३४औं वर्षमा प्रवेश

146

    ‘प्रतीक’ आजदेखि ३४औं वर्षमा प्रवेश गरेको छ। ३४ वर्ष पार गर्नु धेरै गर्वको विषय होइन। संसारमा शताब्दी पूरा गरेका अखबारहरू छन्। उमेर त्यति बेला मात्र गणनायोग्य हुन्छ, जब यसले शताब्दीको नेटो काट्छ। तर थोरै समयमात्र बाँचेका अखबारहरू पनि चर्चित र लोकप्रिय तथा गर्वका विषय बनेका छन्। त्यसमा प्रतीक दरिन सकेको छ कि छैन, ठोकुवा गर्ने काम पाठकको हो। हामीले भन्न सक्ने कुरा यतिमात्र हो कि जस्तोसुकै विषम परिस्थितिमा पनि कर्तव्यबाट किञ्चित विचलित नभई अखबारले निरन्तर आफ्नो दायित्व–निष्पक्ष समाचार सम्प्रेषण, पक्ष्Fपातरहित घटना विश्लेषण, आवाजविहीनलाई मुखरता, भविष्यको कार्ययोजना, विगतका कमीकमजोरीको व्याख्या– निर्वाह गर्नु हो। देशले तीन दशकको यस अवधिमा भोगेका समस्त घटनाहरूको मुखर साक्षी बनेको प्रतीक अहिलेसम्म तिनै दायित्व निर्वाह गर्दै हिंडेको छ। त्यस निर्वहनमा व्यक्तिको चूकप्रति, यदि भएको छ भने, आँखा चिम्लिदिने हो भने संस्थागतरूपमा लोककल्याणको मात्र काम भएको लाग्दछ।
    ३४ वर्ष एउटा पीढी समाप्त भएर नयाँ पुस्ता सक्रिय हुने अवधि हो। गतिशीलता यसैलाई भनिएको हो। बगिरहेको नदीले पछि फर्केर हेर्दैन। ऊ निरन्तर अघि बढिरहन्छ।  यो गतिशीलतामा उसले हमेशा नयाँ–नयाँ समस्या, नयाँ–नयाँ समाधान, नयाँ परिवेश, नयाँ परिधि प्राप्त गरिरहेको हुन्छ। आफ्नो गतिविधिले अस्तित्वको साकार इतिहास निर्माण गरिरहन्छ। धेरै निर्माण, नवचेतनाका आयाम खोतल्छ, केही अनिवार्य विध्वंस पनि मचाउँछ। प्रत्यक्ष्Fमा देखिने विध्वंसले प्रकारान्तरमा नवनिर्माणको आधार तयार गर्छ। विध्वंसजन्य निर्माण सदैव त्यस्तै प्रकृतिको भएको छ। यस धारामा धेरै आए, पौडी खेले, केही बगे, केही पार लागे। पौडी खेल्न नजान्नेले सिके, जान्ने बढी परिमार्जित भए। यसले बिजुली, सिंचाइको नाममा धेरै लुटाउँछ भने धेरै ठाउँमा साना नदी–खोल्सा, पहरा र खोलाहरूको सहयोग पनि पाउँछ। वर्षाजस्तो दाताको सहयोग त कुनै पनि बेला, जहाँ पनि भरिपूर्ण पाइ नै रहेको हुन्छ। यो यथार्थबोधलाई आत्मसात् गरेरै होला, प्रतीक यो कोरोनाजन्य दुरभिसन्धिमा पनि सतत् चलायमान छ।
    अवरोध र दुरुह परिस्थितिलाई पराभवी बनाउन सक्नु नै साँच्चीको पुरुषार्थ हो। पराभव जस्तो पनि साधन प्रयोग गरेर दिलाउन सकिन्छ। तर समाचारपत्रको मर्म र मान्यता, निर्धारित आचारसंहिता र कानूनको पालना गर्दै निर्भीक भएर परिस्थितिलाई पराजित बनाउनुको मज्जा नै अर्को हुन्छ। जनकल्याणको मार्गमा स्पष्ट र दृढ सङ्कल्पका साथ अघि बढ्दा कैंयन् बाधा–अवरोध आउँछन्, तिनका कारण केलाएर आफ्नो अशक्तता प्रदर्शन गर्दा अखबारीय धर्मको पालना हुँदैन। स्थानीय जनताको मनोभाव, देशको आग्रहको परिपूर्ति गर्दै र सबैभन्दा माथि जस्तोसुकै प्रतिकूलतामा पनि अनुकूल बनेर सत्य निरूपणको क्ष्Fमताले गर्दा सदा दिग्विजयी बन्न सकिन्छ। माओवादी जनयुद्ध र मधेस आन्दोलन, भारतीय नाकाबन्दीजस्ता अतिशय प्रतिकूल अवस्था होस् वा आजको कोरोनाकाल होस् गतिमान रहनु संस्थाको एक्लो प्रयास कदापि होइन, सुहृदय पाठकवृन्द, जस्तोसुकै दुरुह परिस्थितिमा रत्ती भय नमानी काम गर्ने सहयोगी पत्रकार, विद्वज्जन स्तम्भकार, स्नेहको वर्षा गरिरहने मेघतुल्य विज्ञापनदाताहरूको सहयोगले मात्र यो सम्भव भएको हो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्