कोरोना–सङ्कटबाट अर्थतन्त्र कसरी जोगाउने ?

0
211

– विश्वराज अधिकारी
    कोरोना सङ्क्रमणको विस्तार अपेक्षाकृत नियन्त्रण हुन सकेको छैन। हुनत अन्य राष्ट्रको स्थिति हेर्दा कोरोना सङ्क्रमण नेपालमा भयावह स्थितिमा भने छैन। एक किसिमले नियन्त्रणको स्थितिमा छ। तर कोरोना सङ्क्रमणको प्रत्यक्ष तथा अप्रत्यक्ष असरले गर्दा नेपालको आर्थिक स्थिति भने नराम्ररी प्रभावित हुन पुगेको छ। शहर होस् वा गाउँ, धेरै गरीब परिवारले दुई छाक खान नपाउने स्थिति उत्पन्न हुन थालेको छ। यो स्थिति अव्यवस्थित, अनियन्त्रित र अनुत्पादक ‘लकडाउन’ वा निषेधाज्ञाले गर्दा उत्पन्न भएको हो।  


    निषेधाज्ञालाई मात्र कोरोना  रोकथामको अचूक अस्त्र मानेर पटक–पटक प्रयोग गर्ने हो भने नेपालजस्तो गरीब राष्ट्रले ठूलो आर्थिक सङ्कट बेहोर्नुपर्ने हुन सक्छ। निषेधाज्ञा पटक–पटक लागू गर्ने स्थितिले निरन्तरता पाएमा नेपालमा भोकमरीको स्थिति पनि आउन सक्छ। यसतर्फ केन्द्रीय, प्रान्तीय एवं स्थानीय सरकारले मात्र होइन, सामान्य जनताले पनि ध्यान दिनु आवश्यक छ। जनताले पनि यो समस्याको गम्भीरता बुझ्न जरुरी छ। यो सरकारको मात्र समस्या होइन। प्रत्येक व्यक्तिको समस्या हो। प्रत्येक नेपालीको समस्या हो।
    नेपालको कृषि क्षेत्र सन्तोषजनक स्थितिमा छैन। पहाडी भूमिहरूको उपयोग भौगोलिक विकटताले गर्दा लाभदायक किसिमले गर्न सकिएको छैन। कृषिमा उन्नत प्रविधि प्रयोग गर्न सकिएको छैन। कृषिका लागि आवश्यक जनशक्तिको उपलब्धता पनि अनिश्चित छ। तराईको कृषियोग्य भूमिमा जनसङ्ख्याको चाप अत्यधिक छ। यी कारणहरूले गर्दा नेपालको कृषि विकासको गति कछुवा चालमा छ।
    उद्योगको स्थिति पनि निराशाजनक छ। दुई छिमेकी मुलुक, चीन र भारतबाट आएका अति सस्ता वस्तुहरूले नेपालका उद्योगहरूलाई फस्टाउन दिएका छैनन्। अर्कोतिर भारतको तुलनामा नेपालको अर्थव्यवस्था सानो भएकोले नेपालमा उत्पादन गर्दा महँगो भएर नेपालमा बिक्री गर्न नसकिने, बरु भारतबाट आयात गरेर नेपालमा बिक्री गर्न सजिलो र अति लाभदायक हुने भएकोले व्यापारीहरू नेपालमा उत्पादन गर्ने जोखिम लिन चाहिरहेका छैनन् र भारतबाट अनेक सामान आयात गरेर बिक्री गरिरहेका छन्। यतिमात्र होइन, भारतको तुलनमा नेपालमा सस्तो उत्पादन गर्न सकिने वस्तुहरू पनि नेपाली उद्योगपतिहरूले उत्पादन गर्न सकिरहेका छैन, त्यतातिर ध्यान दिएका छैनन्। पूर्णतया उदासीन छन्। उदाहरणका लागि नेपालले प्रत्येक वर्ष लाखौंको सङ्ख्यामा मोटरसाइकल, ट्रक, बस, कार आदि भारतबाट खरीद गर्छ। अटोमोबाइल बिक्रीका लागि नेपाल, भारतको भरपर्दो बजार हुन पुगेको छ। नेपालमा मोटरसाइकल, ट्रक, बस, कार आदिको माग एवं प्रयोग ठूलो मात्रामा हुने गरे तापनि यी वस्तु नेपालमा उत्पादन गर्न सकिएको छैन। किन होला ?
    नेपालमा सस्तोमा अटोमोबाइल उत्पादन गरेर अटोमोबाइल उत्पादनमा आत्मनिर्भर बनाउने र भारतबाट कार, ट्रक आयात अन्त्य गर्ने कुरा नेपाली उद्योगपतिहरूका लागि महत्वको विषय बन्न सकेको छैन। किन होला ?
    अमेरिकी उद्योगपति हेनरी फोर्ड (जन्म सन् १८६३, मृत्यु १९४७), जसले अमेरिकामा ‘फोर्ड मोटर कम्पनी’को स्थापना गरेका थिए, सस्तो कार उत्पादन गरेर गरीब अमेरिकीहरूले पनि कार चढ्न सकून् भन्ने लक्ष्य राखेका थिए। उक्त लक्ष्य प्राप्त गर्न फोर्ड सफल पनि भए। उनले ठूलो सङ्ख्यामा कार उत्पादन (Mass Production) गरेर प्रतिकार उत्पादन लागत कम पारे। प्रतिकार उत्पादन लागत कम हुँदा कारको मूल्य सस्तो भयो। कार सस्तो भएपछि गरीब अमेरिकी (मध्यमवर्गीय)हरूले पनि सजिलै खरीद गर्न सके। कारको मूल्य सस्तो पार्न फोर्डले उत्पादन व्यवस्था (Assembly Line) मा व्यापक सुधार ल्याएका थिए। उनको त्यो कार्यलाई विश्वमा नै ऐतिहासिक एवं उपलब्धिपूर्ण मानिन्छ।
    हेनरी फोर्डको सफलताले के भन्छ भने यदि इच्छा र दृढता छ भने उत्पादन लागत कम पारेर, वस्तुको मूल्य सस्तो गरेर, त्यो वस्तु गरीबहरूले पनि खरीद गर्न सक्ने तुल्याउन सकिन्छ। नेपालमा पनि त्यस्तो गर्न सकिन्छ। अनेक वस्तु उत्पादन गरेर देशलाई ती वस्तुमा आत्मनिर्भर तुल्याउन सकिन्छ। तर नेपालमा यस्ता सोच भएका व्यापारी देखिएनन्। सामान्य जनता र व्यापारी दुवैले केवल सरकारलाई गाली गरे, अत्याधुनिक नौलो सोच र तरीका लिएर व्यापारमा आउन सकेनन्। नेपालका व्यापारीहरू नयाँ सोच र दृढतासहित इच्छा लिएर आउने हो भने नेपाललाई आवश्यक पर्ने कार, ट्रक, बस, मोटरसाइकल नेपालमा नै उत्पादन गर्न सकिन्छ। यसका लागि भारतको मुख ताक्नुपर्दैन। नेपाली पैसा भारत जान पाउँदैन। नेपालमा रोजगार सृजना पनि हुन्छ।  
    माथि उल्लिखित अनेक कारणले गर्दा नेपालमा उद्योगको विकास पनि सन्तोषजनक किसिमले हुन सकेको छैन। यस्ता अनेक समस्याले गर्दा नेपालको अति उत्पादक जनशक्ति रोजगारका लागि विदेशिन बाध्य छ। तर अहिले कोरोना सङ्कटले गर्दा वैदेशिक रोजगार प्रभावित भएर विप्रेषणमा पनि ठूलो कमी आएको छ।
    अर्कोतिर कोरोना–सङ्कटले पर्यटनलाई पनि गहिरो असर पारेर कतिपय साना व्यापारी पूर्वस्थितिमा फर्कनै नसक्ने भएका छन्। कतिपयको लगानी डुबेको छ। पर्यटन क्षेत्रसँग सम्बद्ध श्रमजीवीहरूको आर्थिक जीवन अनिश्चित र थप कष्टकर हुन पुगेको छ।
    यस्तो स्थितिमा पटक–पटक निषेधाज्ञा जारी गरेर व्यापारलाई अवरुद्ध पार्नु उचित हुँदैन। सुरक्षाका अनेक उपाय प्रयोग गरेर, मास्कको प्रयोग अनिवार्य गरेर, भौतिक दूरी कायम गरेर, कोरोना परीक्षण सुलभ पारेर, स्वास्थ्य सेवा सर्वसुलभ पारेर व्यापार सञ्चालन गर्नुपर्छ। व्यापार भनेको आधुनिक जीवनको रक्तसञ्चार हो। रक्तसञ्चार अवरुद्ध भएमा मृत्यु भएझैं व्यापार अवरुद्ध भए गरीबीमा वृद्धि भएर मुलुकमा अनेक सङ्कट आउन सक्छ। मुलुक अस्थिरतातिर जान सक्छ।
    उत्पादन, वितरण, उपभोग र आय आर्जन यी चार तत्व आधुनिक अर्थतन्त्रका चार आधारस्तम्भ हुन्। जुनसुकै वा जस्तोसुकै स्थिति (महामारी, युद्ध, गृहयुद्ध, प्राकृतिक प्रकोप आदि)मा पनि उपरोक्त चार तत्वलाई निर्बाध कार्य गर्न दिनुपर्छ। अर्थतन्त्रलाई यथास्थितिमा रहन दिन यी चार तत्व निष्क्रिय हुनुहुँदैन। तर अहिलेको यो अव्यवस्थित, अनियन्त्रित एवं अनुत्पादक निषेधाज्ञाले उपरोक्त चार तत्वलाई प्रभावकारी एवं स्वतन्त्र किसिमले कार्य गर्न दिइरहेको छैन। सरकारहरू अनुभवहीन देखिएका छन्। दूरदृष्टिको सर्वथा अभाव देखिएको छ।
    कुनै पनि अवस्थामा उत्पादन अवरुद्ध हुनुहुँदैन। भौतिक दूरी कायम गरेर भएपनि उत्पादन व्यवस्था चलाइराख्नुपर्छ। कृषि क्षेत्रको उत्पादन त झन् एक पल पनि रोकिनुहुन्न, कुनै पनि बहानामा। यस्तो सङ्कटको घडीमा राष्ट्रिय उत्पादन अवरुद्ध भएमा के उपभोग गर्ने, कसरी जीवन धान्ने ? उत्पादनले नै रोजगार दिने हुनाले यो कार्य अवरुद्ध हुनासाथ गरीबहरूको जीवन कष्टकर बन्न पुग्छ।
    वितरण पनि आधुनिक अर्थतन्त्रका चार आधारस्तम्भमध्ये एक हो। यो अवरुद्ध हुनासाथ उत्पादित वस्तु उत्पादकबाट उपभोक्ताको हातसम्म पुग्न सक्दैन। तसर्थ मास्क प्रयोग गरेर, भौतिक दूरी कायम राखेर, पिपिई प्रयोग गरेर भएपनि वितरण व्यवस्थालाई चलायमान राख्नुपर्छ। यो कार्यलाई चुनौतीको रूपमा लिएर सम्बन्धित सबै पक्षले वितरण व्यवस्था गर्नुपर्छ।
    उपभोग, आधुनिक अर्थव्यवस्थाको सर्वाधिक महत्वपूर्ण आधारस्तम्भ हो। उपभोग भए मात्र उत्पादन हुन्छ। उत्पादन भएपछि विवरण व्यवस्था सक्रिय हुन्छ। उत्पादन र वितरणले रोजगार सिर्जना गर्छ। र रोजगारले आय सिजना गर्छ। त्यस कारण उपभोग कुनै पनि अवस्थामा रोकिनुहुन्न। उपभोग जीवननिर्वाहका लागि मात्र आवश्यक होइन, अर्थतन्त्रलाई गति दिन र जीवित राख्न पनि आवश्यक छ। उपभोगको स्थिति सरल पार्न बजार खुला हुनुपर्छ।
    आयआर्जन अर्थतन्त्रको झनै महत्वपूर्ण कार्य हो। अहिलेको यो आधुनिक युगमा व्यक्तिले केवल श्रम उत्पादन गर्छ र श्रम बिक्री गरेर प्राप्त  आयले जीवन धान्नका लागि आवश्यक कुरा (शिक्षा, सुरक्षा, मनोरञ्जन, यातायात, आवास, भोजन, औषधि आदि) खरीद गर्छ। कृषि युगमा व्यक्तिले धेरै कुरा उत्पादन गर्थे। त्यसले गर्दा उनीहरूको जीवन एक किसिमले स्वावलम्बी थियो। अहिले स्थिति त्यस्तो छैन। बजारमा श्रम बिक्री नगरेर कुनै पनि व्यक्तिले खान पाउने स्थिति छैन। खासगरी कम आय भएका व्यक्तिले दैनिक श्रम बिक्री गरेर जीवन निर्वाह गर्नुपर्ने स्थिति छ। यस्तो अवस्थामा निषेधाज्ञा जारी गरेर श्रमिकहरूलाई श्रम बिक्री गर्नबाट रोक्नुहुन्न।
    निष्कर्षमा भन्नुपर्दा, पटक–पटकको निषेधाज्ञा र अनिश्चित एवं लम्बिएको निषेधाज्ञाले अर्थतन्त्रलाई बर्बाद त पार्छ नै, गरीबहरूको जीवन कष्टकर पारेर उनीहरूको चुल्हो हप्तौं नबल्ने पारिदिन सक्छ। नेपालजस्तो गरीब राष्ट्रले बजार बन्दको स्थिति धान्न सत्तैmन। त्यस कारण सुरक्षाका अनेक उपाय अवलम्बन गरेर पनि बजार खुला राख्न आवश्यक छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here