मृत्युको अनिवार्यता

0
257

    भनिन्छ, मृत्यु अटल छ। मृत्यु सत्य हो। यस चराचर जगत्मा जन्म लिएपछि मृत्यु अवश्यम्भावी हो। तर पनि मानिस मृत्युमा शोक प्रकट गर्दछ। शोक प्रकट केही भावनात्मक र केही औपचारिक प्रक्रिया हो। एउटा अटल सत्य घटित हुन्छ भने शोक किन मनाउनु ? यहाँसम्म कुरा सही हो। तर मानिसको जन्म हुनुको केही उद्देश्य हुन्छ। एउटा व्यक्तिको जन्मले सृष्टिको चक्रलाई अघि बढाएको हुन्छ, उसले सृष्टिचक्र मात्र होइन, आफूमा निर्भर सृष्टिको पालनपोषण पनि गर्नुपर्दछ। यति गर्न नपाएको व्यक्तिका लागि शोक प्रकट गर्नु सर्वथा उचित हुन्छ। तर जसले सम्पूर्ण सांसारिक दायित्व निर्वाह गरिसकेको छ, जो अब निरन्तर शिथिल बन्दै गएको छ, हिजो अरूलाई सहायता गर्ने व्यक्ति स्वयम् अरूको सहायतामा बाँच्नुपर्ने भएको छ, जो सम्पूर्ण अवयव शिथिल भएर अवश र लाशतुल्य भएको छ, त्यस्ता व्यक्तिको अवसान त हर्षको विषय हुनुपर्ने हो। किनकि हिजो सम्पूर्ण क्रियाकलापमा सक्रिय सहभागी व्यक्ति आज असहाय हुनु कम्तीमा उसका शुभचिन्तकहरूका लागि हर्षको विषय बन्नै सक्दैन। जसले सृष्टिको प्रत्येक चरणमा देय कर्तव्यको निर्वाह ग–यो, उसले पराभूत अनुभव गर्नुजस्तो दुःखदायी क्षण बैरीभाव राख्नेका लागि मात्र सुखद हुन सक्छ।
    कोरोनाको यस महामारीमा लाशको थान गिन्ती गर्दा यस्तो जनसङ्ख्यालाई जोड्नु उचित होइन। हामीले प्रायः देखेका पनि छौं, वयोवृद्ध तथा मुटु, जीर्ण मधुमेह, मिर्गौला लगायत दुर्निवार रोग लागेका व्यक्तिहरूलाई कोरोनाले सजिलै परास्त गर्ने गरेको छ। र यस्तैको सङ्ख्या अहिले बढिरहेको छ। प्रसूतिका बेला हुने मृत्युलाई पनि कोरोनाको थान गन्तीमा राख्नु त्यस्तै कुरा हो। कोरोनाको यस्ता मृतकमा कोरोना सङ्क्रमण देखिनु प्राविधिक कुरा हुन सक्दछ। यस्तो तथ्याङ्कको समाविष्टिले कोरोनाको त्रास मात्र फैलाउँछ, जुन राज्यको लागि उचित देखिंदैन। तर राज्यको मान्यता देखिएको छ, त्रास देखाएर कोरोनाको चक्र रोक्न सकिन्छ। त्यसैले राज्यले शुरूदेखि नै कोरोनालाई, सत्तामा आइपरेको सङ्कटको हदसम्मको त्रासको रूपमा देख्यो र आफ्नो त्रास– लकडाउन, निषेधाज्ञा, लौरो प्रहारको रूपमा जनतामा हस्तान्तरण गरिदियो। पर्सामा अहिलेसम्म कोरोनाबाट मर्नेको सङ्ख्या ३६ छ। यसभन्दा बढी सङ्ख्यामा अन्य कारणले मानिसको मृत्यु भएको छ। यसमा ती दीर्घरोगी व्यक्तिको सङ्ख्या घटाउने हो भने कोरोनाको भयावहता कम पार्न सकिन्छ। किनकि राज्यको दायित्व नागरिकको मनोबल उच्च बनाइराख्नु पनि हो। जसलाई कोरोना सङ्क्रमणबाट मर्ने व्यक्तिको सङ्ख्या बढाएर कम पार्ने कोशिश हुँदैछ। सामान्य अवस्थाभन्दा कोरोनाबाट कम मानिस मरेकाले कोरोनालाई महत्व नै नदिइयोस् भनिएको पनि होइन। नागरिकलाई कोरोना सम्बद्ध सूचनाबाट पूर्ण अवगत पारेर जनजीवन सरल पार्ने प्रयास गरियोस् भन्ने मात्र हो।
    मृत्युलाई भयावह नबनाइयोस् ! मानिस जन्म लिएपछि मर्छ। हिजो पनि भएको थियो र आज पनि भइरहेको छ। कोरोना भाइरसको सङ्क्रमणबाट कुनै असाध्य रोग नलागेको जवान व्यक्ति मर्नु दुःखदायी कुरा हो। त्यो मृत्यु धार्मिक, सामाजिक र मानवीय दृष्टिकोणले अपूरणीय क्षति हो। केही दिन, महीना वा वर्ष अझ बाँच्न सक्ने व्यक्ति पनि कोरोनाका कारण मृत्युको गालमा पर्नु सुखद होइन, तर यस्तो मृत्यु तथ्याङ्कमा नसमेटेर भयावहता न्यून पार्न सकिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here