शिक्षकलाई ढाँट्नु आफैंसँग धोका हो

0
242


– राजेश मिश्र
    “करीया अक्षर भइँस बराबर” अर्थात् लेख्न–पढ्न नजान्ने मानिसलाई लागि अक्षरको कुनै महत्व हँुदैन। पुरातनकालमा विद्यार्थीले गुरुकुलमा आचार्यको सानिध्यमा रहेर शिक्षा ग्रहण गर्ने प्रचलन थियो। विद्यार्थीसमक्ष महानपुरुष जस्तै हरिश्चन्द्र, राम, लक्ष्मण, हनुमान, भीष्म र महान् नारी सीता, सावित्री, सती अनसूइया, द्रौपदी जस्ता उच्च चरित्रका व्यक्तित्वहरूको आदर्श प्रस्तुत गरिन्थ्योे, जुन विद्यार्थीको चरित्र निर्माणमा प्रेरणादायी हुन्थ्यो। आज पनि यो सन्दर्भ उत्तिक्कै सान्दर्भिक, महत्वपूर्ण र चर्चायोग्य छ।
    शिक्षा पद्धतिको स्वरूपमा समयसापेक्ष परिवर्तन हुँदै विश्वसँगै नेपालमा पनि आधुनिक शिक्षा प्रणाली स्थापित छ र अझ पनि विभिन्न आयामलाई मध्यनजर गर्दै परिमार्जित हुने क्रम निरन्तर छ। शिक्षाद्वारा विद्यार्थीमा आत्मसम्मान, आत्मविश्वास, विवेकशक्ति र न्यायशक्ति आदि गुणहरू उदय हुनुका साथै व्यक्तित्व विकासको मुख्य पाटो शिक्षा नै हो, जो आज आधुनिकतासँगै विभिन्न स्वरूपमा उदीयमान छ।
    विद्यार्थी जीवनमा किताबबाट चोरी गरी उत्तर दिएर पुरस्कार हासिल गरेका एक विद्यार्थी जो भोलिपल्ट शिक्षकसमक्ष आफ्नो गलती स्वीकार गर्दै पुरस्कार फिर्ता गरेका थिए, उनी हुन्, भारतका राष्ट्रपिता महात्मा गाँधीका राजनीतिक गुरु गोपालकृष्ण गोखले। गोखलेले पुरस्कार फिर्ता गर्न जाँदा शिक्षकले उनीसँग भनेका थिए, “तिमीले उत्तर चोरी गरेको सन्दर्भमा मलाई थोरै दुःख छ तर मलाई ठूलो खुशी यो कुराको छ कि तिमीले आफ्नो गलती आफैं पहिचान ग–यौ। तिमी एक दिन देशको महान् व्यक्तित्वको श्रेणीमा गनिनेछौ।”  


    विद्यार्थी जीवनमा आफूले आफैंलाई धोका दिएका मानिस कति होलान् ? झूट बोलेर शिक्षक/अभिभावकलाई ढाँट्ने प्रयास आफैंमाथिको अन्याय हो भन्ने कुरा मनन हुँदासम्म धेरै ढिलो भइसकेको हुन्छ। जीवन भोगाइको क्रममा नैतिकता र अनुशासन जस्ता गुणहरू आफ्नै परिवार, टोल, छिमेक र समाजबाट प्राप्त हुन्छ, जुन किताबी शिक्षामा पाइँदैन। यी बाह्य गुणहरूका कारण विद्यार्थीमा किताबी शिक्षाले जीवनलाई प्रकाशमान बनाउँछ। यी गुणहरू असल विद्यार्थी र सफल जीवनकोे लागि अति महत्वपूर्ण पक्ष हो। कर्मशील र प्रसिद्ध पुरुषहरूको जीवन कथा पढ्नु जति राम्रो हो, त्योभन्दा कैयौं गुणा राम्रो हो, त्यो सन्दर्भ दैनिक व्यवहारमा उतार्नु।
              ०००
    विद्यार्थीले शिक्षक वा अभिभावकलाई ढाँटेर आफू र आफ्नो भविष्यमाथि कसरी अन्याय गर्ने गर्दछ भन्ने विषय कतिपयको जीवनको वास्तविकता हुन सक्छ। हिजोको वास्तविकता नै आजको कथा हो भने आजकोे कथा आफूभित्र आत्मसात् गर्ने हो भने भोलि उदाहरणीय इतिहास बन्न सक्छ। यही सेरोफेरोमा प्रस्तुत छ मननयोग्य कथा।
    आधुनिक यो संसारको आकाङ्क्षा अनुसार एक दिन कक्षा १२ का चारजना विद्यार्थी मध्य रातसम्म भोज खाँदै खूब रमाइलो गरे। सदाबहार मस्तीमा रहेका उनीहरू अघिल्लो दिन बिहान कक्षा परीक्षण छ भनेर थोरै पनि याद गर्न भ्याएनन्। मानौं उनीहरूलाई उक्त परीक्षाको कुनै अर्थ थिएन। मूलभूत जिम्मेवारीलाई बुझेनन्। यस्तोमा अध्ययन र तयारी गर्ने कुरै भएन।
    भोज खाएर ब्रह्म मुहूर्तमा गपिंmदै जब उनीहरू घर फर्किरहेका थिए, तब उनीहरूलाई भोलि कक्षा परीक्षण हुनेबारेमा याद आयोे। परीक्षाको केही घण्टाअघि उनीहरू परीक्षाबारे सोचमग्न हुँदै छटपटिए, के गरौं ? कसो गरौं ? विचार गर्दै गर्दा युक्ति निकाल्न भ्याए। उनीहरूले भोलि प्रधानाध्यापकसँग बहाना बनाएर परीक्षाबाट उम्कने मनगढन्त कहानी गढे र आआफ्नो घर लागे।
    घरबाट नुहाइधुवाइ गरेर चारैजना बजारको चोकमा जम्मा भए। आफ्नो चाहना पूरा होस् भन्दै देवी सरस्वतीलाई मनग्य ढोगे। मनगढन्त कथाका पात्रझैं आफूहरूलाई सुसज्जित पार्न गाडी मर्मत गर्ने दोकानबाट खराब भइसकेको ग्रीस र मोबिल मागे। ग्रीस, मोबिल र धूलोको मदतले गाडी मर्मत गर्ने प्राविधिकजस्तै आफ्नो स्वरूप तयार पारे र केही बेरपछि अति नै शारीरिक परिश्रम गरेजस्तो मुहार बनाइ प्रधानाध्यापकसामु उपस्थित भए।
    त्यहाँ उनीहरूले भने, “सर, हामी हिजो आफ्नो टोलका एक बिरामीलाई राति अस्पताल लिएर गएका थियौं। जब हामी फर्कंदै थियौं, हाम्रो कारको टायर बीच बाटोमा पञ्चर भयो। हामीले कारलाई धकेलेर टाढा रहेको घरसम्म लिएर आयौं। समय अभाव र थकानले हामीले अध्ययन गर्न सकेनौं। कृपया हाम्रो समस्यामाथि विचार गर्नुहोस्” भन्दै हारगुहार गरे।
    प्रधानाध्यापकले उनीहरूको सहयोगीपरक कथा ध्यानपूर्वक सुने। बिरामीलाई अस्पताल पु–याएको आफ्नो विद्यार्थीहरूको वचन सुनेर उनी प्रसन्न भएपनि सानैदेखि पढाएको हुनाले उनीहरूको आनीबानीको बारेमा जानकार रहेका प्रधानाध्यापक सशङ्कित थिए। तर कुशल प्रधानाध्यापकले कुनै प्रकारको शङ्काकुल प्रकृतिको भाव उनीहरूसामु मुहारमा प्रकट गरेनन्।
    प्रधानाध्यापकले भने, “ठीक छ, म तीन दिनपछि तिमीहरूको परीक्षा लिन्छु, जाऊ परीक्षाको तयारी गर।” उनीहरू असाध्यै खुशी भए र प्रधानाध्यापकको कक्षबाट बाहिरिए। प्रधानाध्यापकलाई धुत्र्याइँपूर्वक झुक्याएको भन्दै हाँसोठट्टा गर्दै विद्यार्थीहरू मख्ख थिए।
    तीन दिनपछि कक्षा परीक्षण हुने समय आयोे। चारैजना प्रधानाध्यापकको कक्षमा हाजीर भए। प्रधानाध्यापकले ती चारजनालाई अलग–अलग कोठामा परीक्षाको व्यवस्था मिलाएका थिए। उनीहरूलाई प्रश्नपत्र दिइयो। त्यसमा मात्र दुईवटा प्रश्न थिए।
    १) तपाईंको नाम के हो ? – (१ अङ्क)
    २) गाडीको कुन टायर पञ्चर भएको थियो ? (९९ अङ्क)
    विकल्पः
    (क) अगाडिको दायाँ (ख) अगाडिको बायाँ
    (ग) पछाडिको दायाँ (घ) पछाडिकोे बायाँ
    प्रश्नपत्र हेरेपछि, चारैजनाको हालत के भएको होला ? उत्तर कसरी दिएका होलान् ? परीक्षाको लागि आउँदासम्म सन्तुलित उनीहरूको मानसिक स्थिति प्रश्नपत्र हातमा परेपछि कस्तो भएको होला ? निश्चितरूपमा उनीहरूको उत्तर एक समान हुने कुरै थिएन। गुरु किन गुरु हुन्छन् भन्ने कुरा उनीहरूले त्यसबखत बुझे र गुरुसँग क्षमा मागे। प्रधानाध्यापकले भने, “तिमीहरूले बोलेको झूटको प्रभाव शिक्षकउपर पर्ने नभई तिमीहरू आफूले आफैंसँग गरेको धोका हो भनी बुझ्यौ भने तिमीहरू जीवनको प्रगतिपथमा निरन्तर हिंडिरहने छौ, अन्यथा जीवन कस्तो हुन्छ आफैं विचार गर।”
              ०००
    मानिसमा शैक्षिक विकास भनेको रूप, आधुनिक पोशाक, महँगो मोबाइल, इन्टरनेट, सवारीसाधनलगायतका संसाधनले कदापि उच्च हुने होइन। यदि फैशन र पैसाले मानिसलाई शिक्षित, गुणवान् र चरित्रवान् बनाइदिने हो भने कसैले पनि विद्यालय जानुपर्ने आवश्यकता हुने थिएन होला। विद्यार्थीहरूले के मनन गर्नुपर्छ भने जुन प्रविधि र फैशन प्रयोग गरेर हामी आफूलाई आधुनिक र विकसित ठानिरहेका छौं, सोको आविष्कारक उनीहरू हुन्, जो आफूलाई फैशनमा नभई पूर्णरूपमा शिक्षामा समाहित गरेर विज्ञ बन्न सफल भएका थिए।
    अघिल्लो पुस्तामध्येबाट जसले समयमैं भूल सुधार ग–यो, उसले जीवन साकार पा–यो। तर जसले शिक्षकलाई ढाँटेर क्षणिक आनन्दपूर्तिको लागि आफ्नो जीवन अँधकार पा–यो, त्यो समय अब फर्केर आउँदैन र वर्तमान पुस्ताले यसबाट पाठ सिक्नुपर्छ। मौजमस्तीको लागि शिक्षक वा अभिभावकलाई ढाँट्ने प्रयास गर्नु आफैंसँग धोका गर्नु हो भनेर आत्मसात् गर्नुपर्दछ। उमेर, अवस्था र पेशा अनुसार सबैको सरोकार फरक–फरक हुन सक्छन्। उदाहरणको लागि शिक्षकको लागि अध्यापन, किसानको लागि कृषि, चिकित्सकको लागि स्वास्थ्य सेवा, कर्मचारीको लागि राष्ट्रसेवा र सरकारको लागि नागरिकहित निर्वाह हो, त्यस्तै विद्यार्थीको लागि शिक्षा ग्रहण गर्नु मूल कर्तव्य हो।
    विद्यार्थीले आफ्नो कर्तव्यलाई महत्व दियो भने भोलि राष्ट्रको सबै तह र निकायमा योग्य व्यक्तिको बहाली हुन सक्छ र देश प्रगतिपथमा लम्किनेछ। मानवीय मूल्यसहित बौद्धिक, शारीरिक, सांस्कृतिक र भावनात्मकरूपमा विद्यार्थीलाई हुर्काउन सरोकारवाला निकाय, अभिभावक, विद्यालय, विद्यार्थी र शिक्षक सबै पक्षको ध्यान जानु जरुरी छ। ज्ञानी, असल, अनुशासित विद्यार्थीबाट नै परिवार, विद्यालय, समाज र राष्ट्रले आशा गरेको सपना पूरा हुन सक्छ। विद्यार्थी जीवनमा अनुशासनको पालना गर्ने हरेक व्यक्ति राष्ट्रको असल नागरिक भएर बेथितिलाई समाप्त पार्दै राजनीति, स्वास्थ्य, शिक्षा, समाजसेवा, उद्योग आदि क्षेत्रमा योग्य भई देश विकासमा महत्वपूर्ण योगदान दिन सक्छ र साथै आफू पनि सम्मानजनक जीवन बाँच्न सक्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here