वर्तमान परिवेशमा शिक्षा

0
198

– अनन्तकुमार लाल दास

    “विद्या ददाति विनयं विनयाद् याति पात्रताम्/पात्रत्वात् धनमाप्नोति धनात् धर्म ततः सुखम्” अर्थात् विद्याबाट विनम्रता प्राप्त हुन्छ र विनम्रताबाट ज्ञान प्राप्त हुन्छ। ज्ञानबाट धन, धनबाट धर्म र धर्मबाट सुख हासिल हुन्छ। आजको यस प्रतिस्पर्धात्मक युगमा सबैको लागि शिक्षा अत्यन्त आवश्यक छ। शिक्षा भविष्यमा अघि बढ्नको लागि थुप्रै बाटोको निर्माण गर्छ। शिक्षाबाट मानिसको आत्मसम्मान बढ्नुको साथै उसको व्यक्तित्व निर्माणमा पनि सघाउ पु–याउँछ। शिक्षाबाट नै जीवनका ओकाली–ओराली बुझ्ने र समाधान खोज्ने कार्यमा सघाउ पुग्छ। शिक्षाबाट मानिस आत्मनिर्भरता हासिल गर्छ। एउटा अशिक्षित व्यक्तिको सबैभन्दा ठूलो समस्या परनिर्भता हो। एउटा अशिक्षित व्यक्ति पखेटाबेगरको चरा हो, जो कहिल्यै पनि खुला आकाशमा उड्न सक्दैन। एउटा अशिक्षित व्यक्ति त्यस धावक जस्तै हो जो दगुर्न चाहन्छ तर ऊसँग खुट्टा हुँदैन। शिक्षाले एउटा सुयोग्य नागरिकको निर्माण गर्छ। सुयोग्य नागरिकले राम्रो समाजको निर्माण गर्छ र राम्रो समाजबाट समृद्ध राष्ट्रको निर्माण हुन्छ। शिक्षाले हाम्रो मस्तिष्कलाई फराकिलो बनाउने काम पनि गर्दछ। यसले समाजका सबैखाले विभेद हटाउन पनि सहयोग गर्छ। यसले मानव र सामाजिक अधिकार, देशप्रति कर्तव्य र दायित्व बुझ्न पनि हामीलाई सहयोग गर्छ।


    यहींनिर शिक्षाको उद्देश्य, पाठ्यक्रम, शिक्षणविधि, शैक्षिक अनुशासन आदि पनि बुझ्नुपर्ने  हुन्छ। पहिले शिक्षाको उद्देश्य ज्ञान प्राप्त गर्नु थियो भने आज केटाकेटीहरूको व्यक्तित्व विकास, चारित्रिक विकास, भावनात्मक र सिर्जनात्मक विकास, रोजगारका लागि सीप विकास आदि रहेको छ। वर्तमान शिक्षाले केटाकेटीहरूको चौतर्फी विकास माथि ध्यान दिन्छ। पहिलेको पाठ्यक्रम विषय–केन्द्रित थियो भने आजको पाठ्यक्रमले गरेर सिक्ने कुरामा जोड दिन्छ। पहिलेका शिक्षकहरू पढाउनको लागि व्याख्यान–विधि प्रयोग गर्दथे। उनीहरूको मुख्य उद्देश्य हुन्थ्यो पढाएको कुरा केटाकेटीहरूले अक्षरशः याद गरून्। अर्थात् पहिले घोकन्ते शिक्षामा बढी जोड दिइन्थ्यो भने आज गतिविधि केन्द्रित, क्रियाकलापमा आधारित शिक्षामाथि जोड दिइन्छ। अहिले शिक्षकहरूले यस्तो वातावरण तयार गर्छन् जसमा केटाकेटीहरू स्वानुभवबाट सिक्छन्। यसैगरी पहिले केटाकेटीहरूलाई कठोर अनुशासन पालना गर्नुपथ्र्याे। शिक्षकले भनेका प्रत्येक कुरा मान्नुपर्दथ्यो। तर आज शिक्षकले स्व–अनुशासनको वातावरण निर्माण गर्छन्। पहिले शिक्षकको ठाउँ सबैभन्दा उच्च थियो, आज शिक्षकलाई साथी, पथप्रदर्शक र दार्शनिकको दर्जा दिइएको छ। पहिले केटाकेटीहरू शिक्षकले पढाएको कुरा चुपचाप ध्यानपूर्वक सुन्थे। उनीहरूले भनेका हरेक कुरो मान्थे तर आज केटाकेटीहरू सिकाइको केन्द्रमा हुन्छन् अर्थात् उनीहरू अनुरूप सिकाइ प्रक्रिया अघि बढ्छ।
    अहिले कोरोनाकालमा सिक्काजस्तै शिक्षाको पनि दुई पाटा देखा परेको छ। एउटा पारम्परिक अर्थात् अफलाइन शिक्षा र अर्को अनलाइन शिक्षा जसमा इन्टरनेट, एउटा कम्प्युटर वा स्मार्ट फोनको आवश्यकता पर्दछ। यहींनिर अनलाइन र अफलाइन शिक्षाबीचको अन्तर बुझ्नु आवश्यक हुन जान्छ। पारम्परिक अर्थात् अफलाइन कक्षा ससाना केटाकेटी, युवा र किशोरहरूका लागि बढी उपयुक्त रहेको छ। कक्षामा नियमित उपस्थिति, आफ्नै उमेर समूहका अन्य विद्यार्थीसँग अन्तक्रिया, नियमित कार्यक्रममा सामेल हुनु, शारीरिक र मानसिक क्रियाकलापमा संलग्न हुनु र समय अनुसार आफ्नो क्षमतामा सुधार ल्याउनु अफलाइन शिक्षामा नै सम्भव छ। कक्षा शिक्षणले विद्यार्थी र शिक्षकलाई एक अर्कालाई बुझ्न र पारस्परिक सम्बन्ध प्रगाढ बनाउँछ। शिक्षकले पनि विद्यार्थीलाई जान्ने र बुझ्ने मौका पाउँछ। विद्यार्थीको कमजोर र बलियो पक्षको मूल्याङ्कन गर्न र मार्गदर्शन गर्न अफलाइन शिक्षाले सहयोग गर्छ। अफलाइन शिक्षामा द्यिार्थीहरूलाई आआफ्नो विचार साझा गर्ने छूट हुन्छ, साथै विद्यार्थी र शिक्षकबीच निरन्तर संवादले गर्दा शिक्षकहरू विद्यार्थीहरूको हकहितका लागि बढी सहायक हुन्छन्। शिक्षकहरू विद्यार्थीको मनबाट परीक्षाजन्य डर हटाउन पनि सहयोगी साबित हुन्छन् जुन अनलाइन शिक्षामा सम्भव हुँदैन। विद्यालयमा पढाइबाहेक पनि अन्य क्रियाकलापहरू–खेलकुद, व्यायाम, विभिन्न खाले प्रतियोगात्मक कार्यक्रम हुन्छ, जुन अनलाइन कक्षामा सम्भव हुँदैन।
    कोरोना महामारीले गर्दा देशभरि लकडाउनको अवस्था छ। सबैखाले शिक्षण–संस्था बन्द छन्। यस विषम परिस्थितिमा केटाकेटीहरूलाई आफ्नो शिक्षालाई निरन्तरता दिन अनलाइन शिक्षाले धेरै सघाउ पु–याएको छ। केही मानिसले अनलाइन शिक्षालाई उपयुक्त ठानेका छन् भने अन्यले अफलाइन शिक्षा नै विद्यार्थीहरूको भविष्यका लागि उपयुक्त रहेको बताएका छन्। कोरोनाकालमा अनलाइन पाठ्यक्रम धेरै लोकप्रिय भइरहेको छ, किनभने धेरै शैक्षिक संस्थान तथा विभिन्न अनलाइन कम्पनीहरूले पनि शैक्षिक पाठ्यक्रमको सुविधा प्रदान गरिरहेका छन्। ध्यान दिनुपर्ने कुरो के हो भने अनलाइन शिक्षा लोकप्रिय भए तापनि गलत धारणा वा बुझाइका कारण एउटा विशाल समूह यसबाट वञ्चित छ।
    अनलाइन सिकाइबारे सबैभन्दा राम्रो कुरो के हो भने विद्यार्थी आफ्नो घरमैं बसेर कुनै पनि कोर्स सिक्न सक्छन्। यस माध्यमबाट शिक्षकहरू पनि आफ्नै घरमा बसेर वा विश्वको कुनै पनि ठाउँबाट आफ्ना विद्यार्थीहरूलाई राम्ररी शिक्षा दिन सक्छन्। कोरोनाकालले अनलाइन शिक्षाको महत्वलाई धेरै प्राथमिकता दिएको छ। यस समयमा धेरै विद्यार्थी अनलाइनबाट शिक्षा हासिल गरिरहेका छन्। यसले विद्यार्थीहरूको समय र ऊर्जा जोगाउन पनि सहयोग गरेको छ। अनलाइन कक्षामा कुनै कुरो बुझ्न नसकेमा त्यसलाई पटक–पटक हेर्न सकिन्छ। अनलाइनबाट देशको मात्र होइन विदेशी शिक्षण संस्थाहरूबाट पनि ज्ञान हासिल गर्न सजिलो छ। अनलाइन कक्षामा पहिले विद्यार्थी शिक्षकसँग सोझै कुरा गर्न सक्दथे तर आज यो सुविधा पनि अनलाइन कक्षामा उपलब्ध छ तर आर्थिकरूपले कमजोर परिवारका केटाकेटीहरूसँग अनलाइन साधनको अभाव भएकोले उनीहरू यसबाट वञ्चित छन्। सरकारले त्यस्ता विद्यार्थीहरूमाथि विशेष ध्यान दिनुपर्ने खाँचो छ। साथै खराब इन्टरनेट कनेक्टिभिटीको समस्या पनि समाधान गर्नु आवश्यक छ।
    अनलाइन माध्यमबाट पनि विद्यार्थीको प्रश्नको जवाफ दिन मिल्छ। अनलाइनबाट नै उनीहरूको परीक्षा पनि सञ्चालन गर्न सकिन्छ। अहिले अनलाइन माध्यमबाट ज्ञान प्राप्त गर्ने एउटा अर्को माध्यम पनि छ। गुगल, बिंगजस्ता खोज इन्जिनबाट पनि थरीथरीका जानकारी प्राप्त गर्न सकिन्छ। यसैगरी अनलाइन शिक्षा नियमित जागीर गर्ने विद्यार्थीहरूको लागि त अति उपयुक्त साबित भएको छ। आज कोरोनाकालको अन्त्य कहिले हुन्छ र विद्यालय, क्याम्पस र कोचिङ संस्थानहरू कहिले खुल्छन् भन्ने कुरा कसैलाई थाहा छैन तर यस्तो विषम परिस्थितिमा अनलाइन शिक्षा विद्यार्थीहरूका लागि धेरै उपयोगी सिद्ध भएको छ। आज यस्ता थुप्रै लर्निङ एप छन् जसले सजिलै विद्यार्थीहरूको बुझाइ फराकिलो बनाउन सक्छ। केटीहरूका लागि यस्ता थुप्रै कोर्स–कुकिङ, सिलाइ–बुनाई, पेटिङजस्ता सीप अनलाइन कक्षाबाट सजिलै सिक्न सकिन्छ। एकातिर शिक्षण संस्थानहरूको कमीको विकल्प अनलाइन शिक्षा बन्न सक्छ, त्यहीं किताबको साटो वेब–आधारित एप र पोर्टलमा पठन–पाठन हुँदा कागजको बचत हुन्छ जुन पर्यावरणको लागि हितकर छ।
    अनलाइन शिक्षा त्यस्ता विद्यार्थीहरूका लागि उपयुक्त हुन्छ जसलाई सही र गलत के हो भन्ने कुरो थाहा छ। मेरो लक्ष्य के हो भन्ने थाहा छ। कति पढ्नु छ र कसरी पढ्नु छ भन्ने कुरो थाहा छ। अफलाइन शिक्षा सदीयौंदेखि चलिआएको शिक्षा प्रणाली हो। हामी विद्यालय, क्याम्पस र महाविद्यालय बन्द गरेर अनलाइन पाठ्यक्रम सञ्चालन गर्ने कुरामा जोड दिन सक्दैनौं। अफलाइन शिक्षा पद्धतिको आफ्नै विशेषता छ, तर प्रविधिको प्रयोग समझदारीपूर्वक गरियो भने शिक्षामा नयाँ क्रान्ति ल्याउने कुरा भने अस्वीकार गर्न सकिन्न। अन्त्यमा, कोरोनाको यस विषम समयमा अनलाइन शिक्षाले विद्यार्थीहरूको लागि शिक्षाको ढोका खोलिदिएको छ। यस बेला पनि जो पढ्न रुचाउँछ, उसका लागि अनलाइन शिक्षा एक प्रकारको वरदान साबित भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here