। तर कोभिडइतर बिरामीले कसरी चित्त बुझाउने ? ऊ त सामान्य उपचार नपाएर काल–कलवित भइरहेको छ।
    देशमा भर्खरै लागू भएको संविधानले उपचारलाई नागरिकको मौलिक हक मानेको छ। कोरोना महामारी नियन्त्रण गर्न सरकार चुकेको बताइँदै छ। तर सरकार चुकेको होइन, प्रभावकारी नियन्त्रणको उपाय सोच्न नसकेको वा सोच कार्यान्वयन गर्न चाहेको हो। चुक्नु त प्रयास गर्दागर्दै असफल हुनु पो हो। सामान्य अवस्थामा सरकारसँग पैसाको खोलो हुन्छ। जुन निर्धारित योजनाहरूमा खर्च भएर कुनै अप्रत्याशित कार्यका लागि अभाव हुन्छ। तर अहिले त पैसाको दह छ। बितेको पाँच महीनादेखि देखिने गरी कुनै काम भएको छैन, राज्यकोषको पैसा खर्च भएको छैन। तर पनि सरकार महामारी परीक्ष्Fणका लागि प्रशस्त पिसिआर मेशिन, आवश्यक किटको प्रबन्ध गर्न सकिरहेको छैन वा चाहिरहेको छैन। सरकारलाई के डर छ भने प्रशस्त परीक्षण भयो भने थुप्रै सङ्क्रमित फेला पर्नेछन्। तिनको यथाशक्य प्रबन्ध गर्न सकिंदैन। सरकार त कतिसम्म गैरजिम्मेवार छ भने अहिले कोरोनाविरुद्ध सार्थक देखिएको रेमडेसिविर औषधिमा समेत प्रतिबन्ध लगाएर बसेको छ। आठ हजार पर्ने यो औषधि तस्करीका माध्यमले नेपालमा पाँच लाख तिरेर प्राप्त गर्नुपरिरहेको छ।
    अबको बेला कोरोनासँग डराएर होइन, सतर्कतापूर्वक जुधेर अस्तित्वरक्षाको लडाइँ लड्नुपरेको छ। यसमा जोखिम निकै छ। तर यो जोखिम पुरुषार्थयुक्त हुन्छ। विवेकहीन सक्रियता होइन, सतर्कतापूर्ण क्रियाशीलता आजको पुरुषार्थ हो। सरकार यस कुरामा पनि असंवेदनशील बन्दै गएको छ। अहिलको सन्दर्भमा अनावश्यक कारोबारलाई इजाजत र आवश्यक काममा बाधा पु–याउने हुकुमी शैली त्याग्न सकिरहेको छैन। सरकारसँग साउती गर्न सक्ने वर्गले आफ्नो कारोबार अक्षुण्ण राखेको छ, तर सरकारको दायित्व भएपनि आफ्नै खर्चमा उपचार खोज्ने नागरिकलाई हरेसमात्र दिएको छैन, हिजो तर माल खाएर अघाएका स्वास्थ्य संस्थाहरूलाई यस विषम परिस्थितिमा सेवामा संलग्न हुन बाध्य पनि पार्न चाहिरहेको छैन। सरकारसँग सङ्कटकालीन अधिकार हुन्छ, त्यसको प्रयोग गर्न चुक्नु लज्जास्पद लाचारी हो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्