आठजना विशेषज्ञ चिकित्सकमध्ये पाँचजनाको होटलमैं बास

0
222

राधेश्याम पटेल, वीरगंज, १२ भदौ/
    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुर्ई दिनअघि वीरगंज पठाएको आठजना विशेषज्ञ चिकित्सकको टोलीमध्ये तीनजना चिकित्सक मात्र काममा छन् भने बाँकी पाँचजनालाई सरकारले वीरगंज पठाएर झारा टार्ने काम मात्र गरेको छ। वीरगंजमा समुदायस्तरमा कोरोना महामारी फैलिएपछि नारायणी अस्पतालमा चिकित्सक तथा दक्ष जनशक्ति माग गर्दै नारायणी अस्पतालले मन्त्रालयसँग पत्राचार गर्दै विशेषज्ञ चिकित्सकको टोली पठाइदिन माग गरेको थियो। तर वीरगंजको मागलाई सरकारले गम्भीरतापूर्वक नलिई तत्काल आवश्यक चिकित्सक नपठाएको वीरगंजका चिकित्सकहरूमाझ चर्चाको विषय भएको छ।
    नारायणी अस्पताल स्रोतका अनुसार मन्त्रालयले पठाएको आठजना विशेषज्ञ चिकित्सकमध्ये पाँचजना अहिले वीरगंजको होटलमा त्यत्तिकै बसेका छन्। आठजनामध्ये दुईजना फेमिली फिजिशियन तथा एकजना प्याथोलोजिस्टले मात्र अहिलेको कोरोना सङ्कटको बेला स्वास्थ्य सेवा प्रारम्भ गरेका छन् भने बाँकी पाँचजना चिकित्सकलाई तीन दिन बितिसक्दा पनि काममा खटाइएको छैन।
    “सरकारले बेकारमा पाँचजनालाई पठाएको छ, पाँचजनामा अर्थाे, बालरोग, नाक–कान–घाँटी, मानसिक रोग विशेषज्ञ छन्,” नारायणी अस्पताल विकास समितिका एक पदाधिकारीले भने, “उनीहरूलाई काठमाडौं फिर्ता गरी यथाशीघ्र कोरोना महामारीमा खट्ने चिकित्सक पठाउनुपर्छ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here